राष्ट्रिय सभा सदस्य रिक्त पदका लागि ६ जेठमा निर्वाचन

गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी ६ जेठमा निर्वाचन हुने भएको छ । 

थापा राष्ट्रिय सभामा बागमती प्रदेश, अन्य समूहतर्फबाट निर्वाचित भएका थिए । निर्वाचन आयोगले गृहमन्त्री रामबहादुर थापा मगरको रिक्त पदमा पूर्ति गर्न उपनिर्वाचन गर्न लागेको हो ।

आयोगले ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन गर्ने घोषणा गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेपाल सरकारको सोमबारको निर्णयअनुसार निर्वाचनको मिति तय गरिएको हो ।   

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानुनी व्यवस्था छ । 

प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेका छन् । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेभित्र आयोगमा निवेदन दिन सूचित गरिएको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न आयोगले आग्रहसमेत गरेको छ ।





  • प्रकाशित मिति : वैशाख ९, २०७८ बिहीबार २०:१३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया