आशा साँकी बलायरका दुई गजल
गजल

१.
जिन्दगी मिल्दै मिलेन उपचारबाट
म मान्छेजस्तै बनेको हुँ प्रहारबाट ।

ज्यान लाउँदैछौ दरबारसम्म पुग्न 
सडकमा नि पुगिन्छ है दरबारबाट ।

तिमी केको खोजीमा यहाँसम्म आयौ
म भने हराएको हुँ यही बजारबाट ।

विचारले जित्न सकिनँ तिमीलाई 
पक्कै  जित्ने छु अब शृंगारबाट ।

सक्छौ भने त्यो जंघार तरेर आऊ
भो  आँखा  तरेर  नहेर  किनारबाट ।।

२. 
भेडा अनेकौं छन् गोठाला अनेकौं छन् 
जीवन हो जीवनका कथा अनेकौं छन् ।



हातमा सारंगी हुनेहरूको आँखामा हेर्नू
सपना अनेकौं छन् भाका अनेकौं छन् ।

दुश्मन पनि डराउनुपर्छ तिमी देखेर 
उसो त ठाउँठाउँमा बुख्याँचा अनेकौं छन् ।



तिमी इमान सिक्नु र स्वाभिमान सिक्नु
क ख सिकाउने त पाठशाला अनेकौं छन् ।।

  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार ११:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया