मध्यपश्चिम विश्वविद्यालय : सेवा आयोग छाडेर विज्ञापन गरेको भन्दै प्राध्यापक संगठनको विरोध
उपकुलपति भन्छन् : प्राध्यापकको काम पढाउने हो, राजनीति गर्ने होइन

मध्यपश्चिम विश्वविद्यालयले पिएचडी तथा पोस्ट पिएचडी होल्डर प्राध्यापक, प्राध्यापक, अन्य अधिकृत, रिसेप्सनिस्ट गरी ३६ जना कर्मचारी करारमा भर्नाका लागि खुला विज्ञापन आह्वान गरेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसले जेठ ३ गते र रजिस्ट्रारको कार्यालयले जेठ ६ गते विज्ञापन खुला गरेका हुन् ।  

कर्मचारी भर्ना गर्ने आधिकारिक निकाय सेवा आयोगलाई बाइपास गरेर विश्वविद्यालयले खुला विज्ञापन गरेको भन्दै विभिन्न प्राध्यापक संगठनले विरोध जनाएका छन् । स्वीकृत दरबन्दीविनै हचुवाका भरमा प्राध्यापक तथा कर्मचारी भर्ना गर्न लागिएको भन्दै विरोध भएको हो । 
 
विश्वविद्यालयका प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल प्राध्यापक समाज र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले त्यसको विरोध गरेका छन् । त्यस्तै, प्रजातन्त्रवादी कर्मचारी संघ, प्रगतीशील कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठनले पनि खुला विज्ञापनको विरोध गरेका छन् । 

उनीहरुले तत्काल उक्त विज्ञापन रद्द गरेर सेवा आयोगबाट कर्मचारी भर्ना गर्नुपर्ने माग गरेका छन् । आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ठूलो संख्यामा प्राध्यापक तथा कर्मचारीको छनोट गर्नु अत्यन्तै गलत भएको पेसागत संगठनहरुको ठहर छ । 

विश्वविद्यालयको आन्तरिक स्रोत छैन भन्ने उपकुलपतिले आफ्ना मान्छे भर्ना गर्नका लागि ठूलो संख्यामा विज्ञापन गरिएको नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङको आरोप छ । 
 
‘ठूलो संख्यामा विज्ञापन खोलिए पनि कतिपय दरबन्दीको बारेमा प्रस्ट खोलिएकै छैन,’ उनले भने, ‘विश्वविद्यालयका लागि अर्थ मन्त्रालयबाट स्वीकृत दरबन्दी नै छैन । तर, आफ्ना मान्छे भर्ना गर्नका लागि आन्तरिक स्रोतबाट तलब खुवाउने गरी भर्ना खुलाइएको छ ।’

विश्वविद्यालयमा लामो समयदेखि परीक्षा भएको छैन । थुप्रै व्यवस्थापकीय काम पनि लथालिंग छ । यस्तो असहज परिस्थितिमा विश्वविद्यालय प्रशासन भने आफ्ना मान्छे भर्ना गर्ने काममा व्यस्त रहेको प्राध्यापक संगठनहरुको आरोप छ । विना दरबन्दी भर्ना गरेर आर्थिक भार बढाउनुको साटो सेवा आयोगबाट निश्चित मात्रामा प्राध्यापक तथा कर्मचारीको स्थायी भर्नाको काम अघि बढ्नुपर्ने उनीहरुको माग छ । 

यसअघि ०७५ साल चैत महिनामा प्रकाशित गरिएको प्राध्यापक तथा कर्मचारीको पदपूर्तिसम्बन्धी खुला विज्ञापनको नतिजा अहिलेसम्म पनि नआएको भन्दै उनीहरुले तत्काल नतिजा निकाल्न माग गरेका छन् । 



यता, विश्वविद्यालय प्रशासनले भने छिटो–छरितो आवश्यक कर्मचारी भर्ना गर्ने विधि अपनाइएको दाबी गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले खुला विज्ञापन छिटो नियुक्ति गर्ने प्रावधान भएको बताए । 



‘२५ जना उत्कृष्ट पिएचडी होल्डर तथा पोस्ट पिएचडी होल्डर भर्ना लिँदै छौँ,’ उनले भने ‘हालसम्म एक सयभन्दा बढीले आवेदन दिनुभएको छ । यसबाट हामीले उत्कृष्टलाई छनोट गर्नेछौँ ।’ जसले विश्वविद्यालयलाई संसारमै प्रतिस्पर्धा गर्न लायक बनाउने उनको दाबी छ ।  

विश्वविद्यालयमा राजनीति गर्न खोज्नेहरुले वक्तव्य दिँदैमा एक्पर्टहरुको भर्ना नरोकिने भन्दै उपकुलपतिले नयाँ आउने प्राध्यापकहरुले वक्तव्य दिनेलाई पनि सिकाउने बताए । कर्मचारी छनोट गर्ने एउटा टिम बनाएर सेवा आयोगले नै छनोट गर्ने भन्दै उपकुलपति सिंहले निष्पक्ष ढंगले छनोट गरिने बताए । ‘जो भए पनि नेपालीको छोराछोरी आउनेछन्,’ उपकुलपति सिंहले थपे, ‘प्राध्यापकको काम पढाउने हो । राजनीति गर्ने होइन । निष्पक्ष ढंगबाट छनोट हुन्छ ।’

  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १८:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया