कोरोना खोप किन्न एडिबीकाे साढे १९ अर्ब सहुलियतपूर्ण ऋण

कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । 

बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुर्याउनेछ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् । 

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे । खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एडिबीको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

एडिबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थान तर्फ अघि बढ्न सहयोगी हुने विश्वास व्यक्त गरे । 

कुस्वाले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए । 



यस बाहेक एसियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । 



  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १५:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया