कोभिड महामारीका कारण मुलुकको जिडिपीको ७.१ प्रतिशत आर्थिक नोक्सान

गएको वर्ष कोभिड-१९ का कारण विश्वले आर्थिक क्षेत्रमा ठूलो मार खेप्नु पर्‍यो । अहिले दोस्रो चरणको कोभिड महामारी सुरु भएको छ । दोस्रो चरणको महामारीबाट भारत सबैभन्दा बढी प्रभावित बनेको छ । भारतमा कोभिड संक्रमितको संख्या दैनिक ४ लाखको हाराहारीमा थपिँदै छन् ।

यस्तै नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र गतिले बढ्दै गएको छ । मंगलबार मात्रै नेपालमा ९ हजार ३१७ जना नयाँ संक्रमित थपिएका छन् भने यस दिन हालसम्मकै सर्वाधिक २२५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्ममा ४०८४ भन्दा बढीले ज्यान गुमाइसकेका छन् । बन्दाबन्दी पूर्ण रूपमा हटेको र कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्यतर्फ फर्कन सुरु भइसकेको थियो ।

तर, पछिल्लो समयमा कोभिड-१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको र नेपालमा समेत संक्रमण दर र जोखिम बढ्न थालेको हुँदा अर्थतन्त्र थप प्रभावित हुने जोखिम कायमै छ ।

दोस्रो चरणको महामारीले अर्थतन्त्रमा पहिलाको भन्दा बढी नोक्सान पुर्‍याउने आँकलन गरिएको छ । नेपालमा केन्द्रीय सरकारले सिधै बन्दाबन्दी (लकडाउन) नगरे पनि जिल्ला प्रशासन कार्यालयहरूले धमाधम निषेधाज्ञा लागू गरेका छन् । यतिबेला मुलुकको अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ ।

गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ७.१ प्रतिशत बराबरको आर्थिक नोक्सान भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष २ खर्ब ७० अर्ब रुपैयाँ अर्थात् २ अर्ब ३० करोड अमेरिकी डलर नोक्सानी भएको छ । यो रकम चालु आव ०७७/७८ अर्थात् सन् ०२०/२१ को कुल जिडिपीको ७.१ प्रतिशत हो ।

कोरोना महामारी सुरु भएसँगै आर्थिक वर्ष ०७६/७७ अर्थात् सन् ०१९/२० मा आर्थिक वृद्धि ८.५ प्रतिशतभन्दा माथि हुने लक्ष्य राखिएको थियो । महामारी बढेपछि यो वृद्धि २.३ प्रतिशत हुने अनुमान गरिएको थियो । तर, गत वर्ष नेपालको आर्थिक वृद्धि १.९ प्रतिशतले ऋणात्मक भएको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ ।



यो ऋणात्मक अवस्था ४० वर्षपछि आएको विभागको भनाइ छ । केही समयअघि मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धि सन् २०२१ मा २.९ प्रतिशत र सन् २०२२ मा ४.२ प्रतिशत हुनेछ । तर, सरकारले भने चालु आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेको छ । जब कि यसअघि सरकारले चालु आवमा आर्थिक विस्तार ७ प्रतिशत हुने अनुमान गरेको थियो ।

तर, महामारीको दोस्रो चरण सुरु भइसकेकाले चालु आवमा पनि गत वर्षको जस्तै मुलुकको आर्थिक वृद्धि ऋणात्मक हुने सम्भावना बढेको छ । कोभिड-१९ का कारण विश्वले आर्थिक क्षेत्रमा ठूलो झट्का खेप्नु परेको छ । गत वर्ष विश्वले ३० खर्ब डलर (३ ट्रिलियन) बराबरको क्षति बेहोर्नु परेको विश्व बैंकले जनाएको छ ।



दोस्रो चरणको संक्रमणले ल्याएको आर्थिक झट्काले नेपालको उत्पादन, आय, रोजगारी, मूल्य तथा अर्थतन्त्रका अन्य सबै क्षेत्र प्रभावित हुने निश्चित छ । कोभिडको असर यति समयसम्म रहने भन्ने कुनै निश्चितता नभएकाले यसबाट सुरक्षित रहँदै आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने स्थिति छ ।

कोभिड-१९ सँग लड्न विश्वका सरकार र केन्द्रीय बैंकहरूले सरकारी वित्त नीति र मौद्रिक नीतिका औजारहरूलाई सँगसँगै अगाडि बढाइरहेको छ । नेपाल राष्ट्र बैंकले पनि केही महत्त्वपूर्ण योजना तथा कार्यक्रम घोषणा गरिसकेको छ ।

अनिवार्य नगद अनुपात घटाउने, वैधानिक तरलता अनुपातको दरमा कटौती, कर्जा र ब्याज भुक्तानीको भाका पर सारिदिने, कर्जाको पुनर्तालिकीकरण/पुनःसंरचना र तोकिएकै समयमा भुक्तानी गरेमा १० प्रतिशत छुट दिने, पुनर्कर्जा कोषको रकमलाई वृद्धिका साथै काउन्टर साइक्लिकर बफर कायम गर्नुपर्ने प्रावधानलाई केही समयका लागि स्थगन गरिदिएको छ । दोस्रो चरणको संक्रमण सुरु भएपछि राष्ट्र बैंकले दिएको सुविधाहरू यथावत रहने जानकारी गराइसकेको छ ।

  • प्रकाशित मिति : वैशाख २९, २०७८ बुधबार १४:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया