जलवायु परिवर्तनले बजाएको खतराको घन्टी, जिम्मेवार ‘मानिस’ नै

संयुक्त राष्ट्र (युएन)ले संसारको जलवायु परिवर्तन तीव्र भएको र यसमा मानिस नै जिम्मेवार रहेको चेतावनी दिएको छ। इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी)ले रिपोर्ट जारी गर्दै पृथ्वीको औसत सतहको तापक्रम २०३० सम्ममा १.५ डिग्री सेल्सियस बढ्ने बताएको छ।

बढ्दो तापमानले संसारभर मौसमसँग जोडिएका भयानक विपद्हरू आउने रिपोर्टमा उल्लेख छ। संसारले अहिले नै हिमालका हिउँ पग्लने, समुद्रको स्तर बढ्ने र अम्लीकरणमा अपरिवर्तनीय वृद्धि हुने जस्ता घटना व्यहोरिरहको छ।

आइपिसिसीको प्यानलको नेतृत्व गरिरहेकी वेलेरी मेसन-डेलोमेट भन्छिन्, ‘केही परिवर्तन सय वा हजार वर्षसम्म जारी रहने छन्, त्यसलाई केवल उत्सर्जनमा कमी ल्याएर नै सुस्त पार्न सकिन्छ।’ वायुमण्डललाई तातो बनाउने ग्यासको उत्सर्जन जसरी अहिले जारी छ, त्यसले केवल दुई दशकमै तापमान वृद्धिको सीमा नाघेको छ।

यो शताब्दीको अन्त्यसम्ममा समुद्रको जलस्तर करिब दुई मिटरसम्म बढ्न सक्ने अध्ययनमा सहभागी शोधकर्ताहरू बताउँछन्। यद्यपि, ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती गर्न सक्दा तापमान स्थिर राख्न सकिने आशा उनीहरु गर्छन्। 

यो रिपोर्ट आगामी महिनादेखि सिलसिलेवार ढंगमा आउन लागेका कतिपय रिपोर्टहरूको पहिलो कडी हो, जसले ग्लास्गोमा हुन लागेको जलवायु सम्मेलन (सिओपी२६)मा महत्वपूर्ण अर्थ राख्दछ। २०१३ पछि जारी यो आफ्नो खालको पहिलो रिपोर्ट हो, जसमा जलवायु परिवर्तनसँग जोडिएका विज्ञानको व्यापक ढंगमा विश्लेषण गरिएको छ।

युएन महासचिव एन्टोनियो गुटारेस भन्छन्, ‘आइपिसिसी वर्किङ ग्रुपको पहिलो रिपोर्ट मानवताका लागि खतराको संकेत हो।’ सबै पक्ष मिलेर जलवायु त्रासदीलाई रोक्न सकिने उनले बताए। ‘तर, यो रिपोर्टले यस विषयमा ढिलासुस्ती गर्नै नहुने स्पष्ट पारेको छ। अब कुनै बहाना बनाउने छुट कसैलाई पनि छैन,’ गुटारेसले भने। उनले विभिन्न देशका नेता तथा सम्बद्ध पक्षसँग आगामी जलवायु सम्मेलन (सिओपी२६)लाई सफल बनाउन अपिल पनि गरे।



तीतो यथार्थ

यो रिपोर्ट आइपिसिसीले १४ हजारभन्दा बढी वैज्ञानिक कागजातको अध्ययन गरेर तयार पारेको हो। आगामी दशकमा जलवायु परिवर्तनले कसरी संसारलाई परिवर्तन गरिदिन्छ भन्नेबारे गरिएको यो सबैभन्दा ताजा अध्ययन हो। वैज्ञानिकहरूका अनुसार यो निकै ठूलो कुरा हो, तर आशाको सानो टुक्रा पनि देखिन्छ। 



पर्यावरण विशेषज्ञहरूका अनुसार सरकारहरूका लागि उत्सर्जन कटौतीका सन्दर्भमा यो एक चेतावनी हो। जलवायु परिवर्तनको विज्ञानमाथि आइपिसिसीले यसअघि २०१३ मा अध्ययन गरेको थियो, त्यसपछि आफूहरूले निकै धेरै पाठ सिकेको वैज्ञानिकहरू बताउँछन्।

विगतका वर्षहरुमा संसारभर नै रेकर्ड तोड्ने खालको गर्मी, जंगलमा आगो लाग्ने र विनाशकारी बाढी आएको हामी सबैले देख्यौं। शोधकर्ताहरूको प्यानलको कतिपय दस्तावेजहरूका अनुसार, मानिसले असावधानीपूर्ण ढंगमा पर्यावरणलाई यस्तो बनाइदिएका छन् कि, हजारौं वर्षमा पनि त्यसलाई पुरानै अवस्थामा फर्काउन सकिँदैन।

आइपिसिसीको यो रिपोर्टको प्रयोग नोभेम्बरमा बेलायत (ग्लास्गो)मा हुने युएनको सिओपी२६ सम्मेलनमा पनि गरिने छ। जलवायु परिवर्तन नियन्त्रणमा सहमति बन्न सक्यो भने सिओपी२६ सम्मेलन एउटा महत्वपूर्ण घटना हुन सक्छ। १९६ देशका नेताहरु मिलेर एउटा ठूलो लक्ष्यसहित सहमतिको कोसिस गर्ने छन् र अपनाउनुपर्ने उपायहरूबारे आफ्नो राय पनि दिने छन्।

सम्मेलनको नेतृत्व गर्ने जिम्मा पाएका बेलायतका मन्त्री आलोक शर्माले गत साता संसारलाई विनाशबाट जोगाउन धेरै समय गुमाइसकेको हुनाले जलवायु परिवर्तनको प्रभाव अहिले पनि जारी रहेको बताएका थिए।

लिड्स विश्व विद्यालयका जलवायु परिवर्तन विशेषज्ञ प्राध्यापक पियर्स फोस्टर भन्छन्, ‘आज हामी जे जति र जस्तो महसुस गरिरहेका छौं, त्यसबारे रिपोर्टले धेरै कुरा बताएको छ। रिपोर्टले ग्रिनहाउस ग्यास उत्सर्जनले कसरी हानि गरिरहेको छ र यो अझै खतरनाक हुँदै गएको छ भन्ने पनि स्पष्ट गरेको छ।’ 

उनले थपे, ‘यो रिपोर्टले धेरै खराब समाचार दिएको छ र हामी कहाँ छौं अनि कता जाँदै छौं भन्ने देखाएको छ। तर, यसले केही आशा पनि देखाएको छ, जलवायु परिवर्तनबारे हामी निरन्तर संवादमा जुट्नुपर्छ।’

आशावादी रहने कारणमध्ये मुख्य त तापक्रमलाई १.५ डिग्री सेल्सियस बढ्नबाट रोक्न सक्ने सम्भावना नै हो। जलवायु परिवर्तनको प्रभाव स्वरुप यदि पृथ्वीको तापमान १.५ डिग्री सेल्सियस बढ्यो भने यसको परिणाम निकै गम्भीर हुने विशेषज्ञहरू बताउँछन्। अहिलेसम्म विश्व तापमान औद्योगिकीकरणपूर्वको स्तरबाट १.२ डिग्री सेल्सियस बढिसकेको छ। 

२०१५ मा सम्पन्न पेरिस जलवायु सम्झौतामा वैश्विक औसत तापमानलाई २ डिग्री सेल्सियसबाट माथि उक्लन नदिने लक्ष्य लिइएको थियो। र, यसलाई १.५ डिग्री सेल्सियस नाघ्न नदिने बताइएको थियो।

इनर्जी एन्ड क्लाइमेट इन्टेलिजेन्स युनिटका रिचर्ड ब्लेक भन्छन्, ‘सिओपी २६अघि यो रिपोर्ट आउनु ती देशहरुको आँखा खोल्नु हो, जहाँ अहिलेसम्म पनि उत्सर्जन कटौतीबारे वास्तविक योजना तयार पारिएको छैन।’

रिपोर्टले देखाएको आशा

कतिपय पर्यवेक्षकहरु विगतका वर्षहरूमा विज्ञानमा निकै महत्वपूर्ण सुधार भएको बताउँछन्। आइपिसिसी बैठकमा सहभागी भएका डब्ल्युडब्ल्युएफका डा. स्टिफन कोर्निलियस भन्छन्, ‘हाम्रा मोडलहरू स्तरीय भएका छन्। हामीलाई भौतिक, रसायन र जीव विज्ञानबारे राम्रो ज्ञान छ भने भविष्यको तापमानबारे अनुमान गर्न सक्षम हुन्छन्। र, बितेका कयौं वर्षका तुलनामा अहिले ती निकै स्तरीय भएका छन्।

अर्को परिवर्तन भनेको विगतका वर्षमा विज्ञानको समर्थन गर्ने कारणहरू नै बढेका छन्। हामी अब जलवायु परिवर्तन र ठूलठूला मौसमसम्बन्धी घटनाको बीचको सम्बन्ध बताउन सक्छौं।’

२०१३ मा प्रकाशित भएको आइपिसिसीको अन्तिम रिपोर्टमा भनिएको थियो कि, १९५० पछि जलवायु परिवर्तनको मुख्य जिम्मेवार मानिस नै हुन्। आउन लागेको रिपोर्टको सन्देश अझै मजबुत हुने छ। यसमा औद्योगिकीकरणपूर्वको स्तरको विश्व तापमानको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा माथि जानेबारे चेतावनी दिइने छ। 

तापमान १.५ डिग्री सेल्सियसभन्दा बढी हुन गयो भने जलवायु परिवर्तनको प्रभाव अधिक गम्भीर हुन सक्ने विशेषज्ञहरू बताउँछन्। आइपिसिसीले यस्तो परिवर्तनबाट मानिस, समुद्र, वायुमण्डल तथा हाम्रा ग्रहहरूमा कस्तो प्रभाव पार्ला भन्नेबारे जानकारी दिने छ।

सबैभन्दा ठूलो चिन्ता समुद्रमा जलस्तर वृद्धिलाई लिएर हुन थालेको छ। आइपिसिसीले यसबारे गरेको अनुमानलाई विवादित मानिएको छ र कतिपय वैज्ञानिक यसलाई अस्वीकार पनि गर्छन्। 

बितेका केही महिनामा जसरी जंगलमा आगो लागेको र बाढीका घटना बढेका छन्, त्यसमा लागि जलवायु परिवर्तन कारक मानिएको छ। रिपोर्टका केही अध्यायमा तापमान बढ्दा मौसममा भयंकर परिवर्तन आउने उल्लेख छ।

के भन्छन् विशेषज्ञहरू ?

पर्यावरण विश्लेषक रोजर हेराबिन भन्छन्, ‘इन्टरगभर्नमेन्टल प्यानल संसारका विभिन्न देशका सरकारहरुसँग मिलेर ल्याइएको हो, यसले वैज्ञानिकहरूको शोधको मूल्यांकन गरेको छ। यसको अर्थ सबै सरकार यो शोधमा सामेल छन्।’ अघिल्लो प्यानलले २०१३ मा आफ्नो रिपोर्ट पेश गरेको थियो र त्यसपछि यस विषयमा निकै काम भएको उनले बताए।

उनी भन्छन्, ‘उदाहरणका लागि पहिला उनीहरु यो कुरा स्वीकार गर्न तयार थिएनन् कि, लू तथा मुसलधारे वर्षको धेरै कारणमध्ये एक जलवायु परिवर्तन पनि हो। जुन महिनामा अमेरिकामा भयंकर गर्मी भयो। अब उनीहरु यो जलवायु परिवर्तनविना हुनै सक्दैन भनेर आश्वस्त छन्।’

संसारभर गर्मी निकै बढ्दै गएको छ। खासगरी उत्तरी युरोपमा अधिक गर्मी हुन थालेको छ। यदि मौसम चक्र परिवर्तन भयो भने त्यहाँ खडेरी पर्न सक्छ। समुद्रको स्तर हजारौं वर्षसम्म वृद्धि हुने सम्भावना छ, किनकि गर्मी गहिरो समुद्रसम्म पुगिसकेको छ।

शोधले के पनि पुष्टि गरेको छ भने, संसारका नेताहरूले औद्योगिकीकरणपूर्वको समयको तुलनामा विश्व तापमान १.५ डिग्री सेल्सियसको स्तरमा रोक्न सके भने ठूलो विनाशबाट संसारलाई जोगाउन सकिन्छ।

के हो आइपिसिसी ?

१९८८ मा स्थापित आइपिसिसीले जलवायु परिवर्तनको विज्ञानलाई आकलन गर्छ। यसले सरकाहरूलाई विश्व तापमान वृद्धिबारे वैज्ञानिक जानकारी उपलब्ध गराउँछ ताकि, तिनले  जानकारीमुताबिक आफ्ना नीतिहरू विकास गरुन्।

१९९२ मा जलवायु परिवर्तनमा यसको पहिलो व्यापक मूल्यांकन रिपोर्ट प्रकाशित भएको थियो। अब यसको छैटौं रिपोर्ट आउन लागेको हो। १९५ देशका वैज्ञानिक र प्रतिनिधिहरूको अध्ययन तथा सुझावको आधारमा यसको सारांश प्रकाशित गरिने छ।

(बिबिसी)

  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १२:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया