जोन्सन एण्ड जोन्सन खोप लगाएकामा देखिने ‘न्यूरोलोजिकल डिसअर्डर’ के हो ?
यस विषयमा सरकारले अध्ययन गर्ने

अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको छ। जुन खोप एक डोज लगाए  पुग्ने भनिएको छ। यसका लागि बुस्टर डोज आवश्यक पर्दैन। 

अमेरिकामा एक करोड २८ लाख भन्दा बढीले यो खोप लगाइसकेका छन्। अमेरिकाले खोप उपलब्ध गराएसँगै धेरै नेपाली यो खोप लगाउन उत्सुक देखिएका थिए। तर, अहिले भने यो खोप लगाउन डराइरहेका छन्। यसको कारण हो,– अमेरिकी तथा औषधी विभाग (एफडिए) को रिपोर्ट। 

एफडीएले उक्त खोप लगाएकाहरूमा ‘न्यूरोलोजिकल डिसअर्डर’ (गियाङ बारे सिण्ड्रोम) समस्या देखिएको भन्दै रिपोर्ट सार्वजनिक गरेको छ। एक करोड २८ लाख जनामध्ये १०० भन्दा बढीमा यो सिण्ड्रोम देखिएको भन्दै एफडीएले खोप निर्माता कम्पनीलाई सचेत गराएको छ। यस्तो खालको समस्या देखिएकामध्ये एक जनाको मृत्यु भइसकेको एफडीएले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

खोप लगाइसकेपछि कमजोरी हुने, हातखुट्टामा केही अनुभव नहुने, हिड्न समस्या हुने, अनुहारको हाउभाउमा समस्या हुने, बोल्न, चपाउन वा निल्न समस्या हुने, कुनै वस्तु दुइटा देखिने जस्ता समस्या देखिने गरेको रिपोर्टमा भनिएको छ ।

यस्तो समस्या आएको खण्डमा तत्कालै चिकित्सकलाई देखाउन एफडीएले सुझाव दिएको थियो। एफडीएले उक्त समस्या खोप लगाएकै कारण भएको हो भन्ने प्रमाण भने दिन सकेको छैन्। 

आखिर के हो ‘न्यूरोलोजिकल डिसअर्डर’ भनेको ? हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा. शेरबहादुर पुनलाई सोधेका छौँ। 



उनले भने,– ‘न्यूरोलोजिकल डिसअर्डर सामान्य रूपमा भन्नुपर्दा दिमागी विकास रोकिनु वा सुस्त हुनु हो। ब्रेन डेभलपमेन्ट डिस्कन्टिन्यु(अनियमित) हुँदा एउटा मात्र नभएर चौतर्फी समस्या सिर्जना गर्छ ।’ 

यस्तो समस्या देखा पर्नुको कारणमा आमाको कोखमा हुँदा पर्याप्त पोषण उपलब्ध नहुनु, आमा डिप्रेसनमा रहनु, आमालाई चरम ज्वरो लगायतका रोगले च्याप्नु, आमाको श्वासप्रश्वासमा समस्या हुनु, लगायत हुनसक्ने पुन बताउँछन्। 



। त्यसका अतिरिक्त बढ्दो सहरीकरण, विषादीयुक्त खानपान, पारिवारिक तनाब, गलत साथी–संगत आदि कारणले पनि न्यूरोलोजिकल डिसअर्डरको समस्या हुन सक्ने डा. पुनको भनाइ छ। 

के यसले नेपालमा पनि समस्या गर्छ ? संक्रामक रोग विशेषज्ञ समेत रहेका डा. पुन यसबारे अनुसन्धान गरेर मात्रै खोप लगाउनु पर्ने बताउँछन्। 
 ‘बजारमा जोन्सनको खोपबारे आएको चर्चामा सरकारले अनुसन्धान गर्नुपर्छ। अमेरिकामा समस्या देखियो भनिएको छ। नेपालमा कस्तो खालको प्रभाव पार्छ भन्ने विषयको अध्ययन गरेर मात्र खोप लगाउनु राम्रो हुन्छ’ डा. पुन भन्छन्।                                     

नेपालमा विना परीक्षण नै यो खोप आउनु गलत भएको उनको तर्क छ। ‘नेपालमा जुन देशले जस्तो प्रकारको खोप आयो बिना परीक्षण लगाइन्छ, यो गलत हो। जोन्सनको खोप बारेमा पनि अमेरिकामा भएको अनुसन्धानका आधारमा नेपालमा पनि यस्तै हुन्छ भन्ने हुँदैन। यसको प्रभाव कस्तो पर्छ भन्ने कुरा अनुसन्धान हुनु जरुरी छ ।’ डा. पुनले भने। 

खोपबारे सरकार जानकार, अनुसन्धान हुने

जोन्सन एन्ड जोन्सन खोप लगाउँदा हुने भनिएको ‘न्यूरोलोजिकल डिसअर्डर’ बारे सरकार जानकार रहेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले उक्त समस्याप्रति मन्त्रालय जानकार रहेको र आत्तिनु नपर्ने बताए। सरकारले यो विषयमा अनुसन्धान गर्ने उनको भनाइ छ। 

विश्व स्वास्थ्य संगठनले खोप अनुमति दिएकाले अन्य निकायले के भन्यो भन्ने कुरा प्रमुख नरहेको पौडेल बताउँछन्। ‘विश्व स्वास्थ्य संगठनले खोप लगाउने अनुमति दिएको छ’ प्रवक्ता पौडेल भन्छन्, ‘एउटा कुनै निकायले यस्तो समस्या देखियो भन्दैमा नलगाउने भन्ने कुरा त हुँदैन्। तर पनि हामीले यस विषयमा थप अध्ययन गरिरहेका छौं।’

अन्य खोपमा पनि केही न केही जोखिम रहेको पौडेल बताउँछन्। खोपमा जोखिम भन्दा फाइदा बढी रहेको उनको भनाइ छ। ‘अन्य खोपमा पनि केही न केही समस्या त देखिएकै छ। त्यो एकदमै न्यून हो। यसले पु¥याउने फाइदा एकदमै बढी छ। त्यसैले यसबाट आत्तिहाल्नुपर्ने अवस्था छैन्’ पौडेल भन्छन्। 

अमेरिकाबाट प्राप्त भएको उक्त खोप काठमाडौंमा साउन ४ गतेदेखि लगाइँदैछ। ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई उक्त खोप दिइनेछ। त्यस्तै पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणाथीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी लगायतलाई पनि जोन्सन एण्ड जोन्सन खोप दिइनेछ। 

काठमाडौं उपत्यका भन्दा बाहिरको हकमा भने केही दिन ढिलागरी जोन्सन एण्ड जोन्सनको खोप दिइनेछ। काठमाडौंबाट सम्बन्धित जिल्लामा खोप पठाउने काम भइरहेकोले ढिलाइ भइरहेको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख झलक गौतमले बताए। 

  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १७:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया