भेन्टिलेटर र आइसियुमै छन् ८ सय ५३ कोरोना संक्रमित
काठमाडौंका कुन अस्पतालमा कति संक्रमित?

कोरोनाको दोस्रो लहरका कारण नेपालमा गम्भीर बिरामीहरुको संख्या दिनदिनै बढिरहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार भन्दा धेरै संक्रमित थपिँदा भेन्टिलेटर र आइसियुमा पुग्ने संक्रमित पनि दिनदिनै बढिरहेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबारसम्म देशभर साढे आठ सयभन्दा बढी कोरोना संक्रमित आइसीयु र भेन्टिलेटरमा छन्। 

मन्त्रालयका अनुसार अक्सिजन आवश्यक परेकासहित ६५२ जना आइसियु र अझै गम्भीर बिरामी परेका २०१ जना भेन्टिलेटरमा उपचाररत छन्। यी दुवै गरी ८५२ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ। 

बुधबार यो संख्या ७५६ थियो। तर एक दिनमै कोरोनाका गम्भीर बिरामी सय हाराहारी थपिएका छन्। बिहीबार नेपालमा ५४ जना संक्रमितको ज्यान गएको छ।

यस्तो छ विवरण 

मन्त्रालयका अनुसार प्रदेश १ मा १०७ जना आइसीयु र १७ भेन्टिलेटरमा उपचाररत छन्। उता प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा उपचाररत छन्। संघीय राजधानी रहेको बागमती सबैभन्दा धेरै गम्भीर बिरामी छन्। यहाँ ३४९ जना आइसियु र १२५ जना भेन्टिलेटरमा उपचाररत छन्। 



गण्डकी प्रदेशमा ३८ जना आइसियु र १३ जना भेन्टिलेटरमा उपचार गरिरहेका छन्। लुम्बिनी प्रदेशमा ७७ जना आइसियु र २० जना भेन्टिलेटरमा छन्। कर्णालीमा ३३ जना आइसियु र १२ जना भेन्टिलेटरमा छन्। उता सुदूरपश्चिम प्रदेशमा २४ जना आइसियु र १२ जना भेन्टिलेटरमा उपचाररत छन्।

काठमाडौंको अवस्था



देशभरका गम्भीर कोरोना संक्रमितको उपचार केन्द्र अहिले काठमाडौं बनेको छ। देशभर समस्यामा परेका बिरामीलाई हेलिकोप्टर र एम्बुलेन्सबाट ल्याएर काठमाडौंमा उपचार गरिँदैछ। काठमाडौं उपत्यकाका अस्पतालमा २७० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। यहाँ १ हजार ३ सय ३२ जना संस्थागत आइसोलेसनमा छन्। 

मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बलको बलम्बुस्थित ६ जना आइसियुमा, २ भेन्टिलेटरमा र ७४ जना आइसोलेसनमा छन्। वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ५ जना आइसियु र १०० जना आइसोलेसनमा छन्। यता वीर अस्पतालमा ५ जना आइसियु, ३ जना भेन्टिलेटर र ९६ जना आइसोलेसनमा छन्। नेपाल प्रहरी अस्पतालमा ३७ जना आइसियु, १८ भेन्टिलेटर र २०७ आइसोलेसनमा उपचार गराइरहेका छन्। 

बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा १४ जना आइसियु र ५१ जना आइसोलेसनमा छन्। भक्तपुर अस्पतालमा ६ जना आइसियु, ८ भेन्टिलेटर र ६६ जना आइसोलेसनमा छन्। उता राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १६३ जना आइसोलेसनमा  रहेका मन्त्रालयले जनाएको छ।

कोरोनाको मुख्य उपचार केन्द्र मानिने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १२ जना आइसियुमा, १० जना भेन्टिलेटर र ७२ जना आइसोलेसनमा छन्।  
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३५ जना आइसियुमा, ७ जना भेन्टिलेटरमा र १४६ जना आइसोलेसनमा उपचाररत छन्। उता पाटन अस्पतालमा ११ जना आइसियु, ११ जना भेन्टिलेटर र १०५ जना आइसोलेसनमा भर्ना गरिएका छन्। 

निजी अस्पताल 
मन्त्रालयका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा ३३  जना आइसियु, १० जना भेन्टिलेटर र ९३ जना आइसोलेसनमा छन्। ललितपुरकै स्टार अस्पतालमा १० आइसियु, ४ भेन्टिलेटर र ३० जना आइसोलेसनमा उपचाररत छन्। 

धापासीस्थित ग्राण्डी अस्पतालमा ९ जना आइसियु, ७ भेन्टिलेटर र ५३ जना आइसोलेसनमा उपचाररत छन्। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा १४ जना आइसियु, ७ जना भेन्टिलेटर र १०६ जना आइसोलेसनमा छन्। 

  • प्रकाशित मिति : वैशाख २३, २०७८ बिहीबार १७:५९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया