कैलाली घटना : उमेर नपुगी भएको अन्तरजातीय विवाह मुख्य कारण

सुदूरपश्चिम प्रदेश जहाँ जातीय छुवाछूत कायम रहेको छ । जातीय छुवाछूत भनेपछि अझै पनि छोइछिटो हाल्ने प्रचलन रहेको छ । विवाह त परकै कुरा हो । एक अर्को घरको पानी समेत खाँदैनन् । 

सुदूरपश्चिमका पहाडी जिल्लामा मात्र नभएर सुगम जिल्ला कैलाली र कञ्चनपुरमा नै छुवाछूत प्रथा कायम रहेको छ । छुवाछुत मात्रै होइन, दलित समुदायहरुले कोठा नपाएको कुरा संघीय राजधानीदेखि मुलुकका विभिन्न सहरमा व्याप्त गुनासो आउने गरेका छन् ।

पहाडी जिल्लामा अलग–अलग समुदाय बनाएर बसेका विभिन्न जातीहरु सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा मिसिएर बसेका छन् । चाहेर या नचाहेर पनि समुदायहरु एक ठाउँमा बसिरहेका हुन् । मिसिएर बसेको समाजले गर्दा होला पछिल्लो समय दलित गैरदलितबीच हुने प्रेम विवाहले समस्या निम्त्याउने गरेको देखिएको छ । सुरुमा प्रेम विवाह भएपछि अन्तिममा आएर उमेरसँग ठोकिने गरेको छ ।

शुक्रबार कैलालीको एक प्रेमी जोडीले आफूलाई मार्ने धम्की आएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भयो । त्यसले गर्दा धेरैको ध्यान त्यहाँ केन्द्रित भयो । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका भनिएको कैलालीको भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र टीकापुरका मालती रावल आफूलाई बचाउन आग्रह गरेको भिडियो बाहिरिएको हो ।

सेल्फी भिडियो बनाएर उनीहरुले एकै आवाजमा भनेका छन्, ‘हामी अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा बसिरहेका छौँ । हामीलाई मार्ने धम्की दिइरहेका छन् । हामीलाई बचाउनुहोस् ।’ 

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि दुवै प्रहरीको सम्पर्कमा आएका छन् । इलाका प्रहरी कार्यालय भजनीमा प्रकाश सम्पर्कमा आएका हुन् भने मालती धनगढी प्रहरीको सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ । 



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले दुवै जना सम्पर्कमा आएको र दुवै जना सुरक्षित रहेको जानकारी दिए । प्रहरीसँगको सोधपुछमा प्रकाशले आफूहरु जंगलमा नबसेको र बुटवलबाट फर्किदा जंगलमा भिडियो रेकर्ड गरेर पोस्ट गरेको बताएको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।

किशोरले प्रहरीमा ४ गतेदेखि २३ गतेसम्म आफूहरू बुटवल बसेको बयान दिएका छन् । मालतीको परिवारका सदस्यले स्वीकार गर्लान् भनेर बुटवलबाट फर्किँदा एउटा जंगलमा भिडियो बनाएका हौँ, प्रकाशलाई उद्धृत गर्दै अधिकारीले भने, ‘घर फर्किएपछि किशोरीका आफन्तले थाहा पाएको र किशोरको घरबाट किशोरीलाई लगेका रहेछन् ।’



किशोरीकी दिदीले भने जातका कारण नभएर उमेरका कारण बहिनीलाई फिर्ता ल्याइएको बताएकी छन् । मालतीको उमेर १७ वर्ष भएकाले फिर्ता ल्याएर प्रहरीलाई बुझाएको उनको भनाइ छ । अन्तरजातीय विवाहका कारण हामीले मालतीलाई फिर्ता ल्याएका होइनौँ । अन्तरजातीय विवाहको विरोध गरेका पनि होइनौँ, किशोरीकी दिदीले भनिन्, ‘उमेर नपुगी भएको विवाहको विरोध गरेका हौँ ।’ 

भागेर विवाह गरेको भनेका केटाकेटीको बिहे गर्ने उमेरसमेत पुगेका छैन । प्रहरीका अनुसार केटाको उमेर १९ वर्ष हो भने केटीको त्योभन्दा पनि कम छ । विवाह गर्ने जोडीको उमेर २० वर्षभन्दा माथि हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । धेरैको भनाइ यो अवस्थामा जात मिल्दो विवाह भएको भए समाजले अलग्याउने थिएनन् भन्ने रहेको छ ।

युवकले भने विभिन्न सञ्चारमाध्यमसँग आफूहरुको विवाह भइसकेको अवस्थामा २५/३० जना आएर मालतीलाई लगेको बताएका थिए ।

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १२:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया