गणतन्त्रका लागि लड्दाका ती दिन : ज्यान गुमाएका साथी सम्झिँदा रुन मन लाग्छ
गणतन्त्र आयो, जनताले के पाए ?

तत्कालीन शाही सरकारले नगर निर्वाचनको घोषण गरेको थियो २०६२ साल माघ २६ गते। घोराहीमा नगर निर्वाचन चलिरहेको थियो। 

त्यसमा कुनै पनि ठूला दलले भाग लिएका थिएनन्। सडक आन्दोलनमा रहेका कांग्रेस, एमाले लगायतका दल र सशस्त्र संघर्ष गरिरहेको माओवादी राजा ज्ञानेन्द्रले गर्न लागेको नगर निर्वाचन असफल पार्न लागिपरेका थिए। 

नगर निर्वाचनको विरोधमा संसदवादी दलहरूको अगुवाइमा घोराही बजारमा पनि जुलुस सुरु भयो। जुलुसमा दलका नेता, कार्यकर्ता र स्थानीयको ओइरो थियो। 

उनीहरूले शाही सरकारविरुद्ध चर्का नारा लगाइरहेका थिए।  त्यही भीडमा थिए दाङ, घोराही दामोदर चोकका कृष्ण गिरी।

आन्दोलनकारी अहिलेको शहीद उमेश थापा मार्ग हुँदै  माथितिर अगाडि बढिरहेका थिए। जुलुस अहिलेको मध्यपश्चिम रेडियोको प्रवेशद्वारमा पुगेको थियो।  तत्कालिन शाही सेनाका दुईवटा गाडी अगाडि आएर रोकिए।

सेनाहरू गाडीबाट ओर्लिए तर आन्दोलनकारी रोकिएनन् अगाडि बढिरहे। सेनाको कमाण्डर माइकिङ गरेर ठोक भन्यो।  त्यसपछि आन्दोलनकारीको भीडतर्फ बरर्र.... गोली बर्सियो।  सेनाको गोली छातीमा लागेर उमेश चन्द्र थापा ढले।  आन्दोलनकारी तितरबितर भए। 



उमेशचन्द्र बाहेक धेरैलाई गोली लाग्यो। कृष्ण पनि गोली लागेर ढले। ‘होसमा आउँदा अस्पतालमा थिएँ मलाई तीनवटा गोली लागेको रहेछ। उमेशचन्द्र थापालाई अस्पतालले मृत घोषणा गरेछ’ कृष्ण त्यो दिनको सम्झना गर्छन्। 

कृष्णलाई पनि आन्दोलनकारीले बाँच्दैन भन्ने ठानेका थिए। उनको गोली निकालियो। बाँचे तर अहिले पनि गोलीका छर्राहरू उनको शरीरभित्रै छन्। 



शाही सरकारको दबदबा, दमन व्यापक थियो। गणतन्त्र आएपछि जनताको सरकार आउँछ। तल्लो वर्गका जनताले न्याय र अधिकारी पाउँछन्। देश विकास तीब्र गतिमा अघि बढ्छ। जनतामा न्याय, अवसर र समान अधिकार प्राप्त हुन्छ । हो यही विश्वास थियो कृष्णलाई आन्दोलनमा लाग्दा। 

आन्दोलनमा गोली लागेपछि घाइते भएका कृष्ण गिरी ह्वीलचियरमा र अहिले कृष्ण गिरी। 

उनलाई गोली लागेको ३ महिनापछि निर्णायक आन्दोलन भयो। जनतासँग शाही सरकार झुक्यो। आन्दोलनको अगुवाई गरेका दलको हातमा सत्ता आयो। संविधानसभा चुनाव हुँदै देश गणतन्त्रमा गयो।  

विस्तारै दिनहरू बिते। आज गणतन्त्र आएको पनि १३ वर्ष बितिसक्यो। यहीबीचमा परिवर्तन त धेरै भयो। तर पिछडिएका तल्लो वर्गका जनताको जीवनका के परिवर्तन भयो ? कयौँ पटक घोरिँदा पनि यसको चित्तबुझ्दो उत्तर भेट्दैन कृष्णको मनले। 

जनता लडेर, ज्यानको बाजी थापेर ल्याएको गणतन्त्रमा सीमित व्यक्तिले मात्रै फाइदा लिएको उनको बुझाइ छ। अहिलेका शासकमा पनि त्यो बेलाका शाही शासककै जस्तो शैली देख्दा कृष्णलाई दिक्क लाग्छ। 

‘अझै पनि विपन्न, दलित, पिछडिएका व्यक्तिहरूको समस्या उस्तै छन्। ‘हामी मरेर ल्याएको गणतन्त्र यही हो ?’ उनी प्रश्न गर्छन्।  

जनताको त्याग बलिदानबाट आएको गणतन्त्रमा पनि शासकको अघिपछि हुनेले मात्रै फाइदा लुटेको कृष्णको गुनासो छ। ‘आन्दोलनको व्यवस्था होइन नेता मात्रै फेर्नसक्यो’ उनको निष्कर्ष छ। 

जनताको जे अपेक्षा थियो, गणतन्त्रले त्यसलाई सम्बोधन नगरेको र गर्ने दिशामा पनि नदेखिएको उनको भनाइ छ। ‘जो नेताको नजिक छ, त्यो अधिकार र अवसर उसले पाएको छ। जसले अधिकार र अवसर पाउनुपर्ने हो, उसले पाएकै छैन’ कृष्ण सुनाउँछन्, ‘हामीले जनताको अवस्था फेर्ने व्यवस्थाको खोजीमा सडकमा आएका थियौं। जनता अझै दुःखी छन्।’ 

त्यो दिन सम्झिँदा र आन्दोलनमा ढलेका साथी सम्झिँदा रुन मन लाग्छ उनलाई। 

२०६२ साल माघ २६ गते सेनाको गोली लागेर घाइते भएपछि उपचाररत अवस्थामा कृष्ण गिरी अन्य आन्दोलनकारीहरु । 

जनताले दिएको बलिदान र योगदानको कदर राज्य र दलहरूले गर्न नसक्दा नै मुलुकमा अझै परिवर्तनको अनुभूति नागरिकले गर्न नपाएको उनको गुनासो छ। 

निरंकुश राजतन्त्र भन्दा गणतन्त्र निकै उन्नत व्यवस्था हो। गणतन्त्रले कुनै दिन राम्रो नेतृत्व पाउने र साँच्चिकै परिवर्तनको आभास जनताले गर्ने झिनो आशा कृष्णको मनमा छ। 

खै कसका लागि आयो गणतन्त्र ?

कृष्ण घाइते भएकै आन्दोलनमा ज्यान गुमाएका शहीद उमेशचन्द्र थापाकी श्रीमती लक्ष्मी थापाको मनले पनि गणतन्त्रले १३ वर्ष पार गरेको खुसी राम्रोसँग अनुभूत गर्न सकिरहेको छैन। 
 ‘गणतन्त्र ल्याउन भनेर श्रीमान ज्यान गुमाउनु पर्‍यो। तर खै आएको गणतन्त्र कसका लागि आयो हामीलाई थाहा छैन’ लक्ष्मी भन्छिन्।  

गणतन्त्र आएर शासक फेरिए पनि जनताको गणतन्त्र भने अझै नआएको लक्ष्मीको बुझाइ छ। जनताको अवस्था खासै फेरिन नसक्दा गणतन्त्र कसका लागि आयो भन्ने अन्योलमा रहेको उनी बताउँछिन्। 

‘गणतन्त्रको उपलब्धिको अनुभूति जनता गर्न नपाउँदा यसका लागि बलिदान दिएकाहरूको आत्माले शान्ति पाएको छैन जस्तो लागिरहन्छ लक्ष्मीलाई। गणतन्त्रमा आहुति दिएका परिवार,  शहीद, घाइते, अपाङ्ग भएकाहरूलाई राज्यले खासै वास्ता नगरेको गुनासो उनको छ। 

तिनका छोराछोरी र गाँसको अवस्था कस्तो छ भनेर खासै चासो दिँदैनन्’ लक्ष्मी भन्छिन्,  ‘चुनाव आए आँसुको पोको लिएर आउँछन्। चुनाव सकिए, फर्किँदैनन्।’ 

  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १९:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया