पहिलो महिला शिक्षा आन्दोलनको दुःखद् अन्त्य

नेपालमा महिला शिक्षा सुरु हुनुअघि देशका अधिकांश क्षेत्रका महिला घुम्टो ओढेर बस्थे । घरधन्दा गर्थे, घरका पुरुषहरुले जे भन्थे त्यही मान्थे । उनीहरुलाई त्यतिबेला पनि साना बालिकाहरुको विवाह बूढो पुरुषसँग गरिदिने चलन मन परेको थिएन । न त पुरुषहरुले जति जनासँग विवाह गरे पनि हुने परिपाटी नै ठीक लागेको थियो ।

त्यो समयका महिलालाई बुढाले बालिका विवाह गर्ने र लोग्नेको मृत्युपछि जवान श्रीमतीलाई सती पठाउने प्रचलन देखेर अचम्म लाग्थ्यो । उनीहरु स्वतन्त्र भएर बाँच्न चाहन्थे । तर, कसरी स्वतन्त्र हुन सकिन्छ थाहा थिएन । उनीहरु शिक्षित र संगठित थिएनन् । 

यही समय विसं १९२४ मा जन्मिएकी योगमाया न्यौपानेले पनि समाजमा निकै दुःख सहनु पर्यो । न्यौपानेको बाल्यकालमै विवाह भएको थियो । विवाहको केही वर्षपछि अनेक यातना दिएर श्रीमान्ले घरनिकाला गरेपछि माइती गएकी उनका पिताले दुःख सहेरै भए पनि घरमै बस्नुपर्छ भनेपछि उनले बाध्य भएर दोस्रो विवाह गरिन् । दोस्रो विवाह गरे पनि छोटो समयमै श्रीमान्को मृत्यु भयो । त्यसपछि उनले झन धेरै दुःख र यातना भोग्नुपर्यो । 

उनी तेस्रो विवाह गरेर आसाम पुगिन् । त्यहाँ रहँदा–बस्दा उनले धेरै कुरा बुझ्ने मौका पाइन् । योगमायाका तेस्रा श्रीमान्को पनि मृत्यु भयो । त्यसपछि उनी आफ्नी छोरी नयनकलालाई लिएर विसं १९७३ मा नेपाल फकिइन् र मझुवाबेसीमा बस्न थालिन् । यहीबीच उनकी छोरी पनि विवाह गरेको थोरै समयमै विधवा भइन् । त्यसपछि भने योगमायालाई खपिनसक्नुको पीडा भयो । 

छोरीको वियोग हेर्न नसकेकी योगमाया नेपालका विभिन्न स्थानको भ्रमण र त्यहाँको समाज बुझ्न थालिन् । उनले आफू पुगेका हरेक स्थानमा महिलामाथि भएको दमन र अत्याचार देखिन् । उनलाई लाग्यो– हाम्रो देशमा ‘महिला शिक्षा’ अभाव छ । महिला शिक्षित भए भने सबै प्रकारका दमन र अत्याचारबारे बोल्न सक्छन् । 

महिला अधिकार र समाज सुधारको माग राख्दै योगमायाले नेपालका तत्कालीन श्री ३ चन्द्र शमशेर, श्री ३ भीम शमशेर, श्री ३ जुद्ध शमशेरलाई पटकपटक पत्र पठाइन् । उनीहरुलाई भेट्न खोजिन् । 



प्रेमनारायणमार्फत् भेट्न नसकेपछि विसं १९९६ साल असोजमा दसैंको अष्टमी पारेर जुद्ध शमशेरलाई भेट्न काठमाडौं पुगिन् । त्यसबेला जुद्ध शमशेरकी रानीले उनलाई उपहार स्वरुप किस्तीभरि असर्फी दिएकी थिइन् । उनले त्यो असर्फी लिन मानिनन् । त्यसको बदलामा योगमायाले आफ्ना मागहरु राखेकी थिइन् । जुद्ध शमशेरले योगमायालाई ‘तपाईंका माग पूरा भए’ भनेपछि उनी खुसी भएर चन्द्रागिरिबाट सिमभन्ज्याङ हुँदै वीरगञ्ज, रक्सौल, जोगबनी, बिराटनगर, इटहरी, धरान, धनकुटा, हिले, पाख्रीबास, तेगुवा, तुम्लिङटार हुँदै मझुवाबेसी पुगेकी थिइन् । 

तर, १९९५ सालको दसैंको नवमीका दिनसम्म पनि योगमायाका कुनै माग सम्बोधन भएनन् । त्यसपछि भने उनी राणा सरकारको विरोधमा उत्रिन बाध्य भइन् । दशमीको दिन उनले भिक्षापत्र लेख्न लगाइन् । त्यसमा महिला अधिकारका लागि उनले थुप्रै माग राखेकी थिइन् ।



उनले महिलाका सवालमा त्यसबेला राखेका मागः

१. महिला शिक्षाको व्यवस्था गरियोस्
२. महिलाले पनि वेद पढ्न पाउने व्यवस्था गरियोस्
३. विधवालाई बिहे गर्ने छुट दिइयोस्
४. सौता हाल्ने चलन खारेज गरियोस्लगायत । 

योगमायाले दिङ्ला हुलाकबाट जुद्ध शमशेरलाई यी माग पठाएपछि ठाउँठाउँमा ‘माग पूरा नभए कात्तिक २७ गते हरिशयनी एकादशीका दिन अग्नि समाधि लिई संसार छोड्ने छौं’ भनेर सूचना टाँस्न लगाइन् । भिक्षापत्रमा राखिएका उनका माग सम्बोधन गर्नुको बदला महिलाको नेतृत्वमा भएको कठिन निर्णयलाई भत्काउँदै तत्कालीन राणा सरकारले योगमायालाई पार्टीमा राखेर कैद गर्ने भन्दै उनका अरु सबै अनुयायीलाई धनकुटा जेलमै कैद गर्नु भन्ने आदेश दियो । 

धनकुटा गौंडाका तत्कालीन बडाहाकिम माधव शमशेर र भोजपुरका बडाहाकिम गरुडध्वजले गोलीगठ्ठासहित फौज लिएर गएर यज्ञ रोक्दै सहभागीहरुलाई पक्राउ गरेका थिए । पक्राउ पर्नेहरुमा पण्डित प्रेमनारायण भण्डारी १९ महिनापछि जेलबाट छुटेका थिए । त्यसबेला पक्राउ परेका रत्नमानको जेलमै मृत्यु भएको थियो । तीमध्ये केही ३० महिनाको जेल जीवन बिताएर मुक्त भएका थिए भने केही जेलबाट भागेका पनि थिए । 

यसरी महिला अधिकारका लागि पहिलोपटक आन्दोलन गर्ने योगमायामाथि धरपकड र ज्यादति गरिएको थियो । नेपालमा पहिलो पटक महिला नेतृ योगमाया न्यौपाने जेल परिन् । उनलाई १९९५ मंसिर पूर्णिमाका दिन नौजना पुरुष पुरुषसँगै कैद सजायँ दिइएको थियो । सनातनदेखि चलिआएको वर्णाश्रम धर्म व्यवस्थाविरुद्ध भारतमा आर्यसमाजमा सुधार गरिनुपर्ने आवाज उठेको थियो । भारतका दयानन्द सरस्वतीले आर्यसमाजमा सुधार गरिनुपर्ने आवाज उठाएका थिए । यसको प्रभाव नेपालमा पनि परेको थियो । यसले नेपाली महिलाहरुमा पनि अधिकारबारे रुचि जगाइदिएको थियो । 

यही समय योगमायाले समाजमा व्याप्त सामाजिक कुरितीविरुद्ध पहिलोपटक आवाज उठाएकी थिइन् । उनले कविताका माध्यमबाट उठाएको आवाज नै पछि धेरै महिलाको संगठित आवाज हुन पुगेको पाइन्छ । पछि सत्य, धर्म र शिक्षाका बदलामा कैद पर्नुपरेको घटनाले निराश बनेकी उनी चार जना सपुतहरु गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको घटनाले झनै विह्वल बनिन् । 

अन्याय चरम हुन पुगेको अनुभव गर्दै  १९९८ साल असार ३१ गते (सन् १९४१) शनिबार हरिशयनी एकादशीको दिन एकाबिहानै अरुण नदीको उर्लंदो भेलमा योगमायासहित ६८ जनाले देहत्याग गरेका थिए ।

यसरी उनीसँग जलसमाधि लिनेहरुमा ४८ जना महिला र २० जना पुरुष थिए । यसलाई नेपाली महिला आन्दोलनको उत्कर्ष मानिन्छ । योगमायाले व्यक्तिगत रुपमा महिला अधिकार र शिक्षाका लागि समाजमा ठूलो संघर्ष गरेकी थिइन् । योगमायापछि पनि थुप्रैले निरन्तर महिला अधिकार र शिक्षाका लागि आन्दोलन र संघर्ष गर्दै आएका छन् । 

(वरिष्ठ कानुन व्यवसायी सुष्मा बरालसँगको कुराकानीमा आधारित)

  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार २०:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया