चन्द्रमामा होटल !

सपना देख्न उमेरले छेक्छ र ! अहँ छेक्दैन । यसको प्रमाण हुन्, ७० वर्षीय अर्बपति व्यापारी रिचर्ड ब्रानसन । उनले एक नयाँ सपना देखेको छन्- चन्द्रमामा एउटा होटल खोल्ने । अन्तरिक्ष यात्रामा भने उनले इतिहास रचिसकेका छन् ।

अन्तरिक्षमा पर्यटनलाई बढावा दिने कार्यमा उनले सफलता हात पार्दै आएका छन् । अर्बपति अन्तरिक्ष यात्री ब्रानसनले आगामी दिनमा आफ्ना ग्राहकलाई स्पेसमा यात्राका क्रममा थुप्रै सहुलियत दिने घोषणा पनि गरेका छन् । स्पेस यात्रामा जानका लागि उनको कम्पनी भर्जिन ग्यालेक्टिकबाट लिइने टिकट खर्चमा पनि कमी आउने उनको भनाइ छ । हालै उनले गरेको अन्तरिक्ष यात्राको एक टिकटको मूल्य साढे दुई लाख अमेरिकी डलर रहेको थियो ।

भर्जिन ग्यालेक्टिकको उद्देश्य अब स्पेसको सीमासम्म मात्रै नभई त्योभन्दा उचाइँसम्म जाने र धेरै बेर उडान भर्न सक्ने बनाउने रहेको छ । ब्रानसन आफ्नो सपनाबारे भन्छन्, ‘के म एकदिन चन्द्रमामा होटल बनाउने सपना पूरा गर्न नसकुँला र ! मैले देखेको सपनामा यो काम गर्ने जिम्मा छोराछोरीलाई दिने छु र हेर्नेछु के गर्ने छन् ।’

उनले आफ्नो जीवन बाँकी रहेका खण्डमा चन्द्रमामा होटल बनाइछाड्ने र सपना पूरा गर्ने अठोट गरेका छन् । उनले आफूले गरेको अन्तरिक्ष यात्राबाट स्पेस टुरिज्म विकास हुने विश्वास पनि गरे ।

भर्जिनका मालिक ब्रानसनले अबका दिनमा स्पेस प्लेन र रकेट अझै बढी उपलब्ध हुने र टिकट खर्च घट्दै जाने आशा गरे । भर्जिनका प्रमुख कार्यकारी माइकल कोल्गलेजिअरले एक दिन कम्पनीले प्रत्येक वर्ष ४०० अन्तरिक्ष उडान सञ्चालन गर्ने दाबी गरे । 

ब्रानसनले आफ्नो ट्विटरमा अन्तरिक्ष यात्राको तस्वीर समेत सार्वजनिक गरेका थिए । उनले त्यसमा लेखेको थिए, ‘स्पेस युगको नयाँ बिहानीमा तपाईंलाई स्वागत छ ।’



संसारका थुप्रै अर्बपति व्यापारीले अन्तरिक्ष यात्रा गर्न चाहिरहेका थिए । तर ब्रानसनले यसमा बाजी मारे । यससँगै स्पेस एक्सप्लोरेसनका साथै प्राइभेट स्पेस ट्राभलको नयाँ युगसमेत सुरु भएको देखिएको छ ।

उसो त, केही दिनपछि नै अमेजनका मालिक जेफ बेजोस पनि अन्तरिक्ष यात्रामा जाँदै छन् । पछिल्लो समय अर्बपतिहरू अन्तरिक्ष यात्रामा जाने क्रम बढ्ने देखिएको छ । टेस्लाका प्रमुख एलन मस्कले पनि अन्तरिक्षमा थुप्रै सम्भावना देखेको बताउँदै आएका छन् । उनले यस कार्यका लागि ‘स्पेस एक्स’ नामक छुट्टै कम्पनी नै खोलिसकेका छन् ।



  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १३:२७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया