देउवालाई विश्वासको मत दिएका सांसदलाई ओली पक्षले लिखित स्पष्टिकरण नपठाउने

३ साउनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत एमालेका २२ सांसदले दिएका थिए । यी २२ सांसदले पार्टीको निर्देशन तथा ह्विप उल्लंघन गरेको भन्दै सोमबारबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टिकरणका लागि उनीहरुलाई २४ घन्टे अल्टिमेटम यसअघि दिइएको थियो । 

तर, मंगलबार साँझसम्म पनि यी सांसदहरुले आफूहरुलाई स्पष्टिकरण सोधिएको विषयमा कुनै जानकारी नआएको तर मिडियामा यसबारे आफूहरुले समाचार पढेको बताएका छन् ।

मंगलबार नै भएको नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय भेलामा यस विषयमा चर्चा पनि भएको थियो । भेलामा सहभागी भएकाहरुले पछि सन्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफूहरुलाई स्पष्टिकरणका लागि कुनै चिठी नआएको बताएका थिए । उनीहरुले यो मिडिया खपतका लागि ओली समूहले लगाएको आरोप भएको पनि बताएका थिए ।

देउवालाई विश्वासको मत नदिएका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरे पनि लिखित पत्र उनीहरुले बताइरहँदा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

त्यसैले किन अहिलेसम्म यी सांसदलाई लिखित स्पष्टिकरणका लागि पत्र दिइएको छैन भनेर हामीले ओली समूहका केही नेताहरुसँग सोधेका छौँ । उनीहरुले अब सार्वजनिक रुपमा नै बाहिर आइसकेकाले तत्काल लिखित पत्र नपठाइने जानकारी दिएका छन् ।



‘अहिलेसम्म लिखित पत्र पठाउने वा नपठाउने भन्ने विषयमा छलफल भएको नै छैन, केन्द्रीय कमिटी बैठकमा निकै धेरै साथीहरुले आफैं उहाँहरुलाई स्पष्टिकरण सोध्नु पर्छ भन्नु भएको हो,’ नेकपा एमालेमा ओलीनिकट एक नेताले भने, ‘फेरि यो स्पष्टिकरण उहाँहरुले पार्टीमा मात्र होइन, भोलि जनताहरुसमक्ष दिनु पर्ने स्पष्टिकरण हो ।’

उनले हिजो एमालेको नाममा र सूर्य चिन्हमा भोट मागेर संसद भवन छिरेको एउटा नेताले अर्को पार्टीका नेतालाई कसरी मत दिन सक्छ भन्ने विषयमा सबैले एकपटक सोच्नु पर्ने आवश्यकता रहेको पनि बताए ।



‘हामीले लिखित रुपमा स्पष्टिकरण नपठाउन पनि सक्छौँ, यो त्यति ठूलो कुरा भएन, उहाँहरु अब आफूले निर्वाचन जितेका क्षेत्रमा कसरी फेस गर्न जानुहुन्छ ? एमाले समानुपातिकबाट संसदमा आउनु भएको हो भने कसरी आफूलाई एमाले हुँ भनिरहन सक्नुहुन्छ ?’ ती नेताले स्पष्टिकरण सोधिएका नेताहरुलाई आफ्ना प्रश्न राखेका छन्, ‘के पार्टीको निर्देशन उल्लंघन गर्दा आफूलाई विजेता सोच्न उहाँहरुले थाल्नु भएको हो ?’

हामीले यही प्रश्न नेकपा एमाले वरिष्ठ नेता नेपाल पक्षका एक नेतालाई पनि सोध्यौँ ।

उनले सर्वोच्च अदालतले आफ्नो फैसलामा स्पष्ट रुपमा देउवालाई मत दिएको आधारमा पार्टीले कारवाही गर्न नपाउने भनेर भनेकाले ओली समूहले लिखित स्पष्टिकरण नपठाएको हुनसक्ने बताए ।

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार २२:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया