सेनाले भन्यो : विपदमा खटिन केन्द्रको आदेश पर्खिरहनु पर्दैन

नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिरोको जोखिममा परेका नागरिकलाई उद्दार गरेको छ। मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक मेलम्ची क्षेत्रमा मंगलबारको भीषण वर्षापछि आएको बाढीपहिरोले ठूलो क्षति भएपछि सेना उद्दारमा होमिएको हो। 

त्यहाँ तैनाथ रणसुर गणले मनाङमा करीब तीनदेखि चार सय बाढी प्रभावित मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउने काम गरेको छ। बाढीमा अलपत्र परेकालाई उद्दार र सहयोग गरिको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए। 

‘सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी अलपत्र परेका चार जनाको सेनाको हेलिकोप्टरले उद्धार गरेको छ। बाढीबाट अप्ठेरोमा पर्न सक्ने मानिसलाई सुरक्षित स्थानमा लैजान र पुनर्वासका लागि अस्थायी सेल्टर निर्माण भइरहेको छ,’ उनले भने। 

भीषण वर्षापछिको पहिरोले मेलम्ची खोला थुनिएर बाढी आउँदा खोला किनारको बस्ती, माछा फार्म र मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति भएको छ। त्यस क्षेत्रका कयौँ घरगोठ, चौपाया बगाएको छ। माटासहितको बाक्लो लेदोले मेलम्ची बजार क्षेत्रका बस्ती र खेतीयोग्य जमीन पुरेको छ।

प्रभावित क्षेत्रबासीलाई तत्काल खाना र राहत उपलब्ध गराउने तथा पाललगायत अत्यावश्यक सामग्री ढुवानीमा पनि सेना संलग्न छ। नागरिकको सहयोगका लागि सेनाले स्थानीय प्रशासन, अरु सुरक्षा फौज र सरोकार निकायको समन्वय र सहकार्यमा काम गरिरहेको प्रवक्ता पौडेलले बताए। 

सैनिक मुख्यालयले प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको नेपालका ७७ वटै जिल्लाका इकाइलाई त्यहाँको जनशक्तिको एकतिहाइ फौज विपद् व्यवस्थापन र प्रतिकार्यमा खटिन तैनाथ राख्न निर्देशन दिएको छ। विपद् व्यवस्थापनका क्रममा कसैले पनि केन्द्रको आदेश पर्खनु नपर्ने बताउँदै उनले स्वतः परिचालन हुने गरी पूर्वनिर्देशन भइसकेको बताए।



यस वर्षको मनसुनको आगमनसँगै बाढीपहिरो लगायत प्राकृतिक प्रकोप र विपद्का घटनाको अनुमान गरी गृह मन्त्रालयसहितका सरोकार निकायसँगको समन्वय र सहकार्यमा जोखिम क्षेत्रको पहिचान गरिएको थियो। 

त्यसै आधारमा सेनालगायत सुरक्षा फौजले जनशक्ति परिचालनको व्यवस्थापन मिलाइसकेको छ। अघिल्लो वर्ष सेनाले विपद् व्यवस्थापन न्यूनीकरणका लागि प्रतिकार्यका विभिन्न अभ्यास गरेको थियो। 



विपद् प्रतिकार्यका लागि सञ्चालन गर्ने सन्दर्भमा सेनाका हवाई साधन पनि इटहरी, काठमाडौँ र सुर्खेतमा पूर्वतयारी अवस्थामा राखिएको जानकारी दिइएको छ। 

सेनाले उपलब्ध विभिन्न खाले २०० डुङ्गाको व्यवस्था गरेको छ। सेनाका चितवन र काठमाडौँ सुन्दरीजलमा विपद् व्यवस्थापन गण तैनाथ छन्। विभिन्न पृतनामा आवश्यक जनशक्ति त्यहाँबाट तत्काल खटिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ।

कोभिड-१९ प्रकोपको विद्यमान अवस्थालाई दृष्टिगत गरी सेनाले स्वास्थ्यका सवै मापदण्ड पूरा गरेर काम गर्नुपर्ने भएकाले सम्भव भएसम्म पालनामा पनि ध्यान पुर्‍याउने छ। 

सेनाका जनशक्तिमध्ये ५० हजारले पहिलो र २७ हजारले दोस्रो मात्रा खोप लगाइसकेका छन्। जनशक्ति खटाउँदा भरसक खोप लगाएकालाई प्राथमिकता दिने भएको छ।

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार २२:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया