प्रदेश २ मा मास्क नलगाउने ६५ हजार व्यक्ति कारबाहीमा

नेपालमा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि प्रदेश २ प्रहरीले मास्क नलगाउने व्यक्तिलाई कारबाही गर्न थालेको छ । 

प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयले मास्क नलगाउनेलाई धमाधम कारबाहीसमेत गर्न थालेको हो । 

अहिलेसम्म प्रदेश २ मा मास्क नलगाउने करिब ६५ हजार व्यक्ति कारबाहीमा परिसकेका छन् । पछिल्लो ८ दिनमा मास्क नलगाउने ६४ हजार ९ सय ४४ जना कारबाहीमा परेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

उनले वैशाख ४ देखि ११ गतेसम्ममा कारबाहीमा परेकाबाट ३ लाख ५२  हजार ४ सय रुपैयाँ राजस्व समेत संकलन गरिएको बताए । पछिल्लो ८ दिनमा मास्क नलगाउने ४४ हजार ४ सय ५१ जनालाई ३ घण्टा होल्डिङ गरेर सम्झाई–बुझाई गरेर छाडिएको उनले बताए । 

त्यस्तै, मास्क नलगाउने १६ हजार ९ सय ६९ जनालाई होल्डिङमा राखेर मास्क वितरण गरी छाडिएको प्रवक्ता प्रसाईंले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी हालसम्म ३ हजार ५ सय २४ जनालाई संक्रामक रोग निवारण ऐन २०२० अन्तर्गत कारबाही गरी प्रतिव्यक्ति १ सयका दरले राजस्व संकलन गरिएको बताए । 

कोरोना महामारीको दोस्रो लहर प्रदेश २ मा पनि देखिन थालेपछि प्रदेश प्रहरी कार्यालयले कोरोना संक्रमण नियन्त्रणका लागि सचेतना तथा प्रचार–प्रसार अभियान थालेको छ । सुरुमा प्रचार–प्रसार गरिए पनि मानिसहरुले त्यसको अटेरी गरेपछि अब कारबाही गर्न थालिएको एसपी प्रसाईंले बताए । 



नेपाल सरकारद्वारा तोकिएको मापदण्ड पूर्ण रुपमा पालना गराउन प्रहरी कार्यालयले सबैलाई आग्रह गरेको छ । रेस्टुरेण्ट, पार्टी प्यालेस एवं सभा सम्मेलनमा २५ जना भन्दा बढीलाई भेला नहुन प्रदेश प्रहरी कार्यालयले आग्रह गरेको छ । 

तोकिएको मापदण्डलाई अटेर गरेमा संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारबाही गर्ने जनाइएको छ ।



  • प्रकाशित मिति : वैशाख १२, २०७८ आइतबार १८:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया