प्रसव पीडा र खुसी
‘सन्तान भन्नु संकटका ओखती रहेछन्’
सन्तानको पहिलाे स्पर्श सम्झना गरे पनि शब्दमा कहाँ व्यक्त हुन्छ र !

चितवनकी अम्बिका कार्कीको भर्खर एसएलसी सकिएको थियो । उनको भेट नेपाल प्रहरीका ओम कार्कीसँग भयो । त्यही भेटमा मन साटियो । माया बस्यो । उनले २०५१ सालमा प्रेम विवाह गरिन् । अम्बिकाको बिहेमा परिवारको सहमति थिएन । तर, उनीहरू खुसी थिए । 

भर्खर एसएलसी दिएकी अम्बिकाका आँखामा भविष्यका ठूला सपना संगालिएकै थिएनन् । बस, दुई जनाले संयुक्त रूपमा देखेका ससाना सपना सहजै पूरा होउन् । श्रीमान् जागिरे । जीवन खुसी र सुखमय थियो । यही खुसीको बीचमा अर्को खुसी थपियो । बिहे गरेको १ वर्षपछि अम्बिका आमा बन्ने भइन् । उनको यो खुसी बच्चा गर्भमा रहँदासम्म मात्रै टिक्यो । बच्चा जन्मिएको केही समयमै बित्यो । दोस्रो पटक पनि त्यस्तै भयो । अम्बिकाको मनमा यो घाउ अहिले पनि दुखी रहन्छ ।

आमा बन्ने थाहा पाउँदा उनी बेहद खुसी थिइन् । बच्चा पेटमा हुँदा सोच्ने तरिका नै फरक हुने रहेछ । उनी आफ्नो बारेमा कम बच्चाको बारेमा धेरै सोचेर समय गुजार्थिन् । पहिलो बच्चा बित्दा उनले शारीरिक रूपमा पनि निक्कै कष्ट भोग्नु पर्‍यो । रक्तश्राव नरोकिएकाले धेरै दिन अस्पताल बस्नुपरेको त्यो कष्टकर दिनको सम्झना अझै पनि ताजै छ, उनमा । एकातिर बच्चा जन्मँदै काख रित्तो हुनुको पीडा, अर्कोतिर शारीरिक पीडा त्यो समय ५ दिनसम्म होस खुलेको थिएन, उनको ।

पहिलो पटक गर्भवती हुँदा उनले आफ्नो ख्याल राख्न त्यति साह्रो जानिन् । दोस्रोपटक केयर गर्न खोज्दा खोज्दै बच्चा खेर गयो । तेस्रो पटक गर्भवती हुँदा भने उनले आफ्नो खुब धेरै ख्याल राखिन् । २ पटकसम्म बच्चा खेर जानुको पीडाले होला यो समय उनले गाउँघरमा भनिने र डाक्टरले दिने सुझाव सबैको पालना गरिन् ।

बच्चा पेटमा हुँदा श्रीमान्-श्रीमतीका बीचमा उति साह्रो छलफल हुँदैनथ्यो । नामका बारेमा भने दुई जनामा हानथाप नै हुन्थ्यो । दुई सन्तानको वियोग भोगेकी अम्बिकाले यो पटक स्वस्थ सन्तान जन्मियोस् भन्ने कामना गरिरहिन् । उनका श्रीमान् भने बारम्बार ‘तिमी जस्तै ज्ञानी छोरी जन्मियोस् भनिरहन्थे ।’

उनी तेस्रो पटक आमा भइन् । पहिलो पटक सन्तान स्पर्श गर्न पाइन् । ‘जुन खुसी आज सम्झना गरे पनि शब्दमा कहाँ व्यक्त हुन्छ र !’ उनले तीनै सन्तान नर्मल जन्माएकी हुन् । त्यसैले शारीरिक रूपमा तंग्रिन धेरै समय लागेन । श्रीमान् र परिवार साथमा थिए । छोरी हुर्काउन उनलाई खासै गाह्रो भएन । त्यसबेला उनी गृहणी मात्रै थिइन् । छोरीलाई भरपुर समय दिन पाइन् ।



उनकी छोरी पनि राम्रोसँग हुर्कंदै गइन् । सानामा १/२ पटक सानो-तिनो बिरामी परे पनि उनकी छोरी उति साह्रो बिरामी भइनन् । छोरी हुर्कंदै गर्दा अम्बिकाको मनमा संस्कार, शिक्षा राम्रो दिन सकौँ भन्ने आउँथ्यो ।



जिन्दगीको लय ठिक्कैसँग चलेको थियो, तर अम्बिकाको भाग्यले अर्कै लय समात्यो । छोरी १ वर्षकी हुँदा श्रीमानको मृत्यु भयो । त्यो वियोग कसरी शब्दमा व्यक्त गरुन् उनले ? अहिले पनि मनको भित्री कुनामा गाँठो पर्छ । श्रीमान् बितेपछि उनको जीवन पहिले जस्तो भएन । उनलाई बुझ्ने परिवारको सोचाइ पनि फरक हुँदै गयो । एकातिर परिवार, आफन्त र समाजका सोचसँग लड्नु थियो । अर्कोतिर छोरी र आफ्नै जिन्दगीमाथिको जिम्मेवारी एक्लै उठाउनु पर्‍यो ।

यो समय उनको जिन्दगीमा कति जोडले हुन्डरी चल्यो, त्यो हुन्डरी सहेर छोरीलाई छहारी दिन कति मुस्किल भयो त्यसको के लेखाजोखा छ र, अम्बिकासँग । भन्छिन्, ‘नानु सानो हुँदा म उसलाई अँगालो मारेर धेरै पटक रोएँ ।

रुनु मात्र होइन यो जिन्दगी नै सिध्याउँछु भनेर पनि तीन पटकसम्म जमर्को गरेँ तर नानुको अनुहार झल्झली आफ्नो अगाडि देख्थेँ र नकाम गर्ने हिम्मत भएन । आमा हुनु भनेको अप्ठ्यारोमा बाँच्ने हिम्मत जुटाउनु रहेछ । सन्तान भन्नु पनि संकट टारेर लैजाने ओखती जस्तै रहेछन् ।’

उनकी छोरीको १ वर्षे संस्मरणमा कसरी कोरिएको थियो होला बाबुको आकृति ? अम्बिका र उनको परिवारले उनका ठूला बुवालाई बाबु भनेर चिनाइदिए । उनले पनि ठूला बुवालाई नै बाबुका रूपमा स्वीकार गरिन् । ठूला बुवाको अनुहारमा उनको बुवाको आकृति आयो कि आएन होला झझल्को बनेर ? त्यो प्रश्न अम्बिकाले अहिलेसम्म छोरीलाई गरेकी छैनन् । उनकी छोरीले १३ वर्षकी हुँदा मात्रै थाहा पाइन् आफ्नो बुवा नभएको कुरा । त्यसबेला अम्बिका र उनको परिवारले हामी छौँ भनेर सम्झाए ।

उनले पनि सम्झनै पर्ने थियो । सम्झिइन् । अहिले पनि ठूला बुवालाई नै बुवा भन्छिन् । 

उनकी छोरी अहिले माइक्रो बायोलोजीमा ब्याचलर गर्दैछिन् । अम्बिकाको आफ्नी छोरी आफ्नो खुट्टामा उभिएको हेर्ने धोको छ । भन्छिन्, ‘सहिद भएका उनका बाबुको बाटो पछ्याउँदै मेरी छोरी यो देशको असल नागरिक बनुन् । यति भए पुग्छ ।’

  • प्रकाशित मिति : वैशाख २५, २०७८ शनिबार ९:३९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया