नेपाल सुपर लिगलाई फर्केर हेर्दा

काठमाडौं रेजर्स एफसीलाई विजेता बनाउँदै नेपालमै पहिलोपटक आयोजना भएको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जेठ १ मा भएको फाइनलमा धनगढी एफसीमाथि १-० को कठिन जित हात पार्दै काठमाडौं रेजर्स एफसी लिग विजेता बनेको हो ।

विजयी टिमले ट्रफीसहित ३५लाख पाउँदा उप-विजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझायो ।

लिग अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको हो ।
वैशाख ११ देखि सुरु भएको लिगमा विराटनगर सिटी, ललितपुर सिटी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसीको सहभागिता थियो ।

नेपाल सुपर लिगलाई फर्केर हेर्दा

काठमाडौं सर्वाधिक खेल खेल्ने र जित हात पर्ने टोली



नेपाल सुपर लिग पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स एफसी लिगमा सर्वाधिक खेल खेल्ने र जित हात पार्ने टोली हो । रेजर्सले लिगमा ९ खेल खेल्दा ६ जित १ बराबरी र २ हारको नतिजा निकालेको थियो । काठमाडौंपछि धनगढी र ललितपुर सिटी एफसीले समान ८-८ खेल खेले ।



जितविहीन चितवन 

लिगमा एउटा पनि जित हात नपार्ने एक मात्र टोली बन्यो एफसी चितवन । समूह चरणबाटै बाहिरिएको चितवनले ६ खेलमा २ बराबरी र ४ हारको नजिता निकाल्दै मात्र २ अंक जोड्दै अन्तिम स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

विकेश कुथु सर्वाधिक क्लिन सिट राख्ने गोलरक्षक

काठमाडौंका रेजर्स एफसीका विकेश कुथु लिगमा सर्वाधिक क्लिन सिट राख्ने गोलरक्षक बने । उनले लिगका ९ खेलमध्ये ५ खेलमा क्लिन सिट राखे । एफसी चितवनका गोलरक्षक विशाल सुनारले खेलेका ६ खेलमध्ये एउटामा पनि क्लिन सिट राख्न सकेनन् ।

ललितपुरको ६ खेलसम्म अपराजित यात्रा

लिगमा सर्वाधिक खेलसम्म अपराजित रहने टोली ललितपुर सिटी एफसी हो । उसको अपराजित यात्रा ६ खेलसम्म पुगेको थियो ।

लिगको पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भएपछि सुरु भएको उसको अपराजित यात्रा दोस्रो क्वालिफायरमा काठमाडौंले नै ३–० ले हराउँदै अन्त्य गर्‍याे । यसबीचमा उसले समान ३–३ खेलमा जित र बराबरीको नतिजा निकाल्यो । एफसी चितवन लिगमा लगातार ४ खेलमा पराजय व्यहोर्ने टोली बन्यो ।

सर्वाधिक गोल भएको खेल

समूह चरण अन्तर्गत वैशाख २३ मा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी प्रतिस्पर्धा गरेका थिए । यो लिगमा सर्वाधिक गोल भएको खेल हो । ९ गोल भएको खेलमा काठमाडौंले ५ र विराटनगरले ४ गोल गरेका थिए ।

लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्स तथा ललितपुर सिटी र पोखरा थन्डर्स बीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अनुशासन गुमाएको विराटनगर

वैशाख २५ गते समूह चरणको आफ्नो अन्तिम खेलमा ललितपुर सिटी र विराटनगर सिटी एफसी प्रतिस्पर्धा गर्दै थिए । प्ले अफमा पुग्न दुबै टोलीलाई जित्नै पर्ने दबाब थियो । विराटनगर खेलको सुरुवातदेखि नै उग्र प्रदर्शन गरिरहेको थियो । खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएपछि त विराटनगर झन् आक्रोशमा देखियो ।

उसका प्रशिक्षक तथा बेन्च स-साना फउलमा पनि रेफ्रीमाथि दबाब बढाउन चाहन्थे ।

६३ औँ मिनेटमा विमल रानाले ललितपुरको अग्रता दोब्बर बनाएपछि विराटनगरले जुन व्यवहार गर्‍याे, त्यो कुनै खेल संस्थालाई शोभा दिने खालको थिएन । विमल रानाकाे गोलपछि विराटनगरका प्रशिक्षक यान लले आफ्ना खेलाडीलाई मैदान छाड्न आदेश दिए । 

विराटनगरका पेड्रो मान्जी क्रुजबाहेक सबै खेलाडीले मैदान छाडे । उनीहरू रेफ्रीको निर्णयप्रति सन्तुष्ट नरहेको प्रस्टै देखिन्थ्यो । रेफ्रीको निर्णयप्रति आफ्नो असन्तुष्टि प्रकट गर्न पाइन्छ तर खेलको बीचमै यसरी मैदान छाड्नु नियम विपरित हो ।

करिब ७ मिनेट रोकिएपछि खेल फेरि सुरु भयो । विराटनगरका खेलाडीमा यसले झनै बढी दबाब सिर्जना ग¥यो जसको फलस्वरूप टिम १० खेलाडीमा सीमित बन्न पुग्यो । खेलको ८५ औँ मिनेटमा विक्रम धिमालले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडे । खेल ४–० ले आफ्नो पक्षमा पर्दै ललितपुर प्ले अफमा पुग्दा विराटनगर बाहिरियो ।

निकै विरोध हुन थालेपछि विराटनगरले प्ले अफ पुग्ने दबाबका कारण यस्तो हुन पुगेको र यसमा खेलाडीको कुनै दोष नरहेको भन्दै आफ्ना समर्थकसँग माफी नै माग्यो । 

रेफ्रीप्रति असन्तुष्ट

लिगका प्रायः खेलमा टिम प्रशिक्षकहरूले रेफ्रीको खुलेरै आलोचना गरे । उनीहरू रेफ्रीको निर्णयप्रति त्यति सन्तुष्ट देखिँदैन थिए । विराटनगरका प्रशिक्षक यान लले त नेपाल सुपर लिगका रेफ्री भारतीय विद्यालय स्तरका रेफ्रीभन्दा पनि कमजोर रहेको समेत भन्न भ्याए । 

पहिलो र अन्तिम गोल मेसौकेको नाममा

लिगका २५ खेलमा ५८ गोल भए । संयोग नै मान्नुपर्छ लिगको पहिलो र अन्तिम गोल एकै व्यक्तिको नाममा रह्यो । काठमाडौं रेजर्सका मेसौके ओलोमोउले ललितपुर सिटीविरुद्ध उद्घाटन खेलमा पहिलो र फाइनलमा धनगढीविरुद्ध अन्तिम गोल गरे । लिगमा ९ खेलबाट सर्वाधिक ८ गोल गरेका उनी ह्याट्रिक पुरा गर्ने एक्ला खेलाडी हुन् । मेसौकेले विराटनगर सिटीविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए ।

  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार ११:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया