दलित समुदायसँग मुद्दा मिलेपछि जुठे पुनः प्रसारणमा आउने

निषेधाज्ञा र दलित समुदायको कारण बन्द भएको टेलिसिरियल ‘जुठे’ पुनः प्रसारणमा आउने भएको छ । सिरियल माथि उठेका प्रश्न तथा गुनासाहरूलाई लिएर राष्ट्रिय दलित आयोगमा छलफल समेत भएको सिरियलका निर्देशक राजु पौडेलले बताएका छन् ।

पौडेलले फेसबुकमा लेख्छन्,  ‘हाम्रो कार्यक्रम जुठे माथि दलित समुदायबाट विभिन्न टिका टिप्पणी तथा गुनासा उठेपछि उक्त कुरालाई मध्यनजर गरी राष्ट्रिय दलित आयोगमा आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मासँगै अन्य माननीय र सचिव ज्युहरूसँग जुठेको विषयमा छलफल गरियो ।’

‘ छलफलकै क्रममा अध्यक्षज्युले भन्नु भो​,हजुरहरूले ६५ लाख दलितको आवाज बोकेर हिँड्नु भएको छ । यसलाई हामी सम्मान गर्नेछौँ र आउँदो दिनमा अहिले भएका कमी कमजोरीलाई सुधार्दै समाज रुपान्तरणमा दलित समुदायले खेलेको भूमिकालाई सकारात्मक ढंगले प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । सल्लाह, सुझावको लागि राष्ट्रिय दलित आयोगप्रति हामी निकै आभारी छौँ’,उनले थपे । 

उनले छलफल सकारात्मक भएको बताउँदै छलफलका क्रममा समाजमा रहेका विभेदलाई हटाउन ‘जुठे’ सिरियलले सकारात्मक भूमिका खेलोस् भन्ने चाहना छलफलमा सहभागीहरूको रहेको जानकारी दिए ।

सिरियलमा दलित पात्रलाई बिचरा बनाएर प्रस्तुत गरेको भन्दै अधिकारकर्मीहरूले विरोध गरेका थिए । उनीहरूले टेलिसिरियल बन्द गर्नुपर्ने माग राखेका थिए ।

राजु पौडेल र मरिचमान श्रेष्ठको सयुक्त लेखन तथा निर्देशन रहेको  सिरियलमा रवि गिरी, विद्या कार्की,  रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।



योगेश काजीको संगीत रहेको श्रृंखलामा राहुल राई र घनश्याम पोखरेलको छायांकन र रविन भट्टको सम्पादन रहेको छ । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रूपमा प्रस्तुत गर्दै आएको छ । अब सिरियल असार १६ गतेबाट पुनः प्रसारणमा आउने भएको छ ।



  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १३:४६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया