बढाउनु पर्ने सामाजिक कि भौतिक दूरी ?

सन् २०१९ डिसेम्बरको अन्त्य-अन्त्यतिर चीनको बुहानबाट सुरु भएको कोरोना महामारीले विश्व भ्रमण गर्‍यो । बिस्तारै नेपाल पनि यसको चपेटामा पर्‍यो । कोरोना महामारीसँगै अगाडि आयो ‘सामाजिक दूरी कायम गरौं ।’

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएका कारण मानिस-मानिसबीच दूरी बढाउन भनिएको थियो । 

संक्रमित व्यक्तिको सम्पर्कमा रहँदा कोरोना भाइरस सर्ने भएकाले पनि भिडभाड र भेटघाट जोखिमपूर्ण छ । कोरोना भाइरसको जोखिम बढेसँगै विश्वव्यापी लकडाउनको अवधारणा अघि सारियो । नेपाल लगायत कोरोना भाइरस पुगेको सबैजसो देशमा लकडाउन गरियो । यो समय मानिसहरू जो जहाँ थिए त्यहीँ बसे । नेपालमा अहिले निषेधाज्ञा जारी छ । नेपालको निषेधाज्ञा मंगलबारबाट स्मार्ट बनिसकेको छ । 

अत्यावश्यक काममा लागि भने घर बाहिर निस्कन छुट छ । औषधी उपचारका लागि होस् वा किनमेलका लागि घरबाट निस्कनुपर्ने बाध्यता पनि छ । तर, यस्तो अवस्थामा पनि व्यक्तिबीच दूरी कायम राख्नुपर्ने हुन्छ । मानिसहरू मान्छेसँग दूरी कायम गरेर हिँडिरहेका छन् । बोलिरहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि कायम गरिएको भौतिक दूरीलाई आज पनि ‘सामाजिक दूरी’ भनिएको छ ।

जोखिममा परेका सबै देशका सरकारले होस् वा स्वास्थ्य विभागले, सेलिब्रेटीले होस् वा सरोकारवाला सबैले एउटै कुरा भनिरहेका छन्, ‘सामाजिक दूरी कायम राख्नुहोस् ।’

व्यक्ति-व्यक्तिबीचको दूरीलाई भौतिक भन्ने कि सामाजिक ? ‘सामाजिक’ भन्ने कुरा भौतिक नभई भावनात्मक हो । समाजिक भनेको समाजसँग मिल्नु र सामाजिक व्यवहार अपनाउनु भन्ने बुझिन्छ । यस्तो अवस्थामा ‘सामाजिक दूरी’ भनिरहँदा त्यसको दीर्घकालीन बुझाई र असर कस्तो हुँदै जाने हो ? यस तर्फ कसैको चासो दिएको देखिँदैन । 



कोरोना भाइरसको दोस्रो भेरियन्ट सकिनै लाग्दा पनि सामाजिक दूरीको ठाउँमा भौतिक दूरी भन्न सकिएको छैन ।

समाजशस्त्री कैलाशनाथ प्याकुरेल भन्छन्, ‘बुझाइमा खास फरक छैन । सामाजिक दूरी भनिए पनि मान्छेहरूले एकअर्काबाट भौतिक दूरी राख्ने भनेरै बुझिरहेका छन् ।’ तर, यस क्षणमा हामी सामाजिक रूपले टाढा वा दूरी बनाएर बस्नुभन्दा बरु नजिकिनुपर्ने उनको भनाइ छ ।



खासमा सामाजिक दूरी नभई शारीरिक दूरी बढाउनुपर्ने प्याकुरेलको भनाइ छ । उनी थप्छन्, ‘यतिबेला सामाजिक दूरी बढाउनुभन्दा पनि घटाउनुपर्ने अवस्था छ । यो विपतको क्षण हो । आपत-विपतमा एकले अर्कालाई साथ र सहयोग गर्नुपर्नेछ ।’ कसैको घरमा खानेकुरा सकिएको छ । कसैको घरमा खाना पकाउने ग्यास सकिएको छ । कसैको घरमा दुःख-बिराम बढेको छ । अर्कोतिर कोरोनाको डर पनि छ । सर्वसाधरणले आफ्नो काम गर्न पाइरहेका छैनन् । सबैमा आर्थिक समस्या पनि थपिँदैछ ।

एकातिर कोरोनाको भय, अर्कोतिर आर्थिक समस्याहरू, त्यसमाथि घरभित्रै बस्नुपर्ने बाध्यताले मान्छेलाई एक्लो र मनोरोगी बनाउन सक्छ । त्यसैले यस्तो अवस्थामा हामी छिमेकी, आफन्तहरू एकअर्कासँग भावनात्मक रूपमा अरू जोडिनुपर्ने उनको सुझाव छ । सामाजशास्त्री प्याकुरेल भन्छन्, ‘भिडियो च्याट गर्ने, फोन गर्ने र सकारात्मक कुरा गर्ने बानी बसाल्नुपर्छ ।’

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि शारीरिक रूपमा अलग हुनु जति आवश्यक छ, त्यति नै आवश्यक कतिपय सामाजिक गतिविधि नगर्नु पनि छ । भोज भतेर, भेला, पूजाआजा जस्ता भिडभाड हुने कार्यक्रमहरू यतिबेला बन्द गर्नुपर्छ । अर्कोतिर कोरोनाको संक्रमण हुने भयले छिमेकमा कोही बिरामी भएमा पनि हेर्न वा सहयोग गर्न जान सकेका छैनन् । आइसोलेसनमा मृत्यु भएका कतिपयको लास उठाउनेहरू समेत पाइएन ।

‘मान्छेहरूले दोस्रो व्यक्तिलाई भेट्दा डराउन थालिसकेका छन्’ समाजशास्त्री प्याकुरेल भन्छन्, ‘यो मनोवृत्ति सामान्य स्थिति भइसकेपछि कायम रहन सक्छ ।

एकआपसमा जोडिने, घुलमिल हुने यस्ता गतिविधिबाट अलग भएपछि पनि मान्छेहरूमा एकलकाँटे स्वभाव विकास हुनसक्ने मनोविदहरूको बुझाइ छ । मनोविद मोहन श्रेष्ठ भन्छन्, ‘परिवार, आफन्त, छिमेकीसँग अरू नजिक भएर बस्नुपर्छ । तर, भावनात्मक रूपमा । शारीरिक रूपमा भने सबैसँग दूरी बनाउनुपर्छ ।’ अहिले जसरी सर्वसाधरण घरभित्र बसेका छन् त्यसले कुनै न कुनै रूपमा मानसिक समस्या ल्याइरहेको उनको बुझाइ छ ।

  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १०:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया