दलीय सहमति जुट्दैन भने फ्लोर क्रस गरेर भए पनि नागरिकतासम्बन्धी विधेयक अघि बढाऔँ : सांसद राई

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकतासम्बन्धी विधेयक पास नहुन्जेलसम्मका लागि संविधानले प्रदान गरेको मौलिक अधिकार उपभोग गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।  

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले करिब ६ लाख नेपाली आमाका सन्तान नागरिकताविहीन भइरहँदा पनि संसदबाट नागरिकतासम्बन्धी विधेयक पास हुन नसकेको बताइन् । नागरिकतासम्बन्धी विधेयक पास हुन नसक्दा लाखौँले संविधानको मौलिक हकले प्रदान गरेको अधिकार उपभोग गर्न नपाएको उल्लेख गर्दै उनले विधेयक पास नहुन्जेलसम्म सो अधिकारको उपभोगका लागि अस्थायी व्यवस्थापन गनुपर्ने बताए । 

उनले राजनीतिक सहमति हुन नसकेमा संसदमा फ्लोर क्रस गरेर भए पनि नागरिकतासम्बन्धी विधेयक अगाडि बढाइनुपर्ने बताइन् । उनले भनिन्,‘यदि दलीय सहमति नजुटेर नागरिकताको विधेयक पास गर्न सकेका छैनौँ हामीले भनेदेखि फ्लोर क्रस गर्ने त अब चलन चलिसकेकको छ । त्यस्ता कुरामा फ्लोर क्रस गरौँ ।’ 

आमाको नाममा नागरिकता दिने भनेर जब संविधानले भनिसकेपछि त्यही कुरा लेखेर आएको विधेयक किन पास नहुने भन्दै उनले प्रश्न गरिन् । ‘कि हामी सबै पितृसत्तालाई बोकेर हिँड्ने मान्छे छौँ यहाँ ? होइन भने अहिले पास हुनुपथ्र्यो,’ उनले भनिन्, ‘नागरिकताको विधेयक पास नहुन्जेलसम्म ६ लाख नागरिकले मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग गर्न पाउने गरीकन अस्थायी व्यवस्थापन गरौँ ।’

नेपाली आमाको सन्तान नागरिकताविहीन भएर मौलिक अधिकारको उपयोग गर्न नपाएर बस्नु नपरोस् भनेर उनले ध्यानाकर्षण गराइन् । 

नागरिकता विधेयकको सम्बन्धमा राजनीतिक दल र सांसदहरु जवाफदेही बन्न नसकेको उनले बताइन् । ६ लाखभन्दा बढी नागरिकलाई नागरिकता दिन नसकेर सांसदहरुले अपराध गरिरहेको पौड्यालले आरोप लगाइन् । 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १७:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया