कार्यालय समयमै कार्यालय सहयाेगीबाट खुट्टा मालिस गराउँछन् मेयर दास !

संघीयता लागु भएसँगै स्थानीय सरकारको अधिकार र दायित्व बढेका छन् । तर, अधिकार लिने मामिलामा अगाडि देखिएका स्थानीय सरकार दायित्वबोधमा भने निकै पछाडि रहको भन्दै समयसमयमा बहस पनि हुने गरेका छन् । 

विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधार विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्नुपर्ने दायित्व रहेको स्थानीय तहका जनप्रतिनिधिले आफ्नो दायित्व बिर्सेर व्यक्तिगत सुख सुविधामा लिप्त भएको देखिएको छ । 

यसको पछिल्लो उदाहरण स्वरुप प्रदेश २ को धनुषा जिल्लास्थित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आफ्नो कार्यकक्षभित्रै कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउँदै गरेको फोटो सार्वजनिक भएको कुराले प्रष्ट बुझ्न सकिन्छ । 

मेयर दासले आफ्नै नगरपालिकामा काम गर्ने कार्यालय सहयोगी करण दाससँग आफ्नो कार्यकक्षमा सोफामा आरामले बसेर खुट्टा मालिस गराइरहेको तस्बिर समाजिक सञ्जालमा हालिएपछि उनको चौतर्फी आलोचना भएको हो । 
कोठाको भित्रबाट चुकुल लगाएर मेयर दासले कार्यालय सहयोगीसँग खुट्टा मालिस गराइरहेको अवस्थामा उनकै नजिकका एक व्यक्तिले सो तस्बिर झ्यालबाट खिचेको बताइएको छ । 

यससम्बन्धमा मेयर दासले आफूलाई सञ्चो नभएपछि एकछिनका लागि कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउन लगाएको बताए । उनले कार्यालय सहयोगी करण आफ्नो भाइ रहेकोले यसलाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया दिए । 

मेयर दासमाथि यसअघि पनि गाउँघरको झगडा तथा अन्य कुनै मुद्दा मामिलामा आफू अनुकुल नभए पीडितलाई नै कुट्न लगाउने, आफ्नै नगरबासीलाई दुःख दिने गरेको लगायतका थुप्रै आरोपहरू छन् । 



विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साह र मेयर बेचन दासले मिलेर बिनायोजना करोडौँ कामहरु कागजमै गरेर रकम बाँडफाँड समेत गरेको आरोप छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत साह सुरुदेखि नै विदेह नगरपालिकामा कार्यरत रहेका छन् । उनको अहिलेसम्म सरुवा समेत भएको छैन ।



  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १६:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया