भर्चुअल माध्यमबाट बागमती प्रदेशका ११ पुलको उद्घाटन

कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र लकडाउनकै बीच बागमती प्रदेश सरकारले ११ वटा पुलको उद्घाटन गरेको छ । प्रदेश सरकारले निषेधाज्ञाको समयमा पनि विकास निर्माणका काम भइरहेको भन्दै प्रदेशभरि निर्माण भएका पुल उद्घाटन गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा १० वटा पक्की पुल र एउटा झोलुङ्गे पुलको मुख्यमन्त्री डोरमणि पौडेलले भर्चुअल माध्यमबाट हेटौंडामा ब्यानर पढेर एक साथ उद्घाटन गरे ।

प्रदेशको मेलम्ची चोक्यु पुल, भक्तपुरको महादेव खोला पुल, सिन्धुपाल्चोकको याम्वालिंग झोलुङ्गे पुल, भक्तपुरको मजुवा खोला पुल, काठमाडौंको विष्णुमती खोला पुल, काठमाडौंकै धोवी खोला पुल, चितवनको भवानीपुर उत्तराखण्ड भण्डार सडक पुल, चितवनकै चानौनी अमृतनगर दोद्रेनी पुल, नुवाकोटको ढुंगे खहरे कल्भर्ट लिखुखोला पुल, धादिङको डुडुरे खोला पुल र धादिङकै पलाखु खोला पुल निर्माण सकिएपछि सोमबार उद्घाटन गरिएको हो ।

एक दर्जन पुल, २५ करोड लागत 

३९७ मिटर लम्बाइका एक दर्जन पुल निर्माण गर्न प्रदेश सरकारले २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ । पुल उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको तीन बर्से अवधिमा ४४ वटा पुल निर्माण गरिसकेको बताए । प्रदेश सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा धेरै काम गरेको उनको दाबी थियो । प्रदेशका दुर्गम क्षेत्रमा समेत धेरै काम भएको उनले बताए ।

कोरोना नियन्त्रणमा प्रदेश सरकार



प्रदेश सरकार कोरोना नियन्त्रणमा लागिपरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । कोरोना महामारी नियन्त्रणसँगै प्रदेश सरकारले विकासका काम पनि निरन्तर गरिरहेको बताए ।  बागमती प्रदेशका अस्पतालमा अक्सिजनको व्यवस्थापन, एचडियु र आइसियुको व्यवस्थापनमा प्रदेश सरकार चौबीसै घण्टा लागिपरेको भन्दै उनले प्रदेश सरकार जनस्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको बताए ।

उनले प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको स्तरोन्नति गरेकै कारण हाल दैनिक सयौं बिरामीले उपचार सेवा पाएको दाबी गरे ।



कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले कोरोना महामारीको समयमा समेत विकास निर्माणका कामहरू भइरहेको बताए ।

  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार १८:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया