गर्मी छल्न डोटीको छतिवन झरना पुग्नेकाे भीड

सुदूरपश्चिम प्रदेशमा पर्ने तराईका दुईवटा जिल्लाबाट गर्मी छल्न डोटी पुग्नेको संख्या बढेको छ । कैलाली र कञ्चपुर सुदूरपश्चिमका तराईका जिल्ला हुन् । यी दुई जिल्लामा चैतदेखि भदौसम्म अत्यधिक गर्मी हुने गरेको छ । कैलालीको सिमानामा नै रहेको डोटीको जोरायल गाउँपालिका २ छतिवनमा रहेको झरना हेर्न दैनिक सयौँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुंगीको चिरबिर आवाज, यस्तो सुन्दरताको प्रत्यक्ष अनुभव गर्न त्यहाँ पुग्नेको भीड लाग्ने गरेको छ । 

पछिल्लो समय झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । धनगढीदेखि भीमदत्त राजमार्ग हुँदै बुडरसम्म र त्यहाँबाट बुडर–जोरायल सडक हुँदै झरना पुग्न ९६ किलोमिटर यात्रा गर्नुपर्छ । कैलाली र कञ्चनपुरबाट परिवारसहित झरनामा पुग्नेहरुको संख्या बाक्लै देखिन्छ । 

गर्मी मौसमको समयमा तराईको उखरमाउलो गर्मी छल्न पहाड उक्लिनेहरु प्रायः बुडरको यो झरना नपुगी फर्किंदैनन् । जिल्लाभित्रकै मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउने गरेका छन् । कोभिड–१९ जोखिम घटेसँगै अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्दै जान थालेको स्थानीयको भनाइ छ । नाम मात्रै सुनेका र झरनाको तस्बिर मात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका छन् । कैलालीको धनगढी, अत्तरिया तथा कञ्चनपुरबाट करिब तीन–चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी पुग्ने गरेका छन् । 

झरनाले पर्यटन प्रवद्र्धनमा निकै भूमिका खेले पनि भौतिक पूर्वाधारलगायतको विकासमा कमी हुँदा समस्या हुने गरेको धनगढीका दीपक उपाध्यायले बताए । प्रदेशको अस्थायी मुकाम धनगढीलगायत क्षेत्रबाट सयौँको संख्यामा स्थानीय उक्त झरना हेर्न आउने गरेको स्थानीय हरि भट्टले बताए । ‘अहिले सो झरना हेर्न डोटी, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुरलगायत बाँके र बर्दियाबाट समेत मानिसहरु आउने गरेका छन्,’ उनले भने, ‘टिकटक मात्र बनाउन उद्देश्यले पनि यहाँ आउने गरेका छन् ।’

धनगढी उपमहानगरपालिका–२ बाट परिवारसहित झरना हेर्न आएका रमेश अवस्थीले बाटो केही असहज भए पनि झरनामा पुगेपछि सबै बिर्सेको अनुभव सुनाए । उनले स्थानीय पालिकाले बाटोघाटो र सरसफाइमा ध्यान दिए पर्यटकको अझ बढी पुग्ने बताए । त्यस्तै, कैलालीकै टीकापुरदेखि मोटरसाइकलमा साथीहरूसँगै आएका टेक साउदले झरनाको बारेमा सुनेकाले साथीहरू मिलेर आएको बताए । उनले तराइको गर्मी छल्न र रमाइलो गर्न यहाँ आएको सुनाए । 

झरना पर्ने स्थानीय सरकार जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले झरनासम्म पुग्ने बाटोको डिपिआर तयार भइसकेको जानकारी दिए । यही आर्थिक वर्षदेखि झरनासम्म पुग्ने बाटो, पिकनिक स्पट, पार्किङस्थललगायत कामको निर्माण थालिने उनले दाबी गरे । 



डोटी मात्र होइन, पछिल्ला वर्षमा कैलालीको पहाडी क्षेत्र खानीडाँडा गर्मी छल्ने रोजाइको गन्तव्य बनेको छ । गर्मी सिजन सुरु हुनेबित्तिकै भरिभराउ हुने यहाँका होटल, कटेजहरूमा शुक्रबार र शनिबारका दिन त बास पाउनै मुस्किल हुने गर्छ ।

पछिल्लो समय होटल व्यवसाय र अन्य पूर्वाधार विकासमा लगानी बढेसँगै गर्मी सिजनमा रोजाइको गन्तव्य बनेको हो । खानीडाँडामा हाल ७० भन्दा बढी होटल सञ्चालनमा रहेको यस क्षेत्रको चुरे गाउँपालिका–५का वडाध्यक्ष नरबहादुर तामाङले बताए । 



खानीडाँडामा पिकनिक मनाउन जानेहरूको संख्या पनि बाक्लै हुन्छ । यहाँ राजमार्गछेवैमा व्यवस्थित पिकनिकस्थल निर्माण गरिएको छ । धनगढी महेन्द्रनगरबाट पिकनिक मनाउन जानेहरू अधिकांश सोही स्थानमा रमाउने गर्छन् । गत साता धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पसको टोली बस रिजर्भ गरेर खानीडाँडामा पिकनिक मनाउन गएको थियो । 

  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १७:१६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया