लुम्बिनी प्रदेशमा मतदान : मतदानका लागि पिसिआर रिर्पोट अनिवार्य

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यमा खाली रहेको पदका लागि यही जेठ १७ गते निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमालेका तर्फबाट मालारानी गाउँपालिका ५ अर्घाखाँचीका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चाका तर्फबाट महाराजगन्ज नगरपालिका १ कपिलवस्तुका दृगनारायण पाण्डेय चुनावी मैदानमा छन् ।

एकातर्फ कोरोना संक्रमणको महामारी र अर्कोतर्फ राष्ट्रियसभाको उपनिर्वाचन । कोरोना संक्रमणका कारण मुलुकभर बन्दाबन्दी जारी छ । महामारीबीचमै हुन लागिरहेको निर्वाचनको तयारी, स्वास्थ्य सुरक्षा अवस्थाका बारेमा लुम्बिनी प्रदेश निर्वाचन अधिकृत रितेन्द्र थापासँग गरेको कुराकानी सारसंक्षेप : 

राष्ट्रियसभाको उपनिर्वाचनको तयारी कस्तो छ ?

यही जेठ १७ गते लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचन मतदान दाङमा हुँदैछ । निर्वाचनमा दुईजना प्रतिस्पर्धी चुनावी मैदानमा हुनुहुन्छ । निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । हामीले प्रदेशसभा सदस्यका लागि, स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि र कोरोना संक्रमित मतदाताका लागि गरी तीनवटा मतदान स्थल व्यवस्थापन गरेको छौं ।

निर्वाचनमा स्वास्थ्यकर्मीसहित २४ जना कर्मचारी व्यवस्थापन गरिएको छ । निर्वाचनमा मतदानका लागि ७९ जना प्रदेशसभा सदस्य,  २१७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने भएकाले स्वास्थ्य सुरक्षाका बन्दोबस्त पनि उसै गरी मिलाइएको छ ।

कोभिड संक्रमित मतदाताका लागि के कस्तो व्यवस्था मिलाइएको छ ? 



प्रदेशसभा सदस्यहरूका लागि मतदान स्थल ‘क’, स्थानीय तहका प्रमुख/उपप्रमुखहरूका लागि ‘ख’ र कोभिड संक्रमित मतदाताहरूका लागि ‘ग’ मतदान स्थल तयारी अवस्थामा राखेका छौं ।

मतदाताहरू मतदान स्थल प्रवेश गर्दा अनिवार्य पिसिआर रिर्पोट हुनुपर्ने मापदण्ड तय गरेका छौं । जसका लागि निर्वाचन स्थलमा खटिने कर्मचारीलाई कोरोना परीक्षण गरी तयारी अवस्थामा राखेका छौं । मतदाता यदि कोरोना संक्रमित भएमा मतदानस्थल ‘ग’ मा मतदान गर्नसक्ने छन् । उनीहरूका लागि पिपि सेटदेखि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री समेत व्यवस्था गरिसकेको छौं ।



स्वास्थ्य मापदण्डअनुसार भिडभाड नगर्ने निर्देशन सरकारले गरेको छ, तर सरकार आफैंले उलङ्घन गरे जस्तो भएन र ?

यस्तो आम नागरिकलाई लाग्न सक्छ । सरकारको निर्देशन आमनागरिकले पालना गर्नुपर्ने तर जनप्रतिनिधिहरूलाई नलाग्ने भन्ने होइन । सरकारले आवश्यक सुरक्षा र सावधानी अपनाएर राष्ट्रिय सवालका विषयमा निश्चित योजना तय गरेको हुन्छ । हामीले त्यसलाई नकारात्मक दृष्टिले हेर्नु हुँदैन । मुलुक डोहोर्‍याउने सबैभन्दा महत्त्वपूर्ण कुरा नै राजनीतिक हो ।

राजनीतिक दलहरूले साझा सहमतिका आधारमा नै यो उपनिर्वाचनको तयारी गरेका छन् । त्यो हामीले स्वीकार्नु पर्छ । कसैले कसैलाई होच्याउने गरी काम गर्नु हुँदैन । यो निर्वाचनमा सबै बौद्धिक वर्ग अर्थात् समाजका अग्रपङ्क्तिमा रहेका मान्छेहरू नै रहेकाले यो महामारी खेलाँची नसम्झी आवश्यक सुरक्षा सावधानी अनुसार मतदान हुनेछ । त्यसको व्यवस्थापनका लागि प्रदेश निर्वाचन कार्यालयमा मात्रै नभई प्रदेश र स्थानीय सरकार समेत लागेको छ ।

  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार २३:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया