टीकापुरमा २४ घण्टादेखि ३ वर्षे नाबालक बेपत्ता
२१ असार सोमबार बिहान ११ बजेदेखि हराएका विवेक विष्ट ।

कैलालीको टीकापुर नगरपालिका-१ का तीन वर्षे एक नाबालक २४ घण्टादेखि हराइरहेका छन् । सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षे छोरा विवेक विष्ट २४ घण्टादेखि हराएका हुन् ।

उनका आफन्त बमबहादुर विष्टका अनुसार दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा आफन्तको घर गएपछि बालककी आमाले त्यहाँ जाँदा विवेक त्यहाँ नगएको थाहा भएपछि आफन्तले खोजी तिब्र पारेका थिए ।

इलाका प्रहरी कार्यालय टीकापुरमा बालकको खोजीका लागि आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्तले आरोप लगाएका छन् । ‘करिब १ बजेको समयमा प्रहरीलाई खबर गरेका थियौं, दुई जना प्रहरीलाई मात्रै खटाए’, विष्टले भने, ‘साँझ साढे ५ बजे आफैं प्रहरी कार्यालयमा पुगेर डिएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको हो ।’

नाटकीय रूपमा नाबालक हराएपछि खोजी कार्यका लागि भन्दै गए रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी टीकापुरमा खटिएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले नाबालकको अवस्थाबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । उनले भने, ‘एसपी साप समेत यहीँ हुनुहुन्छ, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।’

घर नजिकबाटै दिनदहाडै नाबालक नाटकीय रूपमा हराएपछि यस क्षेत्रका बालबालिका तथा अभिभावकमा त्रास फैलिएको छ ।





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १६:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया