कतै आइसियु भेन्टिलेटरको अभाव, कतै जनशक्ति नभएर प्रयोगविहीन

केही दिन अगाडि सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा रहेको एक भेन्टिलेटर फिर्ता माग्यो । गत वर्ष पहिलो चरणको महामारीको समयमा जिल्ला अस्पताल दार्चुलालाई दिएको भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा नआएपछि सामाजिक विकास मन्त्रालयले फिर्ता मागेको थियो ।

त्यस्तै अन्य जिल्लाबाट पनि भेन्टिलेटर फिर्ता मागिएको छ । जसमा केही फिर्ता समेत भएका छन् । पहाडका ६ जिल्ला अस्पताललाई १०-१० बेडको आइसियु र २-२ वटा भेन्टिलेटर दिएको थियो । दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र बाजुराका जिल्ला अस्पतालसँग २-२ वटा भेन्टिलेटर छन् । तर, प्रयोगमा छैनन् । उपकरण चलाउन सक्ने आवश्यक जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । दक्ष जनशक्ति पठाउन छोडेर स्वास्थ्य उपकरण नै फिर्ता मागेपछि त्यस क्षेत्रका स्थानीय आक्रोशित बनेका छन् ।

जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा आउन नसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका निर्देशक डा. गुणराज अवस्थीले बताए । फिर्ता मागिएका भेन्टिलेटर सेती प्रादेशिक अस्पतालमा प्रयोगमा ल्याइने उनको भनाइ छ ।

दैलेखमा पनि गत वर्ष लाखौं खर्च गरेर आइसियु र भेन्टिलेटर जडान गरियो । तर, अहिले प्रयोगविहीन छन् । अक्सिजन समेत नपाएर बिरामीले ज्यान गुमाइरहेको अवस्थामा जिल्ला अस्पतालमा रहेका आइसियु र भेन्टिलेटर भने प्रयोगविहीन बनेका छन् । आवश्यक जनशक्तिका लागि पहल गर्दा पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

विशेष गरी पहाडी तथा हिमाली जिल्लामा रहेका आइसियु र भेन्टिलेटर प्रयोगविहीन बनेका हुन् । त्यसमा पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पहाडी जिल्ला, प्रदेश नम्बर १, २, लुम्बिनी प्रदेशका आइसियु र भेन्टिलेटर प्रयोगविहीन बनेका हुन् । चलाउन आवश्यक पर्ने जनशक्तिको अभावमा लाखौं पर्ने उपकरण खिया लाग्ने अवस्थामा पुगेका छन् । तर, पनि त्यसको प्रयोगका लागि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ हजार ८१७ आइसियु छन् । त्यस्तै ७६३ भेन्टिलेटर छन् भने २ हजार ८६५ एचडियु छन् । तीमध्ये अहिलेसम्म १ हजार ३३४ आइसियु र ३७१ जना भेन्टिलेटरमा छन् । बाँकी आइसियु र भेन्टिलेटर खाली छन् वा प्रयोगविहीन छन् । 



प्रदेश २ मा भेन्टिलेटर नपाएरै मर्न बाध्य कोरोना संक्रमित 

केही दिन अगाडि सर्लाहीमा भेन्टिलेटरको अभावमा एक कोरोना संक्रमितको मृत्यु भयो । त्यसो त सर्लाहीमा भेन्टिलेटर नभएको पनि होइन । तर, जनशक्तिको अभावमा भेन्टिलेटर थन्किएर बसेका छन् ।



गजेन्द्र नारायण अस्पतालमा ४-४ वटा आइसियु र भेन्टिलेटर छन् । तर, दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन बनेका छन् । अस्पतालका मेसु डा. रञ्जित झाले जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको बताए । 

प्रदेश २ मा ४५ वटा भेन्टिलेटर छन् । तीमध्ये अधिकांश प्रयोगमा रहेको र केही भने प्रयोगविहीन भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नवल झाले बताए । भेन्टिलेटर भएको ठाउँमा जनशक्ति नभएको र कतिपय ठाउँमा भेन्टिलेटर समेत नभएको उनको भनाइ छ । 

प्रदेश १ मा करोडौं खर्च गरेर ल्याइएका भेन्टिलेटर थन्क्याइयो

प्रदेश १ का विभिन्न जिल्लामा पनि भेन्टिलेटर भए पनि जनशक्ति नहुँदा प्रयोगविहीन बनेका छन् । जिल्ला अस्पताल उदयपुरमा १ करोड खर्च गरेर निर्माण गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन सकेको छैन । 

गत वैशाखमा दुईवटा भेन्टिलेटर र ५ बेडको आइसियु कक्ष निर्माण गरिएको थियो । सरकारले स्वीकृत दरबन्दीअनुसार चिकित्सकको पदपूर्ति नगर्दा अस्पतालले भेन्टिलेटरसहितको उपचार सेवा दिन नसकेको अस्पतालका निमित्त मेसु जीवनारायण मण्डलले बताए । 

कर्मचारी भर्ना गर्ने अधिकार सम्बन्धित अस्पताललाई : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी पदपूर्ति अधिकार सम्बन्धित अस्पताललाई नै दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारले विशेष निर्णय गर्दै एक वर्षसम्मका लागि करारमा कर्मचारी भर्ना गर्न सक्ने अधिकार सम्बन्धित अस्पताललाई नै दिइएको बताए ।

‘अहिले नै स्थानीय कर्मचारी भर्ना गर्न सम्भव छैन । सम्बन्धित अस्पतालले नै करारमा कर्मचारी भर्ना सक्ने अधिकार दिइएको छ । त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था मन्त्रालयले गर्छ । जनशक्ति अभाव भयो भनेर भन्न मिल्दैन’, डा. गौतमले भने ।

कुनै पनि अस्पतालले कर्मचारी छैन भनेर पञ्छिन नमिल्ने उनको भनाइ छ ।

  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १६:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया