राष्ट्रिय सभा उपनिर्वाचनः नेपालको अडानले एमालेको एकता वार्तालाई कत्तिको प्रभावित गर्ला ?

बिहीबार राष्ट्रिय सभा बागमती प्रदेशअन्तर्गतको उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचनमा एमालेकै दुईजना उम्मेदवार भिड्दै छन् । जसमा एमालेको आधिकारिक उम्मेदवारका रुपमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेदवार छन् भने अर्का एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका खिमलाल भट्टराई पनि उम्मेदवार छन् ।
 
माओवादी, कांग्रेस र जसपाको साथ पाएर आफूनिकट खिमलाल देवकोटालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएका नेता नेपालले एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री थापालाई सहयोग गर्न नसकिने बताएका छन् । बिहीबार हुन गइरहेको बागमती प्रदेशअन्तर्गतको राष्ट्रिय सभाको निर्वाचनमा आफूलाई सहयोगका निम्ति अनुरोध गर्न मंगलबार एमाले वरिष्ठ नेता नेपालको निवास कोटेश्वर पुगेका नेता थापालाई नेपालले सहयोग गर्न नसकिने बताएका थिए । त्यस क्रममा नेता नेपालले खिमलाललाई आफूले नै उठाएका कारण सहयोग गर्न नसकिने जवाफ दिएका थिए । भेटमा नेपालले भनेका थिए, ‘खिमलाललाई मैले उठाएको हुँ, अन्यथा गर्न सक्दिनँ ।’
 
नेता नेपालको सचिवालयले समेत सहयोग गर्न नसक्ने बताएको छ । नेपालको सचिवालयले मंगलबार भनेको छ, ‘आज रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रिय सभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले उमेदवारी दर्ताको परिस्थितिमा अन्य दलसहितलाई सहमत गराएर डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उमेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।’

भेटका क्रममा नेता थापाले त्यसो भए मतदातालाई स्वविवेक प्रयोग गर्न भनौँ भन्ने प्रस्ताव गरेको सचिवालयले दाबी गरेको छ । ‘मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवं मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ’, नेपालको सचिवालयले भनेको छ ।

नेपालको अडानको असर

नेकपा(एमाले) अहिले पार्टीको आन्तरिक विवाद मिलाउने कसरत गरिरहेको छ । जसका निम्ति नेताद्वय सुवासचन्द्र नेम्वाङ र भीम रावलको नेतृत्वमा १० सदस्यीय कार्यदल गठन गरी एमालेले विवाद समाधान गर्नतर्फ लागिरहेको छ । तर, एमाले सहमतितिर अघि बढिरहँदा यही बीचमा आएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन भने बाधक बन्ने खतरा देखिएको छ ।
 
जेठ ६ गते (बिहिबार) हुने उपचुनावमा एमालेकै दुईजना उम्मेदवार मैदानमा छन् । एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हुन् भने गठबन्धनका तर्फबाट डा.खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । 

एमाले विवाद उत्कर्षमा पुगेका वेला नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसमेतलाई सहमत गराएर नेता नेपालले साझा उमेदवार खडा गरेका थिए । मंगलबार मौन अवधि सुरु हुनुपूर्व उम्मेदवार बादल नेता नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । तर, एमाले वरिष्ठ नेपालले भने पुरानै अडान दोहोर्याएका छन् । नेपालको यो अडानले एमालेको जारी वार्तामा असर गर्ने देखिएको छ । त्यसो त नेपाल पक्षका अन्य नेताले पनि यस विषयमा मौन बसेका छन् । मंगलबार भएको एमाले वार्ता कार्यदलको बैठकमा कार्यदलका संयोजक भीम रावलले कुनै प्रतिक्रिया दिएनन् । 

बादललाई मतदान गर्न ओलीको अपिल



एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाग्मती प्रदेशका लागि हुन गइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई जिताउन अपिल गरेका छन् । बुधबार अपिल पत्र जारी गर्दै अध्यक्ष ओलीले थापालाई मतदान गर्न आग्रह गरेका हुन् । ‘जेठ ६ गते बाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउनेछ । तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु,’ ओलीले जारी गरेको अपिलमा भनिएको छ । 

ओलीले पार्टीप्रति बफादार हुने शपथ लिएको भन्दै त्यसलाई पालना नगर्ने विन्दुमा पुग्ने कुरा अकल्पनीय भएको समेत उल्लेख गरेका छन् । एमालेभित्र देखापरेका समस्याको समाधान गर्न कार्यदल बनेको उल्लेख गर्दै ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु कल्पनाबाहिरको विषय भएको बताएका छन् ।



एमालेको ह्विप

यसैबीच नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्विप जारी गरेको छ ।
 
एमाले महासचिव ईश्वर पोखरेलले जेठ २ गते प्रदेशसभा सदस्य, बागमती प्रदेशअन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा पत्र पठाउँदै एमालेका आधिकारिक उम्मेदवार थापालाई मतदान गर्न ह्विप जारी गरेका हुन्। 

एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बागमती प्रदेशका सम्बन्धित सबैलाई पत्र पठाइएको जानकारी दिए। पत्रमा थापा नै एमाले उम्मेदवार रहेको र उनका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ। ‘बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापामगर भएको जानकारी गराइन्छ । पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ ज्येष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौँडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिह्न सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु,’ पत्रमा भनिएको छ ।
 
एमालेका नेता तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य अरुण नेपालले राष्ट्रिय सभा निर्वाचनका बारेमा शीर्ष तहमा आजै साँझसम्म सहमति हुनुपर्ने बताएका छन्। बिहीबार मतदानका बेला एमालेका मतदातालाई एकै ठाउँमा उभिने वातावरण अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बनाइदिनुपर्ने उनको भनाइ छ । ‘राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा अध्यक्ष र वरिष्ठ नेता आजै बसेर साझा निष्कर्ष निकाल्नुपर्छ र उहाँहरुले निकालेको निष्कर्ष मान्न सबै तयार हुन्छन् । विवेक प्रयोग गर भनेर मात्र हुँदैन,’ नेता नेपालले भने ।

यस्तो छ अंकगणित
 
निर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३८ जना अध्यक्ष र उपाध्यक्ष गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन् । एमालेको प्रदेशसभामा ५७ र स्थानीय तहमा १३३ मतदातामध्ये संस्थापन पक्षमा प्रदेशसभाका ३५ र स्थानीय तहका ८७ मतदाता रहेका छन् । माधव नेपाल पक्षमा– प्रदेशसभाका २२ र स्थानीय तहका ३८ मतदाता छन् भने ८ स्थानीय तहका प्रमुख उपप्रमुख तट छन् । त्यसमध्ये ओलीले ह्विप जारी गरेको र नेपाल पक्षले स्वविवेक प्रयोग गर्न भनेको अवस्थामा बिहीबार यही नै होला भनेर भने भन्न सकिने अवस्था छैन । यद्यपि, बुधबार बेलुकीसम्म ओली–नेपालबीच सहमति हुनसक्ने भएमा भने स्थिति फरक हुन सक्छ ।

  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १७:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया