ओली हटाउन विपक्षीहरुको निर्णय : एमाले नेता माधव नेपाल नयाँ प्रधानमन्त्री
विपक्षी दलहरूको निर्णायक छलफल सिंहदरबारमा

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका विपक्षी दलहरुले केपी शर्मा ओलीलाई सत्ताबाट बिदा गर्न अर्को कार्ड फ्याँकेका छन्। उनीहरुबीच आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले भावी प्रधानमन्त्रीमा नेकपा एमाले असन्तुष्ट नेता माधवकुमार नेपाललाई अघि सारेका हुन्।

बूढानीलकण्ठमा बसेको तीन दलको बैठकले नेपाललाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि अहिले सांसदहरु समेत बोलाएर सिंहदरबारमा निर्णायक छलफल सुरु भएको छ। संविधानको धारा ७६ को उपधारा (५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म सरकार बनाउने म्याद दिएपछि विपक्षी दलहरूको मोर्चाबन्दी सुरु भएको हो। 

राष्ट्रपति ले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन गर्न दिएको समयभित्रै बहुमत जुटाउने गरी कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव र एमालेको माधव नेपाल समूह निर्णायक वार्तामा जुटेको हो। 

यसअघि माओवादी अध्यक्ष प्रचण्डले आफू र नेता नेपालबीच उपधारा ५ मा भेट हुन सक्ने बताएका थिए। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल समूहले अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्णायक छलफल गरिरहेका छन्। 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पनि सहभागी छन्। उक्त बैठकमा तीनै दल र नेपाल समूहका सांसदहरु पनि सहभागी भइसकेका छन्। 

विपक्षी दलले एमाले नेता नेपाललाई प्रधानमन्त्रीलाई अघि सारेपछि नेपाल पक्षका सांसदहरू सिंहदरबार पुगिसकेका छन्। नेपाल समूहका सांसदहरू भेला भएपछि अहिले कांग्रेस संसदीय दलमा विपक्षी दलको बैठक सुरु भएको हो।



राष्ट्रपतिले बिहीबार बेलुका ८ बजे संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधि सभाका सदस्यलाई विश्वासको मत पुर्‍याउने आधार प्रस्तुत गर्न शुक्रवार साँझ ५ बजेसम्मको समय दिएकी छिन्।



  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार १५:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया