'महामारीका सरकारलाई सहयोग नगर भन्ने विपक्षीको अपिल आपत्तिजनक'

सत्तारुढ नेकपा एमालेका नेता विष्णु रिजालले महामारी नियन्त्रण गर्नुपर्ने समयमा सरकारलाई सहयोग नगर्नका लागि कर्मचारीलाई गरेको अपिल आपत्तिजनक रहेको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत नेता रिजालले प्रधानमन्त्री भएर देश चलाइसकेका र फेरि तीव्र प्रयास गरिरहेका नेताहरुले महामारीका बेला कर्मचारीसँग ’सरकारलाई सहयोग नगर’ भनेर अपिल गर्नु आपत्तिजनक भएको बताएका हुन् । 

महामारी नियन्त्रणमा लाग्नुपर्ने समयमा कर्मचारीलाई काम गर्नबाट रोक्ने विपक्षीको आह्वान गतल भएको रिजालको भनाइ छ । उनले लेखेका छन्, 'विपक्षी गठबन्धनले सरकार बनाएछ भने कर्मचारीतन्त्रसहित सिंगो राज्य संयन्त्र त्यही सरकारको मातहतमा आइहाल्छ ।'

रिजालले महामारीमा कर्मचारी प्रशासनले सहयोग नगर्दा भारतमा भएको घटनाको उदाहरण पनि दिएका छन् । उनले विपक्षीको आव्हानले सरकारलाई स्वास्थ्य सङ्कटकालतर्फ धकेल्ने संकेत गरेका छन् । 

रिजालले लेखेका छन्, 'सन् ७० को दशकमा भारतमा जयप्रकाश नारायणले यस्तै गैरजिम्मेवार आह्वान गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाउने वातावरण बनेको इतिहास हाम्रो नजिकै छ ।' 

राजनीतिज्ञहरुले राजनीतिमाथिको नियन्त्रण गुमाएपछि मुद्दा अदालतमा विचाराधीन भएको भन्दै रिजालले अदालतले जे निर्णय गर्छ त्यो मान्नुपर्ने अवस्थामा रहेको बताए ।



राज्य महामारीसँग जुधिरहेका बेला सबै मिलेर सहयोग गर्नुपर्नेमा सहयोग नगर्न आह्वान गर्नुले राम्रो संकेत नगरेको नेता रिजालले बताए । उनले भने, 'देश चलाइसकेका नेताहरुले राज्य र सरकारबीचको फरक छुट्याउन नसक्नुलाई विडम्बना मान्नुपर्छ ।'



 

  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार ८:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया