बिरामीलाई नै अक्सिजन लिएर आउन अस्पतालको आग्रह
बिरामीलाई दु:ख दिन खोजे कारबाही : प्रजिअ पराजुली

काठमाडौं उपत्यकासहित देशभरका विभिन्न अस्पतालले अक्सिजनको अभाव देखाउँदै बिरामीलाई तर्साइरहेका छन् । कुनै अस्पतालले नयाँ बिरामी भर्ना बन्द गरेका छन्, कुनैले बिरामी नै डिस्चार्ज गरेका छन् । यस्तो गर्नेमा निजी तथा सामुदायिक अस्पताल बढी छन् । सरकारी अस्पतालले भने जसोतसो अक्सिजनको व्यवस्थापन गर्दै आएका छन् ।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा रहेका १० वटा निजी अस्पतालले सूचना निकाल्दै बिरामीलाई डिस्चार्ज तथा नयाँ बिरामी भर्ना रोकेका छन् । केही अस्पतालले भने बिरामी आफैंले अक्सिजनको व्यवस्थापन गर्नुपर्ने समेत बताउँदै आएका छन् ।

यस्तो अवस्थामा बिरामीले एकातिर कोरोना महामारीसँग संघर्ष गर्नुपरेको छ भने उनका आफन्त अक्सिजनको जोहो गर्न अक्सिजन उद्योगदेखि जहाँ-जहाँ अक्सिजन उपलब्ध हुनसक्छ त्यहाँ चाहर्ने गरेका छन् । 

यतिबेला अक्सिजन उद्योगमा बिरामीका आफन्तको लाइन लागिरहेको छ । यस्तो महामारीको समयमा अस्पतालले आफैंले जसरी पनि अक्सिजनको व्यवस्थापन गर्नुको साटो बिरामीलाई नै अक्सिजनको व्यवस्था गर्नु भन्न मिल्दैन ।

अक्सिजनको कोटा प्रणाली लागू भएपछि यस्तो अवस्था आएको निजी अस्पतालहरूको भनाइ छ । निजी अस्पतालहरू सञ्चालकको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्सिटच्युसन अफ नेपाल (अफिन) का सचिव पंकज खतिवडाले रहर नभएर बाध्यता भएको बताए । ‘हामी त बिरामीलाई भगवान् मान्छौँ । अस्पतालमा उपचारका लागि आएको बिरामीलाई अक्सिजनको व्यवस्था आफैं गर्नु भन्नुपर्ने हाम्रो बाध्यता हो’, सचिव खतिवडाले भने ।

रात दिन अक्सिजन उद्योगमा लाइन लागेर बस्दा पनि अक्सिजन पाउने अवस्था नरहेको उनको भनाइ छ । ‘पहिला अक्सिजन सिलिन्डरको अभाव थियो । जसोतसो सिलिन्डरको जोहो त गरियो । अहिले उद्योगहरूमा अक्सिजनकै अभाव छ । हामीले कसरी व्यवस्था गर्ने ?’, उनको प्रश्न छ । 



आफ्नो कर्तव्यबाट पन्छिन मिल्दैन : प्रजिअ पराजुली

कुनै अस्पतालहरूले महामारीको समयमा आफ्नो कर्तव्यबाट पछि हट्न नमिल्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।  



सबैले आफ्नो जिम्मेवारीलाई ध्यानमा राखेर बिरामीलाई दुःख दिने कहीं कतैबाट भयो भने त्यो कारबाहीको भागिदार हुने उनको भनाइ छ ।

वर्तमान परिस्थितिमा संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधी तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको भन्दै यस्तो अवस्थामा सार्वजनिक विज्ञप्ति नै निकालेर सर्वसाधारणमा त्रास फैलाउने कार्य रोक्न समेत आग्रह गरे । यस्तो अवस्थामा कहीं कतैबाट उजुरी परेको खण्डमा त्यस्ता अस्पतालमाथि कारबाही गरिने चेतावनी दिए ।

  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार १२:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया