जसपामा फेरि किचलो, सहमतिको मसी नसुक्दै पुरानै विवाद सुरु
महतोलाई अस्वीकार गर्दै उपेन्द्रले संसदमा पठाए अर्को पत्र

जनता समाजवादी पार्टीमा दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच भएको सहमतिको मसी सुक्न नपाउँदै किचलो सुरु भएको छ। आफूसँग भएको सहमति विपरीत ठाकुर पक्षले राजेन्द्र महतो संसदीय दलको नेता भएको पत्र संसदमा पठाएको भन्दै यादव पक्षले आपत्ति जनाएको हो। 

यादवले संघीय संसद सचिवालयलाई पत्र पठाउँदै पार्टी केन्द्रीय कार्यकारिणी समितिबाट दलको विधान नै अनुमोदित नभएको अवस्थामा महतोलाई छान्ने निर्णय नै नभएको बताएका छन्। 

यादवले अहिलेसम्म दलको नेता नै नछानिएको बताउँदै समाचारमा आए अनुसार महतोलाई चुनेको कुरा सरासर झुटो रहेको पनि जिकिर गरेका छन्। 

उपेन्द्र यादव पक्षका नेता राजेन्द्र श्रेष्ठले बिहान भएको सहमति विपरीत महतो संसदीय दलमा चयन भएको पत्र ठाकुर पक्षले पठाएको भन्दै आपत्ति जनाएका हुन्।

'ठाकुर पक्षले सहमति विपरीत गएर दलको  नेता चयन भएको पत्र संसदमा पठाएछ, त्यसमा हाम्रो आपत्ति छ', उनले भने, 'यो त सहमतिविरुद्धको कुरा हो। दलको नेता चयन गर्नुपर्ने बैठक बसेको छैन, यस्तो अवस्थामा गरिएको निर्णयलाई हामी मान्दैनौँ।'

यादव पक्षले अध्यक्षद्वय ठाकुरले महतोलाई संसदीय दलको नेता बनाउने निर्णय फिर्ता लिन सहमति जनाएको दाबी गरेको छ। तर उक्त सहमतिविपरीत ठाकुर पक्षले संसदमा पत्र पठाएको भन्दै यादव पक्ष आक्रोशित भएको छ। 



संयुक्त वक्तव्य निकालेको केही घण्टा नबित्दै ठाकुरले संसदीय दलको नेता महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाएका थिए। उक्त पत्रलाई संसद सचिवालयले दर्ता पनि गरिसकेको छ।



  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १७:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया