सडकभन्दा अग्लो बन्यो पुल : आवतजावतमा अझै समस्या

हुलाकी राजमार्ग अन्तर्गत कैलालीको कैलारी गाउँपालिकाको पवेरा नालामा पुल निर्माण भएको छ । पुल सडकभन्दा अस्वभाविक उचाइमा निर्माण गरिएको छ । यसले गर्दा आवतजावतमा समस्या हुने गरेको छ ।

कालोपत्रे गरिएको सडकभन्दा करिब दुई मिटर उचाइमा पुल बनेपछि स्थानीयलाई पुलमा आउजाउ गर्न समस्या भएको हो । डल्लप, साइकल लगायत सामान बोकेका सवारी साधन पुल चढ्न नसकेर नालाबाट जाने गरेका छन् । 

बाटोभन्दा अस्वभाविक उचाइमा बनेकाले पुल प्रयोग गर्न समस्या भएको स्थानीयले बताएका छन् । छेउमै रहेका घरका छतभन्दा अग्लो पुल बनेको स्थानीय बासिन्दा प्रदेश चौधरीले बताए । सडकभन्दा अग्लो पुलमा आवतजावत गर्न पनि समस्या हुने गरेको उनले बताए । चौधरीले पुल अग्लो बन्दा डल्लप चलाउन पनि अफ्ठेरो हुने बताए । 

‘पुल बनेपछि सुविधा होला सोचेका थियौँ, तर झन असुविधा थपियो’, उनले भने, ‘जनताले सुविधाको सट्टा अफ्ठेरो भोग्नुपर्ने सरकारले कस्तो खालको विकास गरेको हो ?’ कालोपत्रे गरिएको सडकभन्दा दुई मिटर उचाइमा बनेको पुललाई प्रयोगमा ल्याउन पुलको दुवैतिर करिब सय मिटर बाटोको उचाइ पनि उठाउनु पर्ने देखिएको छ । 

यसले पुलको छेउमा रहेको पवेरा मण्डी बजार र बस्तीलाई पनि समस्या हुने स्थानीयले बताएका छन् । पुलले नजिकको बजार र बस्ती ओझेलमा पर्ने अर्का स्थानीय तेजराम चौधरीले बताए । आँगनभन्दा बाटो निकै अग्लो हुने भएपछि समस्या हुने उनको भनाइ छ । 

उकालो हुने भएकाले आँगन अघिकै बाटोमा पुग्न घुमेर जानुपर्ने अवस्था हुने उनले बताए । पुल निर्माणका लागि २०७० जेठमै सम्झौता भएको थियो । तर, बस्तीभन्दा अस्वभाविक उचाइमा पुल बन्न थालेपछि स्थानीयले विरोध गर्दा केही वर्ष पुल निर्माणको काम अलपत्र प¥यो । 



वर्षौंसम्म अलपत्र रहेको आयोजना हुलाकी सडकले खारेज गर्ने तयारी गरेपछि वर्षायाममा खोला तर्न सास्ती व्यहोर्दै आएका स्थानीय डिजाइन अनुसारकै उचाइमा पुल निर्माण हुन दिन सहमत भएका हुन् । तर, बनेको पुलले झन समस्या निम्तिएको स्थानीयको गुनासो छ । २२ मिटर लामो उक्त पुल भ्याटबाहेक १ करोड १६ लाखमा निर्माण भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ । खोलाको सहतदेखि पुलको उचाइ ५ मिटर रहेको छ । 

डिजाइनमा त्रुटि भएकाले बाटोभन्दा अस्वभाविक उचाइमा पुल बनेको आयोजनाका इन्जिनियर पदम मडैले बताए । पुल वारीपारीको सडक पनि उँचो बनाउनु पर्ने भएपछि पुल छेउको बजार र बस्तीलाई समस्या हुने उनले बताए ।



‘त्यहाँ बढीमा ३ मिटर उचाइको पुल आवश्यक थियो’, मडैले भने, ‘आवश्यकताभन्दा अग्लो बन्दा दुवैतिर १-१ सय मिटर परसम्म बाटो पनि अग्लो बनाउनु पर्ने भयो ।’ 

हुलाकी राजमार्ग निर्माण गरेको भारतीय कम्पनीले कल्भर्ट बनाउन सर्भे पनि गरेको थियो । तर, त्यसबेला स्थानीयले पुल बनाउनु पर्ने माग गरेका थिए । पुलको डिजाइन र निर्माण ठेक्का भने केन्द्रबाटै भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ ।

  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १७:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया