उपचार खोज्दै बिरामी, अस्पताल खोज्दै सरकार

शनिबार मात्रै लुम्बिनीका १२ जिल्लामा एक सय ३६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । शुक्रबारसम्ममा प्रदेशमा २८ हजार ६ सय १२ जना कोरोना संक्रमित फेला परेका थिए । प्रदेशमा दिनैपिच्छे औसत एकसय पाँचजना संक्रमित थपिँदै गइरहेका छन् । तर, संंक्रमितको उपचारका लागि सरकारले सीमित अस्पताल सञ्चालनमा ल्याएको छ । 

संक्रमितको बढ्दो दरसँगै सञ्चालित अस्पतालमा बिरामीको चाप पनि बढेको छ । अस्पताल भरिभराउ छन् । संक्रमितले उपचार नपाउने स्थिति समेत बनिरहेको छ । सरकारले संक्रमितको पहिचान तथा परीक्षण दर पनि बढाइरहेका छ । तर, उपचार सेवा भने बढाउन सकेको छैन ।

प्रदेश सरकारले दाङमा एक सय, बाँकेमा ५० र रुपन्देहीमा ८० बेडका कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । ती अस्पतालको स्तरोन्नति अझै भएको छैन । जसका कारण उपचारको अभाव चुलिँदै गइरहेको छ । अस्पतालमा बेड भरिएका छन् । उपचारको हाहाकार मच्चिएको छ । 

दाङको बेलझुण्डीमा सञ्चालित कोरोना विशेष अस्पताल प्रदेशकै धेरै क्षमताको विशेष अस्पताल हो । तर, सरकारले तोकेबमोजिमको स्तरोन्नति गर्न नसक्दा बिरामी उपचारको अभावमा छटपटाउनुुपरिरहेको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीका प्रमुख द्रोण वलीले भने, ‘भएका बेड भरिइसकेका छन्, संक्रमितको दर दिनैपिच्छे थपिँदै छ । सरकारले न अस्पतालको स्तरोन्नति गर्न सकेको छ, न आइसोलेसन सेन्टर सञ्चालन गर्न सकेको छ ।’ जसका कारण बिरामीलाई सहज सेवा दिन अझै नसकेको उनले बताए । 

जसका कारण संक्रमित बिरामीले पीडामाथि पीडा खेप्नुपरिरहेको छ । एक सय बेड क्षमताको अस्पताल भए पनि सरकारले अन्य संरचना थप गर्न नसक्दा एक सय बेडको अस्पताल २५ बेडमा चल्नु परिरहेको उनले सुनाए । उनले थपे, ‘रिफर गरौँ भने कहाँ गर्ने अन्यत्र पनि यस्तै हालत छ । अस्पताल भरिएका छन् । यहाँ ठाउँ छैन । यो पीडा सरकारले सुन्दैन ।’ 

यो पीडा अस्पताल हो । अस्पतालको उपचार नपाउने बिरामीको पीडा अझै यो धेरै छ । संक्रमित बिरामी उपचारको खोजीमा अस्पताल पुग्छन् । अस्पताल बेड छैन भन्दै कसैलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गर्छ, कसैलाई अप्ठ्यारो परेमा फोन गर्नुस् भन्दै फोन नम्बर दिन्छ । अति संवेदनशील बिरामीलाई सघन उपचारका लागि भर्ना गर्छ । यो क्रम अस्पतालमा चलिरहेकै छ । 



अस्पतालमा उपचाररत एक बिरामीका आफन्तले नाम खुलाउँदा अन्यथा हुन सक्ने उल्लेख गर्दै भने, ‘अस्पतालमा पुग्यौँ, बाबुलाई एम्बुलेन्सबाट झार्न पाएनौँ । राति निकै अप्ठ्यारो भयो, फेरि अस्पताल गयौँ । केही छिन त्यतिकै बस्यौँ । अप्ठ्यारो धेरै भएपछि बाबुलाई भर्ना गरी सघन उपचारमा कक्षमा राख्यो । सायद अस्पतालले समयमा भर्ना गरेको भए, त्यो अप्ठ्यारो पर्ने थिएन कि !’ समयमा उपचार पाउन नसक्दा बच्चाको ज्यान जोखिममा रहेको उनको दुखेसो छ । 

‘अस्पताल छन् आइसोलेसन चल्छन्’



सरकारले कोरोना महामारीलाई लक्षित गरी विशेष अस्पताल सञ्चालन गरेको छ । १२ जिल्लामा मात्रै १३ वटा सरकारी अस्पताल छन् । विशेष अस्पतालमा संवेदनशील अवस्थाका बिरामी उपचार गरिन्छ ।

जहाँ सघन उपचारको प्रबन्ध सरकारले गरेको छ । सरकारले १२ वटै जिल्ला स्थानीय सरकार तत्काल आइसोलेसन कक्ष सञ्चालन गर्न पनि निर्देशन दिइसकेको छ । सरकारले महामारीबाट नागरिक जोगाउन अन्यत्र योजना निर्माण गरी कार्यान्वयन गर्ने काम गरिरहेको छ । 

स्वास्थ्य निर्देशनालय बुटवलका निर्देशक डा. विनोद गिरीले भने, ‘प्रदेशमा उपचारको अभाव छैन, त्यो व्यवस्थापन सरकारले गरिरहेको छ ।’ सरकारले महामारीमा निजी क्षेत्रको सहकार्यमा पनि सेवा प्रवाह गरिरहेकाले सेवाको अभावमा नागरिकको बिचल्ली हुने अवस्था रहेको उनले सुनाए । प्रदेशभर विशेष अस्पतालमा १ सय ३६ र निजी अस्पतालमा चारसय २१ गरी प्रदेशमा पाँचसय ५७ बेड रहेको उनले बताए । 

नाकामा निगरानी 

लुम्बिनी प्रदेश कृष्णनगर भन्सार, सुनौली र जमुनिया सीमा नाका जोडिएकाले सरकारले नाकामा निगरानी बढाउँदै लगेको छ । भारतमा कोरोना संक्रमण दर बढेसँगै रोजगारीका लागि भारत पसेकाहरु घर फर्किने क्रम पनि बढ्दै गइरहेको छ । 

सरकारले नाकामा निगरानी बढाउँदै संक्रमणको दर रोक्ने प्रयास गरिरहेको निर्देशक डा. गिरीले बताए । उनले भने, ‘सरकारले तीनै नाकामा विशेष ‘हेल्थ डेस्क’ राखेको छ । स्वास्थ्य चेकजाँच गरी नेपाल प्रवेशको अनुमति सरकारले दिने गरेको छ ।’ 

  • प्रकाशित मिति : वैशाख ५, २०७८ आइतबार १८:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया