दार्चुला तुइन प्रकरण : प्रत्यक्षदर्शी ३ जनालाई सदरमुकाम झिकाइयो

दार्चुलामा महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाबारे थप अनुसन्धानका लागि प्रत्यक्षदर्शी तीन जनालाई सोमबार जिल्ला सदरमुकाम खलंगा झिकाइएको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीनजना प्रत्यक्षदर्शीलाई जिल्ला प्रशासन कार्यालयमा झिकाइएको हो ।

यसअघि सशस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा एउटा टोली र नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर घटनाको बारेमा अध्ययन अनुसन्धान गरेको थियो ।

दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम जान लागेका स्थानीय ३३ वर्षीय धामी शुक्रबार बेपत्ता भएका थिए । अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर ‘हत्या’ गरिदिएको आरोप लागेको छ । 

स्थलगत अध्ययनमा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएको हो कि होइन, धामी नदीमै डुबेर बेपत्ता भएको हो कि होइन भन्ने खुलेको छैन ।

प्रत्यक्षदर्शीले भने तुइननजिकै हातमा आरा लिएका भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरू बसेको देखेको र उनीहरुले नै तुइन काटिदिएको हुनसक्ने दाबी गर्दै आएका छन् । 



तुइन काटिएको सम्बन्धमा भारतीय सीमा सुरक्षा बल एसएसबीले अनभिज्ञता जनाउँदै आफ्नो संलग्नताबारे इन्कार गरी सकेको छ । 

घटनालाई नजिकबाट देखेका व्यक्तिलाई सदरमुकाम बोलाइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले जानकारी दिइन् ।



  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १८:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया