कोरोना संक्रमणको पहिलो चरणमा आर्थिक मन्दीबाट जोगिएको नेपाल दोस्रो चरणमा ?
१२ लाख मानिस चरम गरिबीमा, १६ लाख गमाए रोजगारी, करिब ९ प्रतिशत उद्योग बन्द

अत्यावश्यकबाहेक सम्पूर्ण उद्योगमा ताल्चा लागेका छन् । मजदुरलाई उद्योगभित्रै राखेर उत्पादन गर्न सकिने भए पनि बजारमा माग शून्यमा झरेपछि उत्पादन गर्नुको कुनै अर्थ नभएको व्यवसायीले बताएका छन् ।

खासगरी, दोस्रो चरणको कोरोना उच्च गतिमा फैलिएका औद्योगिक नगरी वीरगन्ज, भैरहवा, विराटनगर, नेपालगन्जलगायतका क्षेत्रका उद्योग पूर्णरूपमा बन्द छन् । कोरोनाको दोस्रो भेरियन्ट भुसको आगो सल्किएजस्तै फैलिएकाले उद्योगीले पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेर उद्योग बन्द गरेका छन् । यद्यपि, आफ्नो उद्योगमा काम गर्ने मजदुरलाई भने अत्यन्तै सुरक्षित रूपले उद्योगभित्र बसालेका छन् ।

पहिलो लकडाउनमा नेपालको अर्थतन्त्र नराम्ररी प्रभावित भएको थियो । त्यही बेला थलिएका पर्यटन, साना तथा मझौला उद्यमीहरू अझै उठ्न सकेका छैनन् । नेपालको अर्थतन्त्र नै गत आर्थिक वर्षको अन्तिम त्रैमासमा १५ दशमलव ४ प्रतिशतले ऋणात्मक हुन पुग्यो । यही कारण १२ लाख मानिस चरम गरिबीमा धकेलिए । करिब १६ लाख मानिसले रोजगारी गुमाए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार  कोभिड-१९ का कारण कुल उद्योगको १० दशमलव ८१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द हुन पुगे भने ८९ दशमलव १९ प्रतिशत उद्योग आंशिक उत्पादनमा गएका छन् । 

कोभिडबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र त अझै उठ्ने लक्षण देखिएको छैन । बन्दाबन्दी र निषेधाज्ञा हटेपछि अर्थतन्त्र बिस्तारै लय समात्न थालेको देखिएको थियो । तर पछिल्लो समय कोरोना महामारी बढेपछि फेरि सरकारले निषेधाज्ञा लागू गरेको छ र यसले पर्यटन क्षेत्र झनै गम्भीर मोडमा पुग्ने आंकलन गरिएको छ ।

पहिलो चरणको कोरोना संक्रमणपछि आर्थिक मन्दीबाट जोगिए पनि पुन: निषेधाज्ञाले अर्थतन्त्रलाई मन्दीतर्फ नै जाने अवस्था आउन सक्छ । गरिबी, बेरोजगारी दरले पनि नयाँ रेकर्ड राख्न सक्छ । स्वरोजगारमूलक व्यवसाय गरिरहेकाहरू फेरि पलायन हुन सक्छन् । यसै पनि गत वर्ष गरिएको लकडाउनले स्टार्टअप अर्थात् नव प्रवर्तन उद्यमीहरू पलायन भएका थिए । ती अहिलेसम्म पुनः व्यवसायमा फर्किन सकेका छैनन् ।



कोभिडकै कारण मुलुकको अर्थतन्त्रमा पहिलोपटक मन्दीमा गएको केन्द्रीय तथ्यांक विभागको देखाएको छ । गतवर्ष आवको चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १५ दशमलव ४ प्रतिशत ऋणात्मक थियो । चालु  आव ०७७/७८ को पहिलो त्रैमासमा समेत कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४ दशमलव ६ प्रतिशतले ऋणात्मक भएको देखिन्छ ।

गत आवको चौथो त्रैमासमा अर्थतन्त्र व्यापक रुपमा संकुचन हुँदा गत आवको कुल गार्हस्थ्य उत्पादन १ दशमलव ८८ प्रतिशतले संकुचित भएको तथ्यांक विभागको अध्ययनले देखाएको छ । 



कोभिड-१९ महामारीले पर्यटन क्षेत्र तथा औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा आर्थिक वृद्धिदर ऋणात्मक देखिएको तथ्यांक विभागको प्रतिवेदनले देखाएसँगै यी क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर पुनरुत्थान गर्नुपर्ने दबाबमा सरकार रहेको छ ।

यस्तो बेलामा सरकारले फेरि निषेधाज्ञा लागू गरेको छ । सम्पूर्ण आर्थिक गतिविधि प्राय: ठप्प नै छन् । माग र उत्पादन शून्यमा झरेको छ । यसले नेपालको अर्थतन्त्र फेरि उठ्नै नसक्ने अवस्थामा पुग्ने सरोकारवालाहरूको आंकलन छ । आखिर पहिलो चरणको लकडाउनले मन्दीतर्फ धकेलिएको नेपालको अर्थतन्त्र हाल दोस्रो चरणको निषेधाज्ञाले कहाँ पुर्‍याउँला त ? यो सबैको चिन्ताको विषय बनेको छ ।

  • प्रकाशित मिति : वैशाख २६, २०७८ आइतबार १५:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया