हरि बाले झन्डै अँठ्याएनन्

हरे ! यो साउने बिदा कहिले सकिएला ? बाख्राको दाम्लो फुकाउँदै ऊ बर्बरायो । साउने बिदा सकिन अझै १० दिन बाँकी थियो । अझै १० दिन बाख्रा चराउन लैजानुपर्छ । त्यो पनि चटारे बजार हुँदै बाँझाबारीमा । 

हे भगवान् चाँडै सकियोस् यो बिदा ! उसलाई बिदासँग उति डर थिएन जति डर थियो हरि बाजेसँग । बिदामा त कति आनन्द हुन्छ कति ! स्कुल जान नपर्ने । तर गृहकार्य भने खुब दिन्थे स्कुलमा सरहरूले । सुरुका केही दिन त उसले जाँगर चलाएर कलम चलाउँथ्यो । तर बिस्तारै छाड्थ्यो । 

जाँगर चल्न छाड्नुको पछाडि सुरुका दिनमा सरले गृहकार्य परीक्षण गरे पनि दोस्रो दिनबाट भने कोर्स अगाडि दौडाउन हतार हुन्थ्यो । ऊ भने सुरुको दिनमा कापी ल्याउन भुलेको बहाना बनाउँथ्यो । उसको बहाना सरहरूका लागि साँचो हुन्थ्यो । किनकि, ऊ स्कुलमा इमानदार विद्यार्थी थियो । गुरुहरूका लागि ऊ आँखाको नानी थियो । 

कति आनन्द छ बर्खामासमा ? केही कुराको फिक्री छैन । उसो त बच्चा बेलामा केको फिक्री हुन्छ र ? तर उसलाई बर्खामास निकै मन पर्थ्याे । खाना खायो, बाख्रा चराउन गयो । जंगलमा सल्लाका रूखमा चढ्यो; सल्लाको रूखको टुप्पामा पुगी सल्लो नुगायो । बेला-बेलामा यसो गर्दा सल्लाको टुप्पो भाँचिन्थ्यो । टुप्पो भाचिँदा ऊ दुःखी हुन्थ्यो । प्रकृतिप्रेमी थियो ऊ । 

गोजीभरि भुटेका मकै । मकैमा हल्का नुनखुर्सानी दलिएको हुन्थ्यो । मकै खाँदै बाख्रा हेर्दै वर्षा बित्थ्यो । मकै सकिएपछि जंगली कन्दमुल खोज्न थाल्थ्यो । कन्दमुल खोज्ने कामपछि भने ऊ नजानिकन पनि गीत गाउन थाल्थ्यो । सिमल खोली बग्यो कलकली...।

वर्षामासमा खास डर हरि बाजेसँग थियो । चटारे बजार हुँदै उसले बाख्रा चराउन लैजानुपथ्र्यो । उसो त घर नजिक पनि चरनक्षेत्र नभएको होइन । तर साथीहरूसँग चराउनुको मजा छुट्टै हुन्छ । बाटोमा कतै हरि बाजे भेटिने हुन् कि भन्ने डर चटारे बजार सुरु भएपछि उसलाई लाग्न थाल्थ्यो । 



चटारे बजार त्यस्तो ठूलो त थिएन । जम्मा १५ वटा पसल थिए । त्यही १५ वटा पसल भएको ठाउँलाई चटारे बजार भनिन्थ्यो ।  गजेबाको गजा सारै मसहुर छ चटारे बजारमा । गजा पकाउने भएर नै बाजेको नाम गजेबा राखिएको थियो । गाउँका मानिस नुनतेल सकियो भने त्यहीँ आएर किन्ने गर्थे । बजार किराना, होटेल, इलेक्ट्रिक पसल र लत्ताकपडा पसलले भरिएको थियो । 

३-४ महिना अघि हरि बाजेसँग भेट हुँदा उसलाई उति डर लाग्दैनथ्यो । बाजेले खुसुक्क बोलाएर कहिले २० रुपैयाँ त कहिले ५० रुपैयाँ हातमा राखिदिन्थे । उसको साथमा दुई रुपैयाँ हुँदैनथ्यो । त्यो बेलामा दुई रुपैयाँ साथमा हुनु पनि ठूलै कुरो पाएजस्तो अनुभूति हुन्थ्यो । हरि बाजेको मायाले ऊ खुसी थियो । तर उसले किन बाजेले पैसा दिए भन्नेतिर सोच्न कहिल्यै सकेन । बाजेले पैसा दिइरहे, उसले पैसा लिइरह्यो, ऊ खुसी भइरह्यो । 



चटारे बजार सकिएपछि यौटा घुम्ती आउँथ्यो । त्यो घुम्तीमाथि एउटा विद्यालय थियो । एक दिन बाजेले उसलाई एकान्तमा बोलाएर उसको जाँघको भागमा मुसार्न थाले । बिस्तारै बाजेका हात जाँघेको टाँकमा पर्न थाल्यो । उसले बाजेको बहुपाशबाट उम्कन निकै प्रयास गर्यो । तर सकेन । केही पल बितेपछि मान्छेको आवाज सुनियो र बाजेले उसलाई छाडिदिए । बाजेको क्रियाकलापले ऊ अचम्मित थियो । आखिर बाजेले किन यसो गर्छन् ? त्यो बालमस्तिष्कले बुझ्न सकेन ।

उसलाई वर्षाको बेलामा बारम्बार लाग्ने डर यही नै थियो । फेरि कतै उही डर दोहिरिने हो कि ? साउने बिदा चाँडै सकियो भने त आनन्दै हुन्थ्यो । पढ्न गाह्रो भए पनि बाजेको आतंक त छाउने थिएन ।

वर्षा पनि सकियो । वर्षा सकिएलगत्तै हरि बाको आतंक पनि सकियो । स्कुल जाने बेलामा बेलाबेलामा बा देखा परे पनि बाले पहिलाजस्तो व्यवहार गर्न छाडे । बिस्तारै बाको आतंक उसको दिमागबाट हराउँदै गयो । ऊ निर्धक्क बासँग कुराकानी गर्न समेत सक्ने भयो । 

समय बित्दै गयो, उसले स्कुलका पढाइ छाड्यो । उच्च शिक्षाका लागि सहर पस्यो । सहर पसे पनि उसले हरि बाका अनेकन किस्सा सुनिरहन्थ्यो । किस्सा एकसे एक थिए । कुनै पत्यारलाग्दा त कुनै नलाग्दा । उसलाई भने हरि बा अनौठा लाग्थे । 

उसका साथीहरू हरि बा भनेपछि मरिहत्ते हुन्थे । मरिहत्ते हुनुको कारण गरिबी नै थियो । गरिबी यस कारणमा थिएन कि उनीहरूले पेटभरि खान पाउँदैनथिए । गरिबी त गोजीको मानेमा मात्र थियो । साथी मरिहत्ते हुने कारण उसले पछि बल्ल बुझ्यो । 

बाकी एउटी छोरी थिइन् । अनुहार पनि राम्रै भएकी । ती दिदी सबैलाई सामान्य लाग्थिन् । तर उसको समूहका लागि भने रहस्यमय थिइन् । अनेकन रहस्य सुन्दै एक दशक बितिजान्छ । तर रहस्यबारे ऊ बुझ्न भने सक्दैनथ्यो । अथवा भनूँ न ऊ रहस्यमै हरायो, रहस्य केलाउन थालेन । 

ऊ सहरमै भविष्य खोज्न व्यस्त थियो । सहरका भीडमा हराउँदै थियो ।  सहर बुझ्दैथियो । ऊ सहर छाड्न सक्दैनथ्यो । तर सहर उसलाई मन पर्दैनथ्यो । ऊ समग्रमा विरोधाभास जीवन बाँचिरहेको थियो । 

एक दशकको बीचमा ऊ सहर-गाउँ गरिरह्यो । गाउँमा अनेकन परिवर्तन भए । ऊ आफै पनि त परिवर्तन भयो । गाउँमा जति परिवर्तन भए पनि चाहिने कुरामा परिवर्तन नदेख्दा ऊ दुखी हुन्थ्यो । तर यसबारे ऊ कसैलाई केही भन्न सक्दैनथ्यो । मनमै कुरा खेलाउँथ्यो । ऊ गाउँका नवयुवामा विद्रोही चेत नभएको भन्दै निराश हुन्थ्यो । उसका लागि गाउँका ठिटाहरू ढुंगे युगमा भएजस्तो लाग्थ्यो । 

ऊ गाउँमा गएको बेला बाँझाबारीमा सधैं जान्थ्यो । त्यो बाँझाबारी जहाँ उसको बालापन जोडिएको थियो । उसले नुगाउने सल्लाहरू अजंगका पाउँदा ऊ रोमान्चित हुन्थ्यो । उसले रूखलाई अँगालो हाल्थ्यो । रूखहरूलाई देखेर ऊ मुस्कुराउँथ्यो । ऊ जवानीको आँखाले विगत देख्न चाहन्थ्यो । तर यो कसरी सम्भव थियो र !

सधैंको दसैंमा घर गएझैं गत सालमा पनि ऊ घर गयो । घरै गएको भोलिपल्ट उसले हरि बा सिकिस्त बिरामी भएको खबर सुन्यो । ऊ अनि उसका साथी मिलेर बालाई भेट्ने निधो गरे । 

बा त सिकिस्त पो रहेछन् । बाको आँगनमा ५० जनाजतिको घुइँचो थियो । बालाई अक्सिजन दिइएको थियो । बाका गोडा सुन्निएका थिए । रहस्यमय छोरी बालाई पानी खुवाउँदै थिइन् । आमा भने गोडा मिच्दै थिइन् । 

कसैले उसलाई बा अब नरहने, डाक्टरले माया मारेर घर पठाएको सुनायो । उसको दिमागमा बाप्रति निकै माया पलायो । पहिला ऊ कसरी घृणा अनि अद्भूत नजरले हेर्थ्याे । त्यो नजर बदलियो । हुन त मरिरहेको मानिसलाई देखेर कसैले पनि ठिक्क पर्यो भन्न सक्दैन होला । जति रिस, घृणा रहेपनि जीवनको अन्तिम समयमा भने मानिसको स्वभावमा परिवर्तन हुने रहेछ । 

बाको हालत उसले देख्न सकेन । उसले साथीहरूलाई छाडी आफ्नो घरतिरको बाटो तेर्सायो । ऊ जति हिँड्थ्यो त्यति नै उसका पाइला गह्रौं हुन्थे । जब ऊ पछि एक दुई कदम फर्किन्थ्यो तब उसका पाइला हलुका हुन्थे । उसको एक मनले फर्केर फेरि बालाई हेर्न जा भन्यो । ऊ भने पछाडि फर्केर कमजोर हुन चाहन्नथ्यो । यस कुरामा ऊ जिद्दी थियो । पाइला अगाडि बढाइरह्यो । बाटोभरि हरि बा नै छाइरहे । 

रातभरि ऊ सोचमग्न रह्यो, सुत्न सकेन । बिहान ४ बजेतिर बल्ल आँखा लाग्यो । बिहान ७ नबज्दै परबाट शंखको आवाजसहित जिप आयो । शंखको आवाज सुन्नेबित्तिकै उसको मनमा शंका पस्यो । ऊ जुरुक्क उठेर बाटोको छेउमा गयो । बाटोको छेउमा मानिस जम्मा भइसकेका रहेछन् । सबैले हरि बा उमेरमै गए भन्दै थिए । 

शंख बजाउँदै गाडी नजिक आयो । हो, साँच्चै रहेछ । हरि बा रहेनन् । हरि बा चीरनिद्रामा थिए । उसले हरि बालाई अन्तिम पटक बिदाइ गर्यो । 

छेउमा पल्लाघरे कमली काकी थिइन् । उनले भनिन्, ‘विचरा बालाई अब कसले दागबत्ती देला ? दागबत्तीका लागि भए पनि एउटा छोरा ईश्वरले दिएको भए के जान्थ्यो र ? दैव निष्ठुरी !’

‘भकी यौटी छोरी त अर्कैको हो भन्छन्, तिमी छोराको कुरा गर्छौ ?’ ध्वाँसे काकाले कमला काकीकाे प्रश्नमा प्रतिप्रश्न गरे । 

काकाको कुराले ऊ रनभुल्लमा पर्‍याे । उक्त रहस्य उसले एक दशकसम्म पनि खोतल्न सकेको थिएन । 


 

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १०:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया