[सम्पादकीय] प्रधानमन्त्री देउवाको ढिलासुस्ती

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको आज ठीक २३ दिन बितेको छ । संसदमा विश्वासको मत पाएको पनि १८ दिन भइसकेको छ । उनले तत्कालै मन्त्रिमण्डल विस्तार गर्ने योजनासहित सुरुमा आफूसहित पाँचजना लिएर अघि बढेका थिए । तर, मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । देउवालाई प्रधानमन्त्री बन्न मद्दत गरेका पाँच राजनीतिक दलमध्ये स्वयम् उनकै नेपाली कांग्रेस र माओवादीमात्रै अहिले मन्त्रिमण्डलमा छन् । बाँकी तीन दललाई सरकारमा सहभागी गराउने कार्य देउवाका निम्ति कठिन बनेको छ ।

आज साउनको २१ गते भइसकेको छ, नयाँ बजेट कार्यान्वयन गर्ने वा अर्को ल्याउने भन्ने विषयमा अहिलेसम्म निर्णय गरिसक्नुपर्थ्याे । बजेट नै अन्योलमा पर्दा विशेष गरी विकास निर्माणका काम अड्किएका छन् । अर्कोतिर मुलुकमा कोरोना महामारीको प्रकोप तीव्र बन्दै गएको छ । देशमा कोरोनाको तेस्रो लहर फैलिएको आशंका चिकित्सकहरूले गरिरहेका छन् । यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप आयात र अस्पतालको व्यवस्थापन चुस्त हुनुपर्थ्याे । तर, देउवा सरकार स्वास्थ्य मन्त्रालयजस्तो अति महत्वपूर्ण निकायमा राज्यमन्त्री राखेर काम चलाउन खोजिरहेको छ । स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठ र उनको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’बारे लामो चर्चा चलिरहेको छ । स्वास्थ्यमा राज्यमन्त्री होइन, फुलमिनिस्टरको माग उठेको छ । साथै, श्रेष्ठ आफैं विभिन्न अस्पतालका मालिक रहेकाले उनलाई उक्त पदमा राख्न नहुने आवाज पनि उसै गरी उठिरहेको छ ।

बजेट, नागरिकको स्वास्थ्यका साथै अर्को महत्वपूर्ण निकाय परराष्ट्र मन्त्रालय हो। खोप उत्पादन गर्ने विभिन्न मुलुक तथा कम्पनीसँग कुराकानी गर्नका लागि पनि कूटनीतिक प्रयत्न आवश्यक पर्छ । त्यसका निम्ति सक्षम परराष्ट्र मन्त्री आवश्यक पर्छ । तर, देउवाले उक्त मन्त्रालयमा मन्त्री नै नियुक्त गर्न सकेको छैनन् । नेपालको कमजोर कूटनीतिका कारण विगतदेखि नै अन्य मुलुकसँगको सम्बन्ध, वैदेशिक लगानी र अन्य कुरामा पनि राम्ररी काम हुन सकिरहेको छैन । पूर्ववर्ती केपी शर्मा ओली सरकार मनोमानी ढंगमा चलेका कारण चौतर्फी आलोचना भएको थियो । ओलीको खराब कार्यशैली, जनतालाई दिनुपर्ने सेवा-सुविधामा बेवास्ता तथा बिनाउद्देश्य दुई-दुई पटक संसद् विघटन गर्ने उनले प्रयत्न गरेका थिए । मुख्य रूपमा यही कारण उनीविरुद्ध संसद्मा अविश्वास उत्पन्न हुँदै गएको हो ।

ओलीको बहिर्गमनपछि देशको शीर्ष कार्यकारी पदमा पुगेका देउवाप्रति जनताले केही आशा गरेका थिए । त्यसो त देउवाको विगत उतिविधि गतिलो छैन । तर, विशेष परिस्थितिमा प्रधानमन्त्री बनेका देउवाले विगतबाट पाठ सिक्दै कुशल ढंगमा सरकार सञ्चालन गर्ने छन् भन्ने अपेक्षा गरिएको थियो । आजका मितिसम्म आइपुग्दा उनले सर्वसाधारणको अपेक्षा पूरा गर्न सकेका छैनन् । सिंगो मुलुक सञ्चालन र जनतालाई सेवा प्रवाह गर्नका निम्ति सम्बद्ध मन्त्रालयमा मन्त्री, अन्य कर्मचारी तथा बजेटलगायतका सन्दर्भलाई चुस्त पार्नुपर्छ । तर, देउवा सरकारले त्यो काम गर्न सकिरहेको छैन । देउवाले कम्तीमा पनि आफ्नो पार्टीबाट मन्त्री पदमा क्षमतावान् व्यक्तिलाई अहिलेसम्म नियुक्त गरिसक्नुपर्थ्याे । उनलाई प्रधानमन्त्री बन्न मद्दत गरेका नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी, माओवादीलगायतका दलबाट मन्त्री तोक्न लगाएर नियुक्त गरिसक्नुपर्थ्याे ।

देउवाका पक्षमा पाँच दल देखिए पनि ती दलका सबैलाई खुसी पारेर ठूलो मन्त्रिमण्डल बनाउने अवस्था अहिले छैन । चुस्त, सानो आकारको र क्षमतावान् व्यक्ति सम्मिलित मन्त्रिमण्डल अहिलेको आवश्यकता हो । यो तथ्यलाई मनन् गर्दै देउवाले जतिसक्यो छिटो मन्त्रिमण्डल विस्तार गर्नु अपरिहार्य छ । देउवालाई अहिले कुनै पनि काममा ढिलासुस्ती गर्ने छुट छैन ।  
 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १३:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया