चार महिनायताकै कमजोर नेपाली मुद्रा
भारु कमजोर हुँदा नेपालमा पनि असर

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ चार महिनायताकै कमजोर अवस्थामा पुगेको छ। पछिल्लो ४ महिना यताकै नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भएको हो। 

बुधवार (हिजो) प्रतिडलर ११७ रुपैयाँ ८० पैसामा कारोबार भएकोमा बिहीवार (आज) भने १ रुपैयाँ ७९ पैसाले अवमूल्यन भएर ११९ रुपैयाँ ५९ पैसामा कारोबार खुलेको छ। यो पछिल्लो साढे ४ महिनायताकै महँगो हो।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि डलरको मूल्य ११९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ। 

यसअघि २०२० नोभेम्बर १७ मा डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेको थियो। त्यसपछि घटेको डलरको मूल्य बुधवारको तुलनामा आज बिहीवार १ रुपैयाँ ७९ पैसाले बढेर ११९ रुपैयाँ ५९ पैसा पुगेको हो।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन पुगेको हो। 

नेपाली रुपैयाँको विनिमय दर भारतीय रूपैयाँसँग आबद्ध पेग्ड गरिएको छ। त्यसले गर्दा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर भई डलरको मूल्य बढ्ने गर्दछ। 



नेपाल राष्ट्र बैंकका अनुसार, यसपटक पनि भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ कमजोर भएको हो। भारतीय रिजर्भ बैंकले हालै भारुमा १ ट्रिलियन बोण्ड खरीद गर्ने निर्णय गरेको छ। 

फलस्वरुप भारतीय बजारमा भारुको आपूर्ति अर्थात् प्रवाह बढी हुनेछ। भारुको प्रवाह बढी हुने अपेक्षाका कारण आज विनिमय दरमा असर पर्‍यो।



सामान्यतया भारतीय रिजर्भ बैंकले दोस्रो बजारबाट बोण्ड खरीद गर्दा भारूलाई बलियो बनाउन रिपो रेट (पोलिसी दर) परिवर्तन गर्छ। तर, यसपटक भारतीय केन्द्रीय बैंकले अप्रिल महिनाका लागि पोलिसी दर ४ प्रतिशतमै यथावत् राखेको छ। फलस्वरूप ब्याजदर परिवर्तन हुने सम्भावना पनि घटेको छ। यसरी आपूर्ति बढी भई भारू कमजोर भएको हो।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले भारुको आपूर्ति बढी भएकाले भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको बताए। 

‘भारतको केन्द्रीय बैंकले स्थानीय बजारबाट भारुमा नै बोण्ड खरीद गर्दा त्यसको सप्लाई बढी हुन्छ। त्यसमाथि पोलिसी दर पनि परिवर्तन गरिएको छैन,’ उनले भने, ‘त्यसको असरले भारतीय रुपैयाँ कमजोर भएको छ। नेपाली रुपैयाँ भारूसँग पेग भएको हुँदा स्वतः नेपाली मुद्रा पनि कमजोर हुन गएको हो।’ 

भारतमा बुधवार डलरको मूल्य १ दशमलव ०५ भारूले बढेर ७४ दशमलव ४७ भारू पुगेको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ। हाल अन्तराष्ट्रिय बजारमा डलरको इन्डेक्स करिब ९३ बिन्दु नजिक पुगेको छ, जुन डेढ महिनाअघि ८९ बिन्दुमा थियो। 

अन्तराष्ट्रिय बजारमा डलर बलियो भएपछि भारू तथा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकको भनाइ छ। भारतमा कोरोना संकटका कारण पनि भारतीय रुपैयाँ कमजोर हुँदै गएको हो। 

पछिल्लो समय भारतका विभिन्न प्रदेशमा बन्दाबन्दी नै लगाइएको छ। फलस्वरुप त्यहाँको अर्थतन्त्र प्रभावित भएको छ। बुधवार मात्र भारतमा करीब १ लाख २६ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक वर्ल्डो मिटरले देखाएको छ। यो संख्या कोरोना संकट शुरु भएयताकै सबैभन्दा बढी हो। 

डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भए पनि विप्रेषण आप्रवाहमा भने फाइदा हुने देखिएको छ। विदेशबाट डलरकै आधारमा नै विप्रेषण पठाउनुपर्ने हुन्छ। त्यसलाई यहाँ नेपाली रुपैयाँमा परिवर्तन गरेर लिने सकिन्छ। 

यसर्थ नेपाली रुपैयाँ कमजोर भए पनि विप्रेषण आप्रवाहमा भने फाइदा हुने राष्ट्र बैंकको भनाइ छ। नेपालबाट हुने वस्तु निर्यातमा पनि फाइदा हुने राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र बताउँछन्। 

डलर बलियो हुँदा आयात भने महँगो हुने उनको भनाइ छ। ‘डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा पनि केही कठिनाइ पर्न जानेछ। विदेश पढ्न जाने विद्यार्थीलाई पनि केही असहजता हुन्छ,’ उनले भने।

  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार १५:४४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया