राष्ट्रियसभा उपनिर्वाचन : चार प्रदेश सांसद र स्थानीय तहका पाँचजनाले भोट हालेनन्

राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशमा आज भएको मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार अपरान्ह ३ बजेसम्म शान्तिपूर्ण रुपमा  मतदान भइसकेको हो।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गरेनन्। बागमतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका छन्। ११० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको छ।

प्रदेश सांसदतर्फ विवेकशील साझाका तीनजना सांसद मतदान प्रक्रियामै सहभागी भएनन्। विवेकशील साझा पार्टीको बागमती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले  तीनैजना सांसद 'नो भोट' को पक्षमा उभिएको बताए।

त्यस्तै आजको उपनिर्वाचनमा माओवादीका एकजना सांसद पनि मतदानमा सहभागी भएनन्। दोलखाबाट निर्वाचित समानुपातिक सांसद हिमाली गोले मतदानमा सहभागी भइनन्। उनले आफू बिरामी भएकाले मतदानमा सहभागी हुन नसक्ने जानकारी संसदीय दललाई गराएकी थिइन्। 

स्थानीय तहतर्फ 

स्थानीय तहतर्फ पाँचजनाले भोट दिएनन्। जसमा दोलखाको मैलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, भक्तपुरका मेयर एवम् नेपाल मजदुर किसान पार्टीका नेता   
सुनील प्रजापति, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र उपप्रमुख कोपिला पण्डित पनि आजको मतदान सहभागी भइनन्। 



उता धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ पनि मतदानका लागि हेटौँडा आएनन्। निर्वाचन आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए। जसमा २३३ जना मतदानमा सहभागी भएका हुन्। 

बागमतीबाट राष्ट्रियसभाका लागि एमालेका रामबहादुर थापा बादल र स्वतन्त्र हैसियतमा डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा छन्। स्वतन्त्र भनिएका देवकोटालाई माओवादी-कांग्रेसको समर्थनमा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले संरक्षण दिएका छन्। 



आज स्थानीय तहका प्रतिनिधि र प्रदेश सांसदसहित २५ जना कोरोना संक्रमित मतदाताले पनि भोट हालेका छन्। प्रदेशसभातर्फ १०५ र स्थानीय तहतर्फ २३३ गरी ३३८ मत खसेको छ।

  • प्रकाशित मिति : जेठ ६, २०७८ बिहीबार १५:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया