नोबेल पुरस्कार विजेता नादियाको दुःखदायी कथा – ६ सुरक्षा गार्डले ममाथि बारम्बार बलात्कार गरे

बलात्कारविरुद्ध चेतना फैलाएको भन्दै नोबेल पुरस्कार समितिले नादिया मुरादलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको छ ।

२५ वर्षीया नादिया मुराद सन् २०१४ मा आतंककारी संगठन इस्लामिक स्टेट्सको अपहरणमा परेकी थिइन् । र, उनलाई इस्लामिक स्टेट्सले तीन महिना बन्धक बनाएको थियो । त्यो समयमा आफूमाथि बारम्बार बलात्कार भएको नादियाले बताएकी छिन् ।

नादियाले केहीअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई इस्लामिक स्टेट्सले कसरी आफूहरूलाई अपहरण गर्यो र अपहरणपछि के–के भयो भनेर सुनाएकी थिइन्, त्यसैको अनुवाद : 

कथित इस्लामिक स्टेट्सका चरमपन्थीहरू आउनुअघि म र मेरी आमा भाइबहिनीसँग उत्तरी इराकको सिन्जानजिक कोचु गाउँमा बस्थ्यौँ । म ६ कक्षामा पढ्थेँ । 

गाउँमा कुल १७०० मानिस बसोवास गर्थे । सबै शान्तिपूर्वक रहन्थे । हामीलाई कुनै पनि चेतावनी वा धम्की आएको थिएन । हामीलाई थाहा थिएन, आइएस सिन्जामा हमला गर्नेवाला छ ।

सन् २०१४ अगस्ट ३ को कुरा हो, जब आइएसले याजिदी मानिसहरूलाई हमला गरे । केही मानिस माउन्ट सिन्जातिर भागे । तर, हाम्रो गाउँ धेरै पर थियो । हामी भागेर कतै जान सक्दैनथ्यौँ । हामीलाई उनीहरूले ३ देखि १५ अगस्टसम्म बन्धक बनाएर राखे । 



उनीहरूले तीन हजारभन्दा ज्यादा मानिसको हत्या गरेका र पाँच हजार महिला र बच्चाहरूलाई आफ्नो कब्जामा राखेका छन् भन्ने खबर फैलन थालेको थियो । त्यतिवेलासम्म हामीलाई यथार्थ महसुस भइसकेको थियो । 

यसै दौरान चरमपन्थी आए र हाम्रो हतियार कब्जामा लिए । हामी केही पनि गर्न सक्दैनथ्यौँ ।



हामीलाई दुई दिनभित्र आफ्नो धर्म बदल्न चेतावनी दिए ।  

इस्लाम अपनाउनुपर्ने धम्की 

१५ अगस्टका दिन म आफ्नो परिवारसँग थिएँ । हामी निकै भयभीत थियौँ । त्यस दिन आइएसका हजारौँ मानिस गाउँमा आए । उनीहरूले हामीलाई स्कुलमा लगे । 

स्कुलका दुईवटा भवन थिए । पहिलो भवनमा उनीहरूले महिलाहरूलाई राखे । दोस्रो भवनमा पुरुषहरूलाई राखे । 

उनीहरूले हाम्रो मोबाइल, पर्स, पैसा, गहना सबै जफत गरे । यसपछि उनीहरूको नेता चिच्यायो, ‘जो स्लाम धर्म कबुल गर्न चाहन्छ, त्यो कोठाबाहिर जा ।’ 

हामीलाई थाहा थियो, जो कोठा छोडेर बाहिर जान्छ, त्यो पनि मारिनेछ । किनकि, याजिदीबाट इस्लाम धर्ममा जानेहरू असली मुसलमान हुन्छन् भनेर उनीहरू मान्दैनथे । 

उनीहरू याजिदीले इस्लाम कबुल गरेर मर्नुपर्छ भन्ने मान्यता राख्थे । महिला हुनाले उनीहरू हामीलाई मार्दैनन् भन्ने हामीलाई थाहा थियो । जीवित राखेर उनीहरू हामीलाई अरू नै काममा प्रयोग गर्छन् भन्ने पनि थाहा थियो ।

जब उनीहरू पुरुषलाई बाहिर लिएर गएका थिए, थाहा छैन क–कसलाई मारिएको थियो, तर गोली चलेको आवाज आएको थियो । मेरो भाइ र अरू केही मानिस मारिएका थिए । 

उनीहरू बच्चा र जवानमा फरक देखिरहेका थिएनन् । हामी देख्दै थियौँ, उनीहरू गाउँका मानिलाई कतै लगिरहेका थिए । आइएसले एक बच्चालाई स्कुलमा छाडिदियो । उसले हामीलाई गाउँका कुनै पनि पुरुषलाई नछाडेको र सबैलाई मारेको बतायो । 

जब आइएसले उनीहरूलाई मारिदियो, त्यसपछि हामीलाई अर्को गाउँमा लग्यो । त्यतिवेलासम्म राती भइसकेको थियो । हामीलाई स्कुलमा राखियो । उनीहरूले हामीलाई तीन ग्रुपमा बाँडेका थिए । पहिलोमा युवतीहरू थिए, दोस्रो ग्रुपमा बच्चा र तेस्रोमा बाँकी महिलाहरू थिए । 

हरेक ग्रुपका लागि उनीहरूसँग अलग योजना थियो । बच्चाहरूलाई प्रशिक्षण शिविरमा लिएर गए । जो महिला बिहेको लायक थिएनन्, उनीहरूको हत्या गरे । यसमा मेरी आमा पनि थिइन् । 

हामीलाई बाँडियो, बेचियो, बलात्कार गरियो

उनीहरूले राती नै हामीलाई मसुल लिएर गए । हामीलाई अर्को सहरमा जसले लगेको थियो, उसैले मेरो भाइ र आमाको हत्या गरिसकेको थियो । उनीहरूले हामीलाई पीडित बनाएका थिए । बलात्कार गरेका थिए । म केही सोच्ने र बुझ्ने अवस्थामा थिइनँ । 

उनीहरूले हामीलाई मोसुलको इस्लामिक कोर्टमा लिएर गए । त्यहाँ उनीहरूले सबै महिलाको तस्बिर लिए । मैले त्यहाँ महिलाका हजारौँ तबिर देखेकी थिएँ । हरेका तबिरमा एउटा फोन नम्बर थियो । त्यो नम्बर उक्त महिलाको जिम्मा लिने व्यक्तिको थियो । 

विभिन्न ठाउँबाट आइएसका मानिस इस्लामिक कोर्ट आउँथे, र तस्बिर हेरेर आफ्नो लागि केटी चुन्थे । केटासँग केटीको मोलतोल हुन्थ्यो अनि जसलाई मन पथ्र्यो, उसैले केटी लिएर जान्थ्यो । जसले किनेर हामीलाई लगेको हुन्थ्यो, उसले हामीलाई भाडामा लगाउँथ्यो, कोही चिनेको व्यक्तिलाई उपहारस्वरूप पनि दिन्थ्यो ।

पहिलो रात उसले हामीलाई एउटा केटासँग पठायो । मलाई मन पराएको केटा अत्यन्त मोटो थियो, मैले चाहिँ उसलाई कत्ति पनि मन पराएकी थिइनँ । जब हामी सेन्टरमा गयौँ, मैले उसलाई देखेँ । म उसका सामु बिलौना गर्न लागेँ कि, म ऊसँग जान्नँ । म रोइकराई गरिरहेँ, तर उसले मेरो एउटै कुरा सुनेन ।

एक सातापछि मैले भाग्ने कोसिस गरेँ । उसले मलाई इस्लामिक अदालतमा लिएर गयो । त्यहाँ सजायस्वरूप ६ सुरक्षा गार्डले ममाथि बलात्कार गरे । तीन महिनासम्म ममाथि यौन उत्पीडन भयो ।

त्यो क्षेत्रमा चौतर्फी आइएसका लडाकुहरू हुन्थे । त्यो तीन महिना मलाई भाग्ने मौका नै मिलेन । एकपटक म एकजना पुरुषसँग थिए । ऊ मेरा लागि केही कपडा किन्न चाहन्थ्यो । किनकि, ऊ मलाई बेच्न चाहन्थ्यो । ऊ मेरा लागि कपडा किन्न पसल गयो । 

म घरमा एक्लै थिएँ । र, म त्यहाँबाट भागेर बाहिर आएँ । म मोसुलका गल्लीमा भागिरहेकी थिएँ । मैले एउटा मुस्लिम परिवारको घरमा पुगेर ढोका ढकढकाएँ । र, आफ्नो सबै दुःख सुनाएँ । उनीहरूले मेरो सहयोग गरे । 

टर्कीको सीमामा पुगेपछि म शरणार्थी शिविरमा गएँ । तर, कसैले मलाई मेरो दुःख सोधेन । म सबैलाई भन्न चाहन्थेँ कि ममाथि के–कस्ता कर्तुत भए र त्यहाँ महिलाहरूमाथि के भइरहेको छ । मसँग पासपोर्ट थिएन । कुनै देशको नागरिकता थिएन । नागरिकता, पासपोर्टलगायत मेरा दस्ताबेज पाउन म निकै महिना इराकमा बसेँ ।

त्यही समय जर्मन सरकारले त्यहाँ भएका एक हजार जनालाई सहयोग गर्ने घोषणा गर्यो । म तिनै एक हजारमध्ये एक थिएँ । अनि उपचार गर्ने ठाउँमा एउटा संगठनले मलाई संयुक्त राष्ट्र संघ गएर मेरो यो दुःखदायी कथा सुनाउन सल्लाह दियो । म मेरो दुःखदायी कथा सुनाउन विश्वको जुनसुकै देश जान तयार छु ।

  • प्रकाशित मिति : असोज १९, २०७५ शुक्रबार १९:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया