एमाले विवाद : माधव नेपाल र नारदमुनि रानाबीच संसदीय समितिमै भनाभन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र एमालेका सांसद तथा केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका नारदमुनि रानाबीच संसदीय समितिको बैठकमै भनाभन भएको छ । 

पुनःस्थापित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा वरिष्ठ नेता नेपाल र सांसद रानाबीच भनाभन भएको हो । समितिको बैठकमा बोल्दै वरिष्ठ नेता नेपालले जनताको निरन्तरको संघर्षले संसद पुनःस्थापित भएको धारणा राखेका थिए । 

निरन्तरको संघर्षले संसद पुनःस्थापना भएको भन्दै नेता नेपालले बैठकमा खुसी व्यक्त गरेका थिए । उनले आफ्नो भनाइ राख्ने क्रममा प्रतिगमनलाई ढालेर संघर्षले संसद पुनःस्थापना गराएको बताएका थिए । 

नेता नेपालले सम्बोधन गर्दा गर्दै बैठक कक्षमा प्रवेश गरेका एमालेकै सांसद रानाले आफ्नो बोल्ने पालोमा नेपालमाथि कटाक्ष सुरु गरे । नेपालको भनाइको खण्डन गर्दै रानाले संसद पुनःस्थापना जनताको भावना र संघर्षबाट नभएर अदालतको आदेशबाट मात्रै भएको बताए । 

रानाले वरिष्ठ नेताहरुकै कारण संसद विघटनको अवस्थामा पुगेको ठोकुवा गर्दै संसद विघटन गर्नैपर्ने अवस्थामा पुगेको बताए । उनले प्रधानमन्त्री अ‍ोलीले संसदमा विश्वासको मत लिने बेला नेताहरु घरमा सुतेर बसेका कारण विघटनको परिस्थिति आएको बताए । 

नेता नेपालहरुले संसद जोगाउन चाहेको भए आफ्नै पार्टीका अध्यक्षलाई विश्वासको मत दिनुपर्नेमा नदिएर विघटनको लागि बाध्य बनाएको भन्दै रानाले कटाक्ष गरे । त्यसलगत्तै नेता नेपाल पक्षका सांसद दीपकप्रकाश भट्टले रानाको भनाइको खण्डन गरे । 



राना र भट्टबीच भनाभन सुरु भएपछि नेता नेपालले रानालाई प्रतिगमनको मतियार भन्दै बैठकबाट बाहिर जान निर्देशन दिए । नेपाल भट्टले भने, ‘प्रतिगमनका मतियारहरु बाहिर जानुस् ।’



  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १४:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया