Thu, 13 Aug, 2020


किन बढिरहेको छ विदेश पढ्न जानेको संख्या ?
फरकधार / असोज ९, २०७५

काठमाडौं– केही वर्ष यतादेखि उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या डरलाग्दो तरिकाले बढिरहेको तथ्यांकले देखाएको छ । पछिल्ला दिनमा शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाामा दिनको ३ सयको हाराहरीमा पढ्न जानका लागि विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका मन्त्रालयले जनाएको छ । 



पछिल्लो तीन वर्षका बीचमा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या वृद्धि भएको देखिन्छ । विदेश जाने विद्यार्थीको संख्या विगत सात वर्षदेखि निरन्तर तीव्र रूपमा वृद्धि भइरहेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा शिक्षा मन्त्रालयबाट प्राप्त भएको तथ्यांक हेर्दा ५० हजार ६ सय ५९ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । तर, आर्थिक वर्ष २०७४/०७५ मा यो संख्या बढेर ५८ हजार ७ सय ५८ जना पुगेको छ । अहिलेसम्मको विवरणलाई हेर्दा पढ्न जानेहरूका लागि यो विवरण नै अधिक रहेको छ । 

शिक्षा मन्त्रालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७२/०७३ मा ३२ हजार ४ सय ८९ जनाले अध्ययनका लागि मन्त्रालयबाट अनुमति लिएका थिए भने २०७१÷०७२ मा यो संख्या ३० हजार ६ सय ९६ रहेको थियो । 

त्यसैगरी, आर्थिक वर्ष २०७०/०७१ मा २८ हजार १ सय २६, आव २०६९/०७० मा १६ हजार ५ सय ४, आव २०६८/०६९ मा १० हजार ३ सय २४ ले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । 

तर, आर्थिक वर्ष २०६७/०६८ को तथ्यांक हेर्दा ११ हजार ९ सय ८२ जनाले वैदेशिक अध्ययनका लागि शिक्षा मन्त्रालयबाट अनुमति लिएका थिए । तर, यो संख्या क्रमशः बढ्दै गएको छ । मन्त्रालयका अनुसार अहिलेको अनुपातमा ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या वृद्धि भइरहेको छ । 

यसरी देशका बौद्धिक वर्ग अध्ययन गर्ने बहानामा विदेश जाने तर नफर्कने प्रवृत्तिले गर्दा नेपालको शिक्षा क्षेत्रमा केही हदसम्म असर परेको देख्न सकिन्छ । पछिल्लो समय प्लस टु सक्नेबित्तिकै उच्च अध्ययनका लागि विदेश जाने फेसनजस्तै बनेको छ । 

सरकारी र निजी क्षेत्रमा नेपालको शिक्षामा ठूलो लगानी भए पनि विद्यार्थीको वैदेशिक अध्ययनमोहमा भने कमी आउन सकेको छैन । वैदेशिक अध्ययनका लागि जानेहरूले विषयअनुसार र बसोवाससहित कम्तीमा पनि १५ देखि २० लाखसम्म खर्च गर्ने गरेका छन् । 

पछिल्लो समय उच्च वर्गमा मात्र नभई मध्यमवर्गीय परिवारमा पनि विदेश पढ्न जाने लहर बढेको छ । विदेश पढ्न जाने लहर बढेसँगै नेपालबाट ठूलो रकम पनि बाहिरिइरहेको छ । 

नेपाली शिक्षा प्रणालीले अहिले न अभिभावकको विश्वास जितेको छ न त विद्यार्थीको नै । भर्खर पढ्दै गरेका युवायुवतीमा यस्तो छाप परेसँगै देशमा भएका बौद्धिक जनशक्ति पनि बाहिएको छ । 

विदेश पढ्न जाने उमेरमा १७ देखि २५ वर्षसम्मका युवायुवती बढी रहेको शिक्षा मन्त्रालयले जनाएको छ । साउनदेखि भदौ २ गतेसम्मको तथ्यांकलाई हेर्न हो भने ११ हजार ८ सय ९७ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेश पढ्न जाने अनुमति लिइसकेका छन् । 

त्यसमध्ये आधाभन्दा बढीको रोजाइ अस्ट्रेलिया बन्न पुगेको छ । गत साउन महिनादेखि भदौ २ सम्मको विवरण हेर्दा ५ हजार ६ सय २० जनाले अनुमति लिइसकेका छन् । त्यसैगरी, दोस्रो नम्बरमा जापान परेको छ । जहाँ २ हजार ३ सय ६० विद्यार्थीले अनुमति लिइसकेका छन् । 

मन्त्रालयका अनुसार ७२ वटा देशका लागि अनुमति दिइएको छ । मन्त्रालयको तथ्यांकअनुसार कक्षा १२ पढाइपछि विदेशिने विद्यार्थीको संख्या बढी रहेको छ ।

 

अस्ट्रेलिया र जापानमा लहर 

आर्थिक वर्ष २०७४/०७५ को तंथ्याकलाई हेर्दा नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा अस्टे«लिया देखिएको छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार पहिलो रोजाइमा जापान थियो । आर्थिक वर्ष २०७४/०७५ मा ३२ हजार २ सय १२ जना विद्यार्थीले अस्ट्रेलिया जानका लागि मन्त्रालयबाट अनुमतिपत्र लिएका छन् । त्यसैगरी, जापानका लागि १० हजार ३ सय ६६ जनाले अनुमति लिएका छन् । 

 

११ करोड राजस्व सकंलन 

आर्थिक वर्ष २०७४/०७५ मा विदेश अध्ययन गर्न चाहने विद्यार्थीबाट नेपाल सरकारले एक वर्षमा ११ करोडभन्दा बढी राजस्व उठाएको छ । ५८ हजार ७ सय ५८ जना विद्यार्थीबाट प्रतिविद्यार्थी २ हजार उठाउँदा गत आर्थिक वर्षमा ११ करोड ७५ लाख १६ हजार राजस्व उठेको छ । 

 

एक जना मात्र विद्यार्थी गएका ६ देश 

गत आर्थिक वर्ष २०७४/०७५ को विवरण हेर्दा ६ देशमा अध्ययन गर्नका लागि एक–एकजना विद्याथीले ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । ती देशहरूमा रोमानिया, भियतनाम, आइसल्यान्ड, माल्दिभ्स, बहराइन, स्कटल्यान्ड हुन् । 

 

किन बढ्दै छन् विदेश जाने विद्यार्थी ?

शिक्षा मन्त्रालयका उपसचिव देवीप्रसाद पौडेलका अनुसार दैनिकजसो तीन सयको हराहारीमा नो अब्जेक्सन लेटर अनुमति लिन आउने विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।
उपसचिव पौडेलका अनुसार नेपालका विद्यार्थी विदेश पढ्न जाने क्रम बढ्नु कारणबारे शिक्षा मन्त्रालयबाट कुनै अध्ययन भएको छैन । विद्यार्थीमा विदेश अध्ययनमा जानुको मुख्यत यी कारण हुन सक्छन्– 

१. विदेशमा गएर उच्च शिक्षा हासिल गरेमा अन्तर्राष्ट्रिय श्रमबजारमा बिक्ने अपेक्षा ।

२. विदेशमा गएर पढ्दै, कमाउँदै केही खर्च बचाउने मानसिकता ।

३. नेपालको शिक्षा प्रणाली कमजोर हँुदै जानु ।

 

विद्यार्थीमा पढ्ने भन्दा कमाउने लोभ 

अहिलेसम्म विदेश गएका अधिकांश विद्यार्थी उच्च शिक्षा हासिल गर्न भनेर गएका छैनन् । नेपालमा रहेका शैक्षिक परामर्शदातृ संस्थाको तथ्यांकअनुसार उच्च अध्ययन गर्न भनेर विदेश गएका विद्यार्थीमध्ये ३० प्रतिशत मात्र साँच्चिकै पढ्न जाने गरेका छन् । 

विकसित देशहरूमा अध्ययन गरिरहेका विद्याथीले साताको केही निश्चित समय मात्र काम गर्न पाउँछन् । बिदाको समयमा पूरा काम गर्न पाउँछन् । यसले गर्दा पनि विद्यार्थीले आर्थिक उपार्जन गर्न सक्छन् । मुख्य रोजाइको देश अस्ट्रेलियालाई हेर्ने हो भने अस्ट्रेलियामा तीन वर्ष स्नातक र दुई वर्ष स्नातकोत्तर उत्तीर्ण गरेपछि राम्रो काम पाइन्छ । जुन समयमा विद्यार्थीले राम्रो आर्थिक उपार्जन गर्न सक्छन् ।

अस्ट्रेलियामा अध्ययनपछि दुई वर्षसम्म पोस्ट स्टडी वर्क गनुपर्ने र पिआरसमेत सहज व्यवस्था हुने भएकाले विद्यार्थीको रोजाइ बढ्दै गएको शैक्षिक परामर्श दातृ व्यवसायी संस्थाले बताउँदै आएका छन् । 

 

नेपाली विद्यार्थीमा नयाँ गतव्यमा परेका देशहरू 

आर्थिक वर्ष २०७४/०७५ को मन्त्रालयको विवरणअनुसार युनाइटेड अबर इमिरेट्स, हंगेरी, थाइल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, मलेसिया, फिनल्यान्ड, रसिया, स्पेन, नर्वे, मौरिसस, बहराइनजस्ता देशमा सयौं नेपाली विद्यार्थी अध्ययनका लागि गएका छन् । 

इस्टोनिया, लात्भिया, जर्जिया, नेदरल्यान्ड्स, स्विडेन, इटाली, ओमन, अयरल्यान्ड, स्लोभानिया, कतार, पाकिस्तान, साउथ अफ्रिका, बेल्जियम, किर्गिस्तान, बेल्जियम, स्विटजरल्यान्ड, सिंगापुर, टर्की, साउदी अरेबिया, लिथेयोनिया, इजिप्टजस्ता देशमा पनि नेपाली विद्यार्थी अध्ययनका लागि पुगेका छन् । 

त्यसैगरी, उत्तरको रिया, अस्ट्रिया, पोर्चुगल, अर्मानिया, श्रीलंका, बेलारुस, ग्रिस, इजरायल, क्रोएसिया, इन्डोनेसिया, बोस्निया हर्जगोभिना, ताइवान, माल्भिसजस्ता मुलुकमा पनि नेपाली विद्यार्थी पुगिरहेको मन्त्रालयले जनाएको छ ।

 

यसकारण बढ्दै छ विदेश जाने लहर

 

विदेश गएका ३० प्रतिशतले मात्र अध्ययन गर्छन्

प्रा.डा विद्यानाथ कोइराला, शिक्षविद्प्रा.डा विद्यानाथ कोइराला, शिक्षविद्

शिक्षा मन्त्रालयबाट अनुमति लिएर विदेश गएका विद्यार्थी पढ्न गएका हो कि होइन भन्ने प्रश्नलाई अध्ययन गनुपर्छ । अहिलेसम्मको तथ्यांकअनुसार पढ्न भनेर गएका विद्यार्थीमध्ये ३० प्रतिशतले मात्र अध्ययन गर्ने गरेको पाइएको छ ।

सामान्यतया नेपाली विद्यार्थीले अध्ययनका लागि विदेशमा सामुदायिक कलेज नै रोज्ने गरेका छन् । ती कलेजमा कुनै विषयमा भर्ना गरेपछि वर्षौं लगाएर पनि पढ्न पाइने गरेको छ । त्यसमा पनि अहिले नेपालबाट गएका विद्यार्थीको मनसाय पैसा कमाउने देखिन्छ । 

नेपालमा धेरै राम्रो गर्न सकिन्छ भन्ने आशा राजानीतिक नेतृत्वले जगाउन नसकेकाले पनि विद्यार्थी बिदेसिन बाध्य भएका हुन् । त्यसैगरी, अहिलेका केटाकेटीमा अभिभावकसँग टाढा हुने मनोवृत्ति बढेको छ । 

अहिलेका विद्यार्थीको पढ्ने चाहना धेरै विविधता भएर गएको छ । त्यसमा पनि नेपालको शिक्षा प्रणाली असाध्यै पुरानो छ । त्यसैले पुरानो ढंगमा चलेका कलेज र नयाँ ढंगको चाहनाले पनि बाहिरिने विद्यार्थीको जमात बढ्दै छ । 

 

देशबाट विलय हुने मनोवृत्ति बढेको छ


प्रा. केदारभक्त माथेमा, शिक्षाविद्

पढाइको नाममा पैसा कमाउन जाने विद्यार्थी बढी रहेको देख्न सकिन्छ । पछिल्लो चरणमा विद्यार्थीमा पढाइका लागि भन्दा पनि जागिर, काम, देशबाट विलय हुने खालको मनोवृत्ति बढेको छ । उनीहरू विदेशमा पढ्न जाने मात्र उद्देश्य बोकेर गएका छैनन् । 

अहिलेका विद्यार्थीमा नेपालमा केही सम्भावना नदेखेको र विदेश गएपछि केही परिवर्तन हुन्छ कि भन्ने धारणा छ । त्यसमा पनि नेपालको शिक्षा प्रणाली खस्किँदै गएको छाप परेका कारण विदेश नै रोज्ने बाह्य भएका छन् । 

विद्यार्थीलाई वैदेशिक अध्ययनमा जानबाट रोक्न लागि सार्वजनिक कलेज र विश्वविद्यालयको शिक्षा प्रणाली सुधार गर्न आवश्यक छ । त्यसका लागि राजनीतिक हस्तक्षेप पनि बन्द हुनुपर्दछ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्