[अभिनेता भुवन केसीको ब्लग] एमाले विग्रह हुँदै छ, यो मन मेरो दुखेको छ
भुवन केसी
फरकधार / ४ साउन, २०७८

म एमालेप्रति प्रभावित भएको आज होइन । यो मनमोहन अधिकारी प्रधानमन्त्रीबाट बाहिरिएको केही समयपछिको कुरा हो । म उहाँको निवासमा गएको थिएँ । 

यो खासमा एउटा कार्यक्रमको सिलसिलामा थियो । एउटा टिभीका लागि मैले कार्यक्रम गर्ने भएँ– नेता र अभिनेता । नेता र अभिनेता एउटा यस्तो कार्यक्रमको डिजाइन बनेको थियो, जसमा नेताहरुसँग राजनीतिक होइन, अन्य कुराकानी गर्ने र टिभीमा प्रसारण गर्ने । यो कार्यक्रमका केही एपिसोडहरु सुटिङ पनि भएका थिए । विडम्बना ! यो कार्यक्रम अन एयर चाहिँ कहिल्यै भएन ।

नेताहरुको जीवनको अर्को एउटा रमाइलो पाटो पनि हुन्छ, उहाँहरु राजनीतिमा मात्र होइन, इन्टरटेनमेन्टमा पनि ध्यान दिनुहुन्छ भन्ने थियो । त्यहीअनुसार हामीले यो कार्यक्रमको डिजाइन गरेका थियौँ ।

नेताहरुको जीवनका केही पाटाहरु जसबारे धेरैलाई थाहा छैन, त्यस विषयमा हामीले यो कार्यक्रममा कुराकानी गर्ने भनेका थियौँ । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह मनमोहन अधिकारी, कमल थापा, अर्जुननरसिंह केसी, शरदसिंह भण्डारीलगायत नेताहरुसँग मैले कुराकानी पनि गरेको थिएँ, त्यो रेकर्ड अहिले पनि मसँग छ । तर, यो कार्यक्रम प्रसारणमा आएन । 

प्रसारणमा नआए पनि मलाई त्यति बेलाका केही कुराहरु अहिले पनि याद छ ।

यही कार्यक्रमको सिलसिलामा म मनमोहन अधिकारीलाई भेट्न गएको थिएँ, एकाविहानै । उहाँले ६ बजे बोलाउनु भएको थियो । क्यामेराहरु सेट गर्ने भएकाले म आधा घन्टा अगाडि नै त्यहाँ पुगेको थिएँ । उहाँ अस्पतालबाट केही दिनअघि मात्र डिस्चार्ज हुनु भएको थियो ।

हामी घरमा पुग्दा उहाँ आफ्नै कम्पाउन्डमा वाक गरिरहनु भएको थियो ।

उहाँले हामीलाई पहिलो प्रश्न गर्नुभयो– चिया पिउनुहुन्छ ? विहानको समय थियो, हामीले हुन्छ भन्यौँ । त्यसपछि म सबैभन्दा ठूलो आश्चर्यमा परेँ । उहाँले त आफैं चिया बनाएर पो ल्याउनु भयो ।

प्रधानमन्त्री भइसकेको मान्छे, उहाँले अरु कसैलाई चिया बनाउन अर्डर दिन सक्नुहुन्थ्यो । तर, अहँ उहाँले त्यसो गर्नु भएन । आफैं चिया बनाएर ल्याउनु भयो ।

देशको प्रधानमन्त्री जस्तो पदमा पुगेको मान्छेले पनि आफैं चिया पकाउने भन्ने मलाई महसुस भएपछि म अचम्ममा परेँ, म उहाँबाट प्रभावित भए । 

त्यसको केही समयपछि मैले मदन भण्डारीको जबजका केही कथाहरु पढ्ने मौका पाएँ, विशेषगरि सुटिङको समयमा । हो, मैले जबज पूरै पढेको त छैन तर जति पढेको छु र जति बुझेको छु, ती कुराहरुले मेरो मनको अन्तस्करणमा छोएर बसेका छन् ।

यो नेपाली फिल्मी दुनियाँमा मेरो बर्चश्व भएको समयको कुरा हो । मेरा फिल्महरु त्यति बेला हिट हुन्थे । कतिसम्म भने दरबारमा तत्कालीन श्री ५ हरु मेरा फिल्म र अभिनयबाट प्रभावित हुनुहुन्थ्यो । मेरो अभिनयकै कारण खुसी भएर मैले गोरखा दक्षिण बाहुसमेत पाएको थिएँ । मलाई तत्कालीन श्री ५ वीरेन्द्र वीर विक्रम शाहले त शुभकामना र आर्शिवादका शब्दहरु पनि दिनु भएको थियो ।

कांग्रेसमा पनि मेरो छाप राम्रै थियो । कांग्रेसका केही नेताहरुसँग म नजिक भएको थिएँ, उहाँहरुले मलाई निकै माया गर्नुहुन्थ्यो । 

तर, मनमोहन अधिकारीको सरलता र मदन भण्डारीको विचारबाट प्रभावित भएर म एमाले भएँ । 

कलाकारितामा भएकाले मलाई राजनीतिमा उतिसारो चासो भएन । तर, पछि संविधान सभाको दोस्रो निर्वाचनको समयमा मलाई केपी ओलीज्यूले खोज्नु भयो । एकदिन विमानस्थलमा आएपछि उहाँले मलाई लिन गाडी पठाउनु भयो । म गाडीमा बसेँ, विमानस्थल पुगेँ । ओलीज्यूसँग नै म झापा गएँ । झापामा उहाँकै घरमा बसेँ । उहाँले मलाई त्यहाँ निकै सम्मान गर्नुभयो, खाना खुवाउनु भयो, भलाकुसारी पनि निकै लामो भयो ।

मनमा एमालेको बिउ रोपिइसकेको थियो । एमालेले जित्नुपर्छ भन्ने मनमा थियो, मैले एमालेका लागि भोट माग्न थालेँ, केपी ओलीज्यूका लागि भोट माग्न थालेँ ।

अनि एमालेका नेताहरुले मसँग बारम्बार सम्पर्क गर्न थाल्नु भयो । कतिसम्म भने त्यो निर्वाचनमा मलाई काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नसमेत उहाँहरुले मलाई प्रस्ताव राख्नु भयो । मैले सहर्ष स्वीकार गरेँ । 

अघिल्लो दिन प्रत्यक्षमा चुनाव लड्ने कुरा भए पनि दोस्रो दिन मेरो नाम समानुपातिकमा राख्ने सल्लाह उहाँहरुले गर्नुभयो । मैले त्यसलाई पनि सहर्ष स्वीकार गरेँ । 
 

समानुपातिकमा मेरो नाम राख्ने भनेपछि म चुनावी अभियानमा होमिएँ ।

समानुपातिक उम्मेदवारका हैसियतले मैले आफ्ना लागि मत मागेँ, त्यो मत थियो, एमालेका लागि । मैले केपी शर्मा ओलीज्यूको निर्वाचन क्षेत्रमा पुगेर उहाँका लागि मत मागेँ । मैले माधवकुमार नेपालज्यूको निर्वाचन क्षेत्रमा मत मागेँ, वामदेव गौतम, कृष्णगोपाल श्रेष्ठ र योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर पनि मत मागेँ ।

त्यति बेला कतिसम्म भएको थियो भने चटक्कै फिल्म छोडेर म राजनीतिमा लागेको जस्तो । मैले धेरै क्षेत्रमा पुगेर एमाले उम्मेदवारका लागि मत मागेँ ।

एमाले त्यसअघिको निर्वाचनमा निकै पछाडि परेको थियो । मलाई केही साथीहरुले पहिलो नम्बरको पार्टी माओवादीमा नलागेर किन एमालेमा लागेको होला भन्ने प्रश्न पनि गर्नु भएको थियो, कलाकार साथीहरु अचम्ममा पर्नु भएको थियो । केही कलाकार साथीहरु त्यति बेला माओवादीमा लाग्नु भएको थियो ।

एमालेका एक नेताको सरल स्वभाव र विचार देखेर म त्यति बेला निकै पुलकित भएको थिएँ, म एमालेमा लागेको थिएँ । तर, अहिले एमालेको अवस्था देख्दा यो मन मेरो दुखेको छ । र, निकै नरमाइलो पनि लागेको छ ।

हिजो मैले एमाले जे पार्टी हो भन्ने सोचेको थिएँ, आज नेताहरु अर्कै निस्किएका छन् । हिजो मलाई समानुपातिक उम्मेदवार बनाउँछु भनेर उहाँहरुले धोका दिँदा मेरो मन जति दुखेको थिएन, आज त्योभन्दा निकै धेरै दुखेको छ । 

आज यो पार्टीको अवस्था देख्दा मन भक्कानिन्छ, तर यसलाई कहाँ देखाउनु ?

हिजो मैले सोचेको यो पार्टी त आज अर्कै भइसकेको छ । हिजो म प्रवेश गरेको यो पार्टी त आज अर्कै भइसकेको छ, तर यस्तो हुनु हुँदैनथ्यो । पार्टी त एउटा हुनुपर्छ, दुई टुक्रा भएको हुनुहुँदैनथ्यो । मलाई सुरुमा त यस्ता राजनीतिक पार्टीमा गुट हुन्छन् भन्ने पनि थाहा थिएन । 

तर, आज दुनियाँलाई थाहा भएको छ मेरो एमालेलाई गुटले छिन्नभिन्न बनाइसकेको छ । एकले अर्काको अस्तित्व सकाउने प्रयास भइरहेको छ । यसमा म ओलीज्यू र नेपालज्यू कसको गल्ती हो भनेर भन्दिनँ । यो उहाँहरुलाई पक्कै थाहा होला, यो उहाँहरुले नै मूल्यांकन गर्ने विषय हो ।

त्यति बेला यो पार्टीका लागि मैले पनि भोट मागेको छु, मैले पनि यसमा योगदान गरेको छु 

हिजो भोट माग्दा मलाई प्रयोग गरे पनि एमाले नेताहरुले धन्यवादसमेत दिनुभएन, आज त पार्टी नै यो अवस्थामा पुर्याउनु भएको छ । समयले बताउला, समयले पार्टीलाई न्याय गर्ला । 

तर, अहिले यो पार्टीको यो हालत देख्दा यो मन मेरो दुखेको छ ।

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार २१:३३:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया