वीर अस्पतालमा जागेश्वरको जागरण

गत जेठ १० गते कोभिड-१९ युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय प्रमुखमा प्राडा. जागेश्वर गौतम नियुक्त भए । जेठ ११ गते वीर अस्पताल गएर उनले पदभार ग्रहण गरे । पदभार सम्हाल्न वीर पुगेका प्राडा. गौतमले निमित्त निर्देशक डा. शान्ता सापकोटाको बोर्ड हटाएर आफ्नो नेमप्लेट टाँस्न लगाए । जसले गर्दा उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । त्यो पनि उनकै कारण । सापकोटाको नेमप्लेट हटाएर आफ्नो राख्दा उनी विवादमा तानिए । 

सरकारले जेठ ६ गते कोभिड-१९ संकट व्यवस्थापन गर्न अध्यायदेशमार्फत् वीरलाई केन्द्रीय युनिफाइड अस्पताल बनाएको थियो । त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ‘न्याम्स’ अन्तर्गत रहेको वीर अस्पताल सञ्चालनको जिम्मा स्वास्थ्य मन्त्रालयले पाएको थियो । र, मन्त्रालयका प्रवक्ता समेत रहेका गौतमलाई प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरियो ।

गौतम नयाँ बनेको भवनमा जान्छन् भन्ने अपेक्षा वीर अस्पतालका कर्मचारी र न्याम्सको थियो । तर, उनले निमित्त निर्देशकको कुर्सी नै कब्जामा लिए । यतिमात्र नभएर उनले कर्मचारीलाई धम्की समेत दिन थाले । आफू अध्यायदेशमार्फत आएको बताउँदै डा. गौतमले वीरको नेतृत्वलाई नचिन्ने समेत जिकिर गरे । सबै अधिकार आफूसँग रहेको भन्दै निमित्त निर्देशक सापकोटालाई आफ्नो बाटो लाग्न दबाब दिए । 

गौतमले आफ्नो कार्यकक्ष नै खोसिदिएपछि निर्देशक डा. सापकोटा बिदामा बसिन् । गौतमले आफू निकै शक्तिशाली भएको भन्दै वीरका कर्मचारीलाई सरुवाको धम्की दिन थाले । काम नगर्ने, बिहान हाजिर गरेर दिउँसो अर्कोमा काम गर्न जाने र साँझ आएर हाजिर गर्नेले आफ्नो विरोध गर्दै आएको गौतमको जिकिर छ । 

डा. गौतमले एकलौटी र नियमविपरीत निर्णय गर्दै आएको भन्दै वीर र न्याम्स अधिकारीहरू विरोधमा उत्रिए । विरोधका बीच डा. गौतमले उपनिर्देशकमा डा. आशीष ढुंगाना र डा. नवीन पोखरेललाई नियुक्त गरे । उपनिर्देशक नियुक्तिसँगै डा. गौतम थप विवादित बने । वीर र न्याम्सका कर्मचारीले खुलेरै विरोध गर्न थाले । तर, गौतमले आफू अस्पताल सुधार गर्न आएको भन्दै अरुले टाउको दुखाउन नहुने बताउन थाले । 

स्वास्थ्य सामग्री खरिद प्रकरणमा पनि उनी विवादमा मुछिए । खरिदलाई लिएर प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतमा उजुरी समेत पर्‍याे । यसबारे अहिले अनुसन्धान भइरहेको छ । एक अर्ब बराबरको उपकरण खरिदमा डा. गौतमले सेटिङमा महँगो मूल्य तिरेर किनेको आरोप लागेको छ । मेडिकल माफिया र स्वास्थ्य सचिवको योजनामा कोभिडको नाममा हुने उपकरणलगायत सामान खरिदमा कमिसनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठान ऐन र नियमविपरीत वीर अस्पताललाई छुट्याएर त्यसको प्रमुखमा स्वास्थ्य सेवाका विवादित र अकुत सम्पत्ति आर्जन गरेकालाई नियुक्ति गरेपछि प्रमुखमा नियुक्त डा. जागेश्वर गौतमले आफू निकट व्यापारीलाई मात्र हुने गरी झण्डै एक अर्बको टेण्डर निकाले आरोप लगाउँदै उजुरी परेको हो । 



डा. गौतमको सम्पत्तिसमेत छानबिनको माग गर्दै उजुरी परेको थियो । उनले पदमा रहेको अवधिमै विभिन्न निजी कम्पनीको सेयर खरिद–बिक्री गरेको आरोप लागेको छ । स्वास्थ्य सेवा ऐन २०५३ ले सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ । डा. गौतमले चितवन मेडिकल कलेजमा १ लाख ७६ हजार ४२८ कित्ता, मौलाकालिका अस्पतालमा २३ हजार ४०० कित्ता सेयर, अमेजोन नामक कम्पनीमा ८५ हजार, ग्यालेक्सीमा ९९ हजार कित्ता सेयर, क्यानभासमा ३० हजार र नारायणी अक्सिजनमा १ लाख २० हजार कित्ता सेयर रहेको उजुरीकर्ताको दाबी छ । 

आठ महिनादेखि सेवासुविधा रोकेको भन्दै कर्मचारी उनीप्रति रुष्ट बनेका छन् । यही विवादले उग्र रूप लिएसँगै थापाथलीमा उनको सरुवा गरिएको हो । गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मीमाथि आइतबार प्रहरीले बल प्रयोग गरेको थियो । डा. गौतमले प्रहरी बोलाएर कर्मचारी कुटाएको आरोप लगाएका थिए । कर्मचारीले सोमबार दिनभर गौतमलाई अस्पतालमा प्रवेश रोक लगाए । उनीहरूले डा. गौतमको सरुवाको माग गरेका थिए । 
 
आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले गुनासो गरेका छन् । गौतममाथि कर्मचारीहरूले आफूहरुसँग समन्वय नगरेको, नीतिनियमभन्दा बाहिर गएर काम गरेको आरोप लगाउँदै आएका छन् । तर, गौतमले भने आफ्नो दुई महिने कार्यकाल सफल रहेको जिकिर गर्दै आएका छन् । 



दुई महिनामा केही काम पनि गरे   

देशकै सबैभन्दा पुरानो अस्पतालमा बेडका अभावमा विरामी समस्यामा परेका थिए । कोरोना महामारीको दोस्रो लहरले पिक लिइरहेका बेला संक्रमितले बेड नपाएर अन्यत्र रिफर गर्नुपर्ने अवस्था थियो । डा. गौतमले नियुक्ति पाएसँगै सबैभन्दा पहिला बेडसंख्या कसरी बढाउने भन्नेतिर ध्यान दिए । विवाद र आरोपका बीच डा. गौतमले ९ वटा आईसीयू रहेको अस्पतालमा तत्कालै १५ वटा पुर्‍याए । त्यसपछि नवनिर्मित सर्जिकल भवनमा संक्रमितको उपचार सुरु गरे । जेठ १८ गतेदेखि नयाँ भवनमा कोभिडका विरामीको उपचार थालियो । तत्काल एक तलामा सय बेड तयार पारेर उपचार सुरु गरियो । ती बिरामीको उपचारका लागि क्रिटिकल केयर डाक्टर, नर्सलगायतका जनशक्ति पनि थपियो । 

अक्सिजनको ट्यांक प्लान्टको व्यवस्थापन गरे । २०० वटा मोनिटर, २०० आइसियू बेड, १५० वटा भेन्टिलेटर जम्मा पारे । संक्रमितको चाप बढेको खण्डमा आवश्यक परे २०० वटै आइसियू बेड सञ्चालन गर्न सकिने अवस्था अहिले छ । त्यस्तै ६८७ दरबन्दी भएको वीर अस्पतालमा ८३१ जना थप गरिएको छ । एक वर्षदेखि चलिरहेको दरबन्दी थप गर्ने कामले उनकै कार्यकालमा सार्थकता पायो । त्यस्तै, अक्सिजनको व्यवस्थापन पनि उनकै कार्यकालमा सफल भयो । 

नयाँ भवनमा अक्सिजनको अभावमा उपचार सुरु गर्न सकिएको थिएन । नयाँ प्लान्ट जडान गरेर अक्सिजनको समस्या पनि समाधान गरे । अहिले दिनको २०० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । २० टन क्षमताको लिक्विड ग्यास ट्यांक उनकै अग्रसरतामा जोडियो । उनले तेस्रो लहरको कोरोना महामारीको लागि समेत वीरलाई तयारी अवस्थामा राखेका छन् । तेस्रो लहर आएको खण्डमा वीरमा बेड, अक्सिजन आइसियूलगायत समस्या कम हुनेछ । उनले मिर्गौला डायलाइसिसको मेसिनलाई १५ बाट बढाएर सय पुर्‍याउने, दैनिक ७५ वटा सर्जरी पुर्‍याउने लक्ष्यसहित कामलाई अघि बढाए । मिर्गौला प्रत्यारोपणको सेवालाई बढाएर मासिक ३०० जनाको प्रत्यारोपण गर्ने गरी काम अघि बढाए । उनले प्रदेशसँग पनि समन्वय गरेर कोभिड-१९ विरुद्धको लडाइँमा अघि बढ्न सहज बनाए । 


  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १०:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया