जन्मँदै अनागरिक जन्मिएका किरणको उज्यालो

जसको आफ्नो भन्ने देश छैन । म यो देशको नागरिक हुँ भन्ने पहिचान छैन । आफैं जन्मिएको माटो आफ्नो होइन । अहिले समृद्ध जीवन दिएको देशले पनि अपनत्व दिँदैन । जन्मँदै अनागरिक भएर जन्मिएको एउटा तन्नेरीको मन यी सबै कुराले कति बिझाउँछ होला ? यी र यस्तै घोचाइहरूको लामो सिलसिला बोकेर उभिएको एउटा नाम हो- किरण गजमेर । 

जन्मथलोबाट लखेटिएका उनका बुवा । भुटानबाट भाग्दै भाग्दै रित्तो जीवन लिएर नेपाल आएका थिए । झापाको शरणार्थी शिविरमा केही वर्ष रित्तै बिताए । शिविरमै घरजम गरे, त्यही नै जन्मिए किरण गजमेर । किरण शिविरमै हुर्किए । यहीको माटोमा फुट्यो उनको बोली । यहीको बाटोमा हिँड्न सिके उनका पाइतालाले । तर, देश बुझ्ने भएपछि, माटो बुझ्ने भएपछि मेरो भनेर गर्व गर्न न माटो थियो, न बाटो थियो उनीसँग । 

नजन्मँदै जन्मभूमिको शासकबाट लखेटिएका किरणले जन्मिएकै माटोमा शरणार्थी भएर १४ वर्ष गुजारे । त्यो शरणार्थी शिविरमा किरणले कति रात भोकै निदाए, कति दिन खाली खुट्टा हिँडे त्यसको लेखा उनी आफैंसँग छैन । जन्मेको देश आफ्नो होइन । आफ्नो देश थाहै छैन । देश नै नभएपछि उनको आफ्नो पहिचान पनि भएन । उनी एकदिन त्यो शिविरबाटै अर्को देशमा पुगे । त्यसबेला उनी लगायत शिविरका थुप्रै मानिसलाई अमेरिका युरोप लगायतका देशले उद्धार गरी लग्यो । उनी अमेरिका पुगे । 

अमेरिका पुगेपछि भने किरणको जीवन फेरियो, जीवनशैली फेरियो । अमेरिकाले किरणलाई भौतिक सुख त दियो तर, चिनारी खै ? आखिर परदेश न हो अमेरिका पनि उनका लागि । उनको मनमा नेपाली माटो थियो, नेपालको माया थियो । जहाँ उनी जन्मिएका थिए, हुर्किएका थिए । त्यो पनि त मेरो हैन, ‘सम्झन्थे र सुस्केरा काँड्थे ।’ उनले त्यही सुस्केरा गितारमा रेटिरहे । त्यो मन गीत बनेर गुञ्जियो । 

उनले संगीतको यो सुर पनि त्यही शरणार्थी शिविरमै सिकेका थिए । बाँसको फक्ल्याँटोले बारेको घर । चुहिने छानोले राम्रोसँग ओत पनि दिँदैनथ्यो । यस्तो बेला संगीत सिक्ने साधन नै के हुन्थ्यो र उनीसँग ? बस मन थियो, रहर थियो । त्यही रहरको सुर समातेर भाका मिसाउँथे । उनकै जिन्दगीको सबैभन्दा प्रिय धुन बनेर गुञ्जन्थ्यो शिविर वरपर ।
 
यो धुन किरणले अमेरिका गएर पनि छोडेनन् । फुर्सदमा गुनगुनाइ रहे, स्वरलाई निखारिरहे । त्यही स्वर हो अहिले नेपालमा मात्रै नभएर नेपाली रहेका विश्वका हरेक देशमा गुञ्जिरहेछ । जन्मेको देश छोडेको ११ वर्षपछि उनलाई यो देशले चिनेको छ । किरण खुशी छन् । उनलाई यो देशको नागरिकता पाए जस्तै महसुस भएको छ ।

यो खुशीको पल उनको मनमा पुग्दै नपुगेको भुटान पनि पुगिरहन्छ बेला बेला । उनका बुवाले निकै पटक सुनाएका छन् भुटानको कथा । भुटानमै छोडिएको अपनत्वको कथा । किरणका बुवाले भन्थे, ‘बाबु भुटानमा हाम्रो आफ्नै जग्गा थियो । सुन्तला लटरम्म फल्थे । बस्तुभाउ थिए ।’ किरण कथाजस्तै सुनिरहन्थे । त्यही कथाले तानिरहेछ उनलाई । तर, तत्काल भुटान जान सम्भव छैन । जाने रहर त छँदैछ । 



नेपालको माया त सधैं उनको शिरमै छ । यही मायाले डोर्‍याएकाे नेपाली गीत/संगीतको बाटोले उनलाई ‘द भ्वाइस अफ नेपालको’ तेस्रो सिजनको उपाधि दिलाएको छ । यो उपाधिले किरणको जीवनमा घाम बोकेर आयो । किरणको जीवनमा परेको यो उज्यालो विश्वका विभिन्न देशमा छरिएर बसेका नेपाली भाषी भुटानी शरणार्थीसम्म पुगेको छ । 

किरणले उपाधिसँगै २५ लाख जिते । उनको गुलावी उमेर । सपना बोकेर भुरभुर उडिरहन पर्ने हो । तर फेरि पनि आफू जन्मेर दुखसँग खेल्दै हुर्किएको शिविरमा पुगेर अडियो उनको मन । उनलाई लाग्यो ‘म जन्मेको शिविरमा अझै दुखका दूरदिन बिताइरहेकाहरूले कम्तीमा बिरामी पर्दा सजिलै अस्पताल जान पाउँन् ।’ अनि उनले घोषणा गरे ‘म आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुईवटा एम्बुलेन्स सहयोग गर्नेछु ।’ 



त्यही शरणार्थी शिविर हो जहाँ उनकी हजुरआमाले उपचार नपाएर जीवन गुमाउनु परेको थियो ।  आफूले जस्तै शिविरमा रहेका अरूले उपचार नै नपाएर आफन्त गुमाउन नपरोस् भनेर उनले यो सहयोगको घोषणा गरेका हुन् । 

किरणको यो सफलता धेरैका लागि मन दुखाइको विषय बन्यो । उनलाई सामाजिक सञ्जालमा ‘डलरले उपाधि जित्यो’ भनेको देख्दा नरमाइलो लागेको छ । धेरैले ‘यो विदेशी हो, देश छोडेर हिँडिहाल्छ भन्दा मन कुँडिएको छ ।’ कर्म गर्न जहाँ गए पनि नेपाली गीत/संगीत सँगै लिएर हिँड्ने उनले बताएका छन् । आफूसँगै हिँडिरहेको पुस्ताले नेपाली भाषा, संस्कृति र पहिचान भुल्दै गएकोप्रति उनलाई चिन्ता छ । आफ्नै पहिचान भुल्दै गएको आफ्नै पुस्तालाई गीत/संगीतका माध्यमबाट अवगत गराउने सपना छ । उनी भन्छन्, ‘मेरो उमेरका धेरै साथीहरूले नेपाली भाषा बिर्सिसके । मभन्दा पछि आउने पुस्ताले झन् बिर्सने छ । त्यसैले, संगीतको माध्यमबाट आफूले सकेको कोशिस गरूँ, भाषा, संस्कृतिबारे अवगत गराऊँ भनेर संगीतमा लागेको हुँ ।’
 

  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १४:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया