३.१ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा १.९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालु आवमा भने ३.१ प्रतिशत र २०७९/८० मा ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो । एडिबीले नेपालमा सञ्चालन भइरहेको कोरोनाको भ्याक्सिनेसन अभियानका कारण आर्थिक गतिविधि चलायमान हुने अपेक्षा समेत गरेको छ ।

कृषि क्षेत्रको वृद्धिदर २.४ प्रतिशतले बढ्ने र मौसम अनुकूल भएकाले धान उत्पादन १.३ प्रतिशतले बढ्ने हुँदा चालु आवमा ३.१ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीले बताएको छ । त्यसै गरी उत्पादनमूलक र सेवामूलक क्षेत्र लकडाउन खुलेयता बिस्तारै चलायमान भएकाले पनि थप टेवा पुगेको एडिबीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कोरोना महामारीका कारण भएको बन्दाबन्दीले साना, ठूला तथा मझौला उद्योगमा भने गम्भीर असर पुगेको एडिबीको भनाइ छ । यद्यपि लकडाउनपछि निर्माणको काममा आएको बढोत्तरी, ठूला आयोजनाको निर्माण सम्पन्न हुँदै गर्दा यसले अर्थतन्त्र रिकभरीमा सहयोग पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । माथिल्लो तामाकोसी हाइड्रोपावर पहिलो चरणको उत्पादन सुरु हुने र मेलम्ची खानेपानीको वितरण सुरु भइसकेकाले निर्माण क्षेत्रमा २.५ प्रतिशतले वृद्धि हुने समेत अपेक्षा एडिबीले गरेको छ । 

एडिबीका अनुसार सेवामूलक क्षेत्र ३.४ प्रतिशतले बढ्नेछ भने हस्पिटालिटी, ट्राभल एन्ड टुरिजम क्षेत्र रिकभर हुन केही समय लाग्ने आवस्था रहेको छ ।

चालु आवमा मूल्यवृद्धि ५ प्रतिशतमा रहने एडिबीको भनाइ छ, जुन सन् २०२० मा मूल्यवृद्धि ६.२ प्रतिशत थियो । एडिबीले सन् २०२२ मा नेपालको जिडिपी ग्रोथ ५.१ प्रतिशतले हुने समेत प्रक्षेपण गरेको छ ।





  • प्रकाशित मिति : वैशाख १५, २०७८ बुधबार १८:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया