कोरोना नियन्त्रण र उपचार व्यवस्थापनका लागि ३ करोड ८५ लाख बजेट विनियोजन

प्रदेश सरकारले  कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीन करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ ।  

प्रदेश-१ मा कोरोना जनसुरक्षा कोष सञ्चालक समितिको आज बसेको बैठकले होल्डिङ एरिया निर्माण र सञ्चालन, कोभिड अस्पतालको व्यवस्थापन र जिल्ला स्थित अस्पतालहरूको व्यवस्थापनका लागि सो रकम विनियोजन गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले जिल्लास्थित अस्पतालहरूमा आइसोलेसन निर्माण र सञ्चालनका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।

जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १० लाखका दरले रकम विनियोजन गरेको हो  ।

जिल्ला अस्पताल ताप्लेजुङका लागि भने १५ लाख रुपैयाँ बजेट निकासा गरेको छ । प्रदेश सरकारले स्थापना गरेको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र लगायतका अस्पतालका लागि आवश्यक पर्ने सेनिटाइजर, मास्क, पिपिइ सेट एन्टिजेन किट, आकस्मिक औषधि खरिद र व्यवस्थाका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई ५० लाख रुपैयाँ पठाउने निर्णय भएको आन्तरिक मामिला मन्त्रि हिक्मत कार्कीले बताए ।

यस्तै मेची अस्पताल भद्रपुरका लागि २५ लाख रुपैयाँ र जिल्ला  अस्पताल सुनसरी, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड अस्पताललाई २० लाख रुपैयाँका दरले रकम पठाउने निर्णय भएको छ ।



प्रदेश सरकारले बजेट नपठाएका कारण आइसोलेसन निर्माण र होल्डिङ एरिया सञ्चालनमा समस्या भएको गुनासो आइरहँदा जन सुरक्षा कोष सञ्चालन समितिको बैठकले जिल्ला प्रशासन कार्यालयहरूलाई समेत बजेट पठाउने निर्णय गरेको छ ।

समितिको बैठकले जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई २०/२० लाख रुपैयाँ, सुनसरी र ओखलढुङ्गालाई १५ लाख रुपैयाँका दरले बजेट पठाउने निर्णय गरेको हो।



 यसै गरी जिल्ला प्रशासन कार्यालय भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, पाँचथर, ताप्लेजुङलाई  ५ लाखका दरले ५० लाख  रुपैयाँ बजेट दिने निर्णय भएको छ ।

पठाइएको बजेटबाट जिल्ला प्रशासन कार्यालयहरूले होल्डिङ एरिया निर्माण र व्यवस्थापनको काम गर्नु पर्ने छ ।

यस्तै पठाइएको रकमबाट शव वाहन व्यवस्थापन र संक्रमितको उपचारका लागि एम्बुलेन्स सेवा समेत सञ्चालन गर्नु पर्ने छ ।

  • प्रकाशित मिति : वैशाख २३, २०७८ बिहीबार १८:५६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया