काठमाडौं उपत्यकामा एक साता लामो निषेधाज्ञा : के खुल्छन्, के खुल्दैनन्?
सार्वजनिक र निजी सवारी सञ्‍चालनमा प्रतिबन्ध

स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा एक साता लामो निषेधाज्ञा जारी गरेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा जारी भए अनुसार सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म उपत्यकाभर रोक लगाइएको छ ।

नेपाल सरकारका कर्मचारी, बैंक, अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारी, सञ्चारकर्मीहरूलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने प्रशासनले जनाएको छ। प्रशासनहरुले काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम पनि तोकेको छ।

निषेधाज्ञामा काठमाडौँ उपत्यका भित्र निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पूर्ण रूपमा बन्द गरिएको छ । यस्तै सरकारी कार्यालयहरु पनि अत्यावश्यकबाहेक सबै बन्द गरिएको छ।

‘निषेधाज्ञामा काठमाडौँ उपत्यका भित्र निजी तथा सार्वजनिक यातायातका साधन बन्द गरिएको छ',  काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले भने, 'कर्मचारीहरुलाई पनि पासका आधारमा मात्रै आउन जान दिइनेछ।'

खाद्य सामाग्री र स्वास्थ्य सेवासम्बन्धी औषधि पसलबाहेक अन्य सबै पसल बन्द हुने पनि पराजुलीले बताए। यस अवधिमा गरी होटेल र रेष्टुरेण्ट पनि बन्द हुने भएका छन्। प्याकिङ र होम डेलिभरी सेवालाई भने चल्ने भएका छन्। 



खाद्य सामाग्रीका पसलहरू बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ने भएका छन्। त्यस्तै काठमाडौं आउने सार्वजनिक सवारीसाधनलाई पनि प्रतिबन्ध लगाइएको छ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी र कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायकाबाहेक अन्य सवारीसाधन उपत्यका  पस्न निषेध गरिएको छ।



प्रशासनले एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्‍न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला लगायतका ढुवानी तथा यातायातका साधन काम खुलाएर मात्रै चलाउने नियम बनाएको छ।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय र विभागबाट जारी पासका आधारमा गाडी चलाउन दिइने भएको छ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय लगायत सञ्चालन बन्द गरिएको छ। विवाह र ब्रतबन्धको हकमा बढीमा १५ जना सहभागी हुन पाउने छन्। 

विकास निर्माणमा खटिने जनशक्ति र सामग्री ढुवानी साधनलाई सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास दिइनेछ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हवाई टिकट, पासपोर्ट, भिसा आइसकेकालाई सीधै एयरपोर्ट जाने सवारीसाधनको व्यवस्था गरिने प्रशासनले जनाएको छ।

अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु सँस्कारमा सहभागी हुनेका लागि प्रमुख जिल्ला अधिकारीबाट सवारी पास लिनुपर्ने भएको छ।

खाद्य सामग्री र औषधी, स्वास्थ्य सामग्रीबाहेक अन्य पसल बन्द हुनेछन्। खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्नेछन्। 

डिपार्टमेन्ट स्टोरलाई ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला गरिने भएको छ। खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसलसहितका अत्यावश्यक व्यवसाय चलाउँदा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने भएको छ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यालयले जारी गरेको परिचय पत्रका आधारमा निस्किन दिइनेछ।

पत्रकारलाई सूचना विभागले जारी गरेको परिचयपत्र चाहिने भएको छ। काठमाडौं उपत्यका प्रवेश गर्नेले स्थानीय तहले तोकेको क्वारेन्टाइन या होम आइसोलेसनमा बस्नुपर्ने नियम ल्याइएको छ।

  • प्रकाशित मिति : वैशाख १३, २०७८ साेमबार १९:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया