कता गइन् होला मोबाइल फुटाउने युवती, अझै पनि सम्झिरहन्छन् विराज

नेपाली चलचित्र उद्योगमा एक समय अभिनेता विराज भट्टको अलग्गै पहिचान थियो । त्यो समय नेपाली सिने उद्योगबाट उनले कमाइ राम्रै गरे । प्रशंसक पनि राम्रै कमाए। नेपाली चलचित्र उद्योग र यहाँका दर्शकले माया गरिरहेकै बेला भोजपुरी सिनेमामा लागेका भट्टले पुनः नेपाली सिने उद्योगमा उही क्रेज फर्काउन भने सकेनन् ।

भोजपुरी सिने उद्योगमा आफ्नो चार्म्स सकिएपछि फर्किएका भट्टले पुरानो क्रेज फर्काउन अनेक गरे तर सकेनन् । त्यही पनि उनको प्रशंसा गर्ने पुराना फ्यानहरू भने अझै सम्झँदै छन् । विराज पनि आफ्ना केही फ्यानको सम्झना गरिरहन्छन् । 

विराज नेपाली चलचित्रमा आएको समय पोस्टकार्डको जमाना थियो । हिरो हिरोइनको फोटोलाई पोस्टकार्ड भनिन्थ्यो । करिअरको मध्यतिर हुनुपर्छ, विराजका एकजना अनौठा फ्यान थिए । उनले आफ्नो कोठाको भित्ता विराजका फोटाले सजाएका थिए । ती फ्यानको अनुरोधमा उनको घर पुगेका विराजले उनलाई आज पनि सम्झन्छन् । ती फ्यानले विराजको फोटो प्रिन्ट गरेर केही टिसर्ट पनि बनाएका थिए । उनका ती फ्यान निकै पछिसम्म फोन, म्यासेज गरिरहन्थे । 

आफूलाई माया गर्ने सबै फ्यान सम्झँदा विराजलाई उत्तिकै खुशी लाग्छ । अलि अनौठो व्यवहार गर्ने चाहिँ अझै मष्तिष्कमा बस्दा रहेछन् । उनलाई भेट्न चाहने, फोटो खिच्न चाहने फ्यान असाध्यै धेरै छन् । उनका एकजना फ्यान थिए, जो उनको बाहेक अरूको चलचित्र नै हेर्दैनथे । गीत पनि विराजले अभिनय गरेका चलचित्रका मात्रै सुन्थे । ती फ्यान विराजलाई अनौठा लाग्थे । विराज भन्छन्, ‘उनले मैले अभिनय गरेका नेपाली, भोजपुरी कुनै पनि फिल्म छुटाएनन् । मैले अभिनय गरेका सबै चलचित्रहरू उत्कृष्ट पनि थिएनन् होला । तर, उनलाई मैले अभिनय गरेको सबै चलचित्र राम्रो लाग्ने ।’

फ्यान सम्झँदा विराज आफ्नो मोबाइल नै फुटाउने युवतीको पनि सम्झना गर्छन् । त्यति बेला मोबाइल अहिलेजस्तो सर्वसुलभ भैसकेको थिएन । त्यसबेला उनी सुटिङका लागि गाउँ गएका थिए । सुटिङ हेर्न आउनेको भीड ठूलै थियो । टेक चल्दै थियो, विराजको नजिकै एउटा मोबाइल उछिट्टिएर आयो । त्यो मोबाइल सुटिङ हेर्न आएकी एक युवतीको थियो । उनले टिपेर दिए । ती युवतीले ‘मोबाइल समातेर तपाईंलाई भेट्न पाए यो मोबाइलको के काम’ भनेर मोबाइल फेरि खसालेर फुटाइन् । 

विराजले भारतमा पनि आफ्ना अनौठा फ्यान भेटेका छन् । उनी एक समय चलचित्र छायांकनका लागि भारत गएका थिए । विराज यात्रामै थिए । उनी चढेको गाडीलाई एउटा बाइकले फलो गर्‍याे । केही क्षणमा त्यो बाइक विराजको गाडीलाई ओभरटेक गरेर गयो । उनको गाडी रोक्न भन्यो । तर, डाइभरले गाडी रोक्न खोजेनन् । ती युवकले आफ्नो बाइक गाडी अगाडि ढलाए । त्यसपछि गाडी रोकियो । ती युवकले गाडीको ड्राइभरलाई, ‘गाडी किन नरोकेको ?’ भनी थर्काए । विराजले गाडीबाट झरेर युवकलाई के भयो भनेर सोधे । उनले जवाफ दिए, ‘म तपाईको एकदमै ठूलो फ्यान हुँ । तपाईंलाई भेट्नको लागि गाडी रोक्न लगाएको ।’ विराजले उनलाई सम्झाएर त्यहाँबाट पठाएका थिए । 
 





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ११:११:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया