सरकारमा ओली-देउवाको दाबीले संसदको अंकगणित नै फेल !
संसदमा छन् २७१ जना, सरकार दाबी गर्दा ३१ जना थपिए

नेपालको संघीय संसदमा अहिले २७१ सदस्य छन्। यो अवस्थामा कुनै पनि बहुमतको सरकारका लागि १३६ जना सांसदको आवश्यकता पर्छ।

संविधानको धारा ७६ उपधारा (३) अनुसार वैशाख ३१ मा अल्पमतको प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले उपधारा ४ अनुसार विश्वासको मत नलिइ सिधै उपधारा ५ अनुसार सरकार बनाउन बाटो खोलिदिएका थिए।

त्यही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो दुई वा दुई भन्दा बढी दलहरूलाई सरकार निर्माणका लागि आज साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।

दुई दाबी

उक्त समयभित्र अहिलेसम्म प्रधानमन्त्रीमा दुईजना सांसदले दाबी पेश गरेका छन्। प्रतिनिधिसभाका सदस्यहरु केपी शर्मा ओली र शेरबहादुर देउवाले शीतल निवास पुगेर बहुमतको प्रधानमन्त्री दाबी गरेका छन्।

आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा कसैले बहुमतसहित दाबी गर्न नसकेको अवस्थामा संसद वैधानिक रुपमा विघटनतर्फ गएर राष्ट्रपतिले मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना थियो।



तर सत्तारुढ र विपक्षी दुवै दलले यस्तो हुन दिएनन्। कांग्रेस सभापतिसमेत रहेका देउवाले १४९ जनाको समर्थनसहित बहुमतको सरकार दाबी गरेका छन्।

उता विपक्षी दलका नेताहरु सरकारमा दाबी लिएर शीतल निवास पुग्नुअघि नै एमाले अध्यक्षसमेत रहेका ओलीले सरकारमा दाबी पेश गरिसकेका छन्।



ओलीको दाबी

ओलीले बहुमतको सरकारका लागि आफ्नो पक्षमा १५३ सांसदको समर्थन रहेको दाबी शीतल निवासमा पेश गरेका छन्।

उनले एमालेका १२१ जना र जनता समाजवादी पार्टीका सबै ३२ जना सांसदको समर्थनसहित सरकारको दाबी पेश गरेका हुन्। उनको साथमा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि रहेका छन्।

यी तीन नेता सम्भावित सरकारबारे कुरा गर्न हिजो राति नै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। ओलीले नागरिक कानुन संशोधनसहितका शर्त पूरा गर्न कार्यदल बनाइसकेका छन्। साथै उनले जसपाबाट ८ देखि १० जनालाई मन्त्री बनाउने बाचा गरेका छन्।

देउवाको दाबी

उता नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितका विपक्षी दलहरूले १४९ जनाको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेका छन्। ओलीलाई बिदा गर्न एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि उनीहरुले प्रधानमन्त्री प्रस्ताव गरेका थिए। तर अन्तिममा देउवा नै अघि सरेर शीतल निवास पुगे।

देउवाको पक्षमा कांग्रेसका ६१, माओवादीका ४८, जसपा उपेन्द्र यादव समूहका १२, माधव नेपाल समूहका करिब २७ र जनमोर्चाका एकजना सांसदले हस्ताक्षर गरेका दाबी थियो।

असन्तुष्टि

देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले व्यापक असन्तुष्टि जनाएका छन्। सांसद योगेश कुमार भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरे।

उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा  अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरे।

एमालेमा विवाद देखिएदेखि मिलाउने प्रयासमा लागिरहेका भट्टराईले देउवालाई प्रम बनाउने प्रस्तावमा हस्ताक्षर अस्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चलिरहेको विवाद मिलाउन पछिल्लो समय उनी खटिएका थिए। 

उनले ओली र नेपाल दुवैलाई भेटेर पार्टीको विवाद वार्तामा बसेर मिलाउन दबाब दिँदै आएका थिए। उनीसहितका दोस्रो तहका नेताहरुको निरन्तर दबाबपछि ओली-नेपाल वार्तामा बसेर सहमति जुटाउने बिन्दुमा पुगेका थिए। 

यस्तै वरिष्ठ नेता नेपालनिकट मानिने सांसदहरु सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले आफुहरु विपक्षी दलको बैठकमा सहभागी भए पनि देउवालाई प्रधानमन्त्री बनाउन बटुलिएको भनिएको हस्ताक्षर आफूहरूले नदिएको बताए।

दुवै नेताले संसद बैठक बोलाउन भनेर संकलन गरिएको हस्ताक्षर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि बहुमत जुटाउन प्रयोग गरिएको भन्दै आपत्ति  जनाएका छन्।

त्यस्तै नेताहरु घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले पनि आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै संसदीय दलका नेता ओलीलाई जानकारी गराएको स्रोतले बताएको छ। ओलीले त्यही  सन्देश राष्ट्रपतिलाई दिएको स्रोतको दाबी छ ।

अंक गणित फेल

अहिलेको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा २७१ सदस्य रहेका छन्। यो अवस्थामा कुनै पनि एउटा दलको बहुमत पुग्ने अवस्था छैन। यस्तोमा सरकार बनाउन दुई वा दुई भन्दा धेरै दलको समर्थन आवश्यक छ।

राष्ट्रपतिको आह्वान अनुसार बहुमतका लागि १३६ सांसद भए पुग्छ। तर सरकारको दाबी गर्दा ओलीले आफ्नो पक्षमा १५३ र देउवाले १४९ सांसद रहेको बताएका छन्।

यसको अर्थ के हो भने दुवै पक्षका सांसदहरुको संख्या जोड्ने हो भने ३०२ हुन आउँछ। जबकि प्रतिनिधिसभामा २७१ मात्रै संख्याको हेक्का दुवै समूहले गरेनन्।

रोचक के भयो भने देउवाले एमालेको माधव नेपाल पक्षका  २७ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गरे। जबकि तिनै २७ सहित एमालेका १२१ सांसदको समर्थनमा ओलीले सरकारमाथि दाबी गरेका छन्।

अर्कातिर ओलीले जसपाका ३२ जना सांसदको समर्थनसहित १५३ जनाको साथ आफूले पाएको बताएका छन्। जसपाका पनि १२ जना सांसदले उता देउवालाई समर्थन जनाएका छन्।

दुवै पक्षले प्रतिनिधिसभामा रहेका सांसद भन्दा ३१ धेरै दाबीसहित सरकार चलाउन प्रस्ताव राष्ट्रपतिकहाँ लगेका छन्। जसपा र एमालेका सांसदको समर्थ दुवै पक्षले दाबी गरेपछि संसदको अंक गणित नै अहिले गोलमाल हुन पुगेको छ।  

  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार १७:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया